s

कृषिमा लाग्ने युवाको संख्या बढ्दो

शिव शर्मा

बेलायतको आवासीय भिसा पाएपछि उनका धेरै आफन्त बेलायततिर बसाइँ सरे । आएको आवासीय भिसा थन्क्यएर पोखरा माटेपानीकी ४७ वर्षीय मिनु गुरुङ भने तरकारी खेतीमा लागिन् । उनी अहिले उदाहरणीय महिला कृषकका रूपमा चिनिएकी छन् । पोखराबाट ९ किलोमिटरको दूरीमा अवस्थित  व्यावसायिक कृषि गाउँका रूपमा चिनिएको हेम्जामा २५ रोपनी जग्गा लिजमा लिएर उनी तीन वर्षदेखि तरकारी खेतीमा रमाइरहेकी छन् ।  लाहुरे पत्नी  गुरुङले तरकारी खेती गरेर वर्षमा सबै खर्च कटाएर ७ लाख रुपैयाँ आम्दानी गर्दै आएकी छन् । पोखरा आसपासमा यतिबेला उनी जस्तै विदेशबाट फर्केर आएकाहरूले कृषिलाई उद्यमका रूपमा अपनाइरहेका छन् ।

पोखराबाट नजिकैकेा पर्यटकीय गाउँ सार्दीखोलामा त्यत्तिकै उपयोगविहीन बनेको जग्गामा माछापालन सुरु गरेर दुई दाजुभाइ  राम्रो आम्दानीको हिस्सेदार बनेका छन् । जापान बसेका अमृत र बेलायत बसेका लक्षिनले उताको सीप सदुपयोग गरेर झन्डै दुई वर्षदेखि  करोडको लगानीमा खोलेको गण्डकी ट्राउट फार्म अहिले देशीविदेशीका लागि आकर्षणको केन्द्र बनेको छ । २२ वटा रेसवेमा माछा पालन गरेका उनीहरूले वाषिर्क १ करोड रुपैयाँ बराबरको माछा बिक्री गर्न सफल भएको बताए ।  यस क्षेत्रमा झन्डै ९ करोड रुपैयाँ कृषि फार्ममा लगानी भइसकेको जिल्ला कृषि कार्यालयले जनाएको छ  ।  पोखराबाट १८ किमिको उत्तर पश्चिममा रहेको यो सुन्दर ठाउँमा गण्डकी रेन्बो ट्राउट फार्म,  रेन्बो ट्राउट माछापालन सहकारी, पर्वतीय कृषि सहकारी, क्षेत्रदीप  अन्नपूर्ण रेन्बो ट्राउट अनुसन्धान, गोगि्रन कृषि सहकारी, माछापुच्छ्रे क्षेत्र दीप कृषि केन्द्र, तातोपानी एग्रो फस्टाएका छन् ।

'वर्षौसम्म विदेशी भूमिमा पसिना बगाएका युवा हुन् या विदेशको मोह बिर्सेर स्वदेशमै कृषि क्षेत्रमा लगानी गर्नेहरूको लहरले गर्दा कृषि क्षेत्र निकै फस्टाएको छ,' वरिष्ठ कृषि विकास अधिकृत बेनीबहादुर बस्नेतले भने, 'कृषिमा लगानी गर्नेहरू बढ्दै जाँदा रोजागारीको अवसर समेत सृजना भएको छ ।'  युवाहरू स्वस्फुर्त रूपमा कृषक समूह बनाएर, र्फम स्थापना गरेर कृषिमा लाग्ने क्रम जिल्लामा निकै बढेको बस्नेतले बताए ।

जिल्लाको विशेष गरी सार्दीखोला, हेम्जा घाचोक, लाहाचोक,  पुरुनचौर, भलाम,  भरतपोखरी, पुम्दीभुम्दी गाउँमा कृषिको व्यावसायीकरण फस्टाउँदै गएको छ । वर्षौदेखि त्यत्तिकै खेर गएका जमिन तरकारीले हराभरा भएका छन् । 

यस्तै देखासिकी गरेर धेरै युवाहरूले विदेश जाने सोच बदलेर कृषिमा लगानी गरेर आम्दानी गरिरहेका छन् ।  विदेश जाने मोह त्यागेर कास्कीकै कालिका- ४ का २४ वर्षीय सरोजमणि,  २१ वर्षीय शैलेन्द्ररमण र १९ वर्षीय प्रकार रमण पशुपालनमा लागेर सबै खर्च कटाएर मासिक २ लाख रुपैयाँ आम्दानी गर्न सफल भएपछि दंग छन् ।  स्नातक पढ्दै गरेका यी युवाले पोखराको बगर, घाचोक  तथा कालिका गाउँमा पशु फार्म सञ्चालन गरेर कृषिमा लगानी गरेर अन्य युवाहरूको समेत विदेश जाने सोच बदल्न सफल भएका छन् । पोखरा आसापसमा कृषि तथा पशुका फार्मको संख्या यति छन् भनेर यकिन तथ्यांक नभए पनि बर्सेनि कृषि समूह र फार्मको संख्या बढ्दै गएको कृषि कार्यालयका योजना अधिकृत अनुप चिलवालको अनुमान छ ।

Published on: 28 December 2012 | Kantipur

Back to list

;