s

कृषि कर्ममा जनशक्ति अभाव

 
कुम्भराज राई
 
खेती गर्ने जनशक्ति नहुँदा चिशंखगढी गाउँपालिकामा खेत बाँझै रहन थालेको छ । युवाहरू विदेसिने र अधियाँ दिएर बसाइ सर्ने क्रमले कामदार पाउन छाडेको हो । 
 
चिशंखुगढी गाउँपालिका ५ मा पर्ने सेर्नाबेंसी धान खेतीका लागि जिल्लाकै चर्चित ठाउँ हो । सेर्नाबेंसीमा खेत हुनेलाई सम्पन्न ठान्ने चलन थियो । अहिले समयले कोल्टे फेरेको छ । सेर्नाबेंसीमा ३ सय रोपनीभन्दा बढी खेत बाँझिएको छ । पहिला धान फल्ने खेत हाल चौरीमा परिणत हुँदै बिस्तारै जंगल हुने क्रम बढेको छ । सिँचाइ सुविधा भए पनि धान उत्पादनमा ह्रास आएको छ । 
 
‘कतिपय खेतधनीहरू तराईतिर बसाइ गए,’ स्थानीय चिरन भट्टराईले भने, ‘यहीँ हुनेले पनि धान रोप्नका लागि आवश्यक जनशक्ति नपाएपछि बाँझो छोड्न थालेका छन्,’ अधियाँ दिएर बसाइ जानेहरूको संख्या बढेको र कमाउनेले कामदार खोजेर धान रोप्न नसकेपछि खेत बाँझो हुन थालेको भट्टराईले बताए । एकहल गोरुका लागि एक दिनको एक हजार रुपैयाँ तिर्नुपर्छ । एक बिहानका लागि पुरुष कामदार ४ सय र महिलालाई ३ सय रुपैयाँ ज्याला पुगेको छ । ज्याला दिएर अधियाँ कमाउँदा घाटै लाग्ने हुन्छ । आफ्नै खेत हुनेले समेत ज्याला दिएर काम लगाउँदा पनि कामदार नपाइदा बाँझो छोड्नेहरू बढेका हुन् ।
 
‘हिजोआज चामलको भात खान खेती गर्नैपर्ने बाध्यता छैन,’ चिशंखुगढी गाउँपालिका प्रमुख निशान्त शर्माले भने, ‘चामलको बोरा बोकेर गाडी आँगनमै आइपुग्छ । केही नभएकाहरू पनि मलेसिया र कतार पुगेकै छन् ।’ उनले परिश्रम गरेर खेतमा धान फलाउनुभन्दा बोराको चामल खानै सजिलो मान्ने चलन सुरु भएको सुनाए । 
 
यहाँको एक रोपनी खेतमा तीन मुरीदेखि साढे तीन मुरीसम्म धान फल्ने गर्छ । करिब तीन सय रोपनी बाँझो हुँदा १ हजार मुरीभन्दा बढी धान उत्पादनमा ह्रास भएको स्थानीयले बताए । धानखेती घट्दै गए पनि खेतको मूल्य भने दिनहुँ बढ्ने गरेको छ । गाउँपालिकाको केन्द्र सेर्नामा तोकिएपछि यहाँको खेतबारीको मूल्य दोब्बरले बढेको छ । 
 
Published on: 24 October 2017 | Kantipur

Back to list

;