s

कृषि मजदुरको ज्याला निर्धारण माग

 
- भरत जर्घामगर, लहान
अरुको घरमा हरूवा चरुवा बसी कृषि मजदुरको रूपमा काम गर्दै आएका सिरहाका हरुवा चरुवा कृषि मजदुरहरूले कृषि मजदुरीबापत ज्याला निर्धारण गर्न माग गरेका छन् । 
सामुदायिक विकास मञ्चद्वारा कृषि मजदुरको ज्याला निर्धारणसम्बन्धी छलफल कार्यक्रममा हरुवाचरुवा कृषि मजदुरहरूले दैनिक ज्याला २० किलो धान बराबरको चार सय रुपैयाँ माग गरेका हुन् । कार्यक्रममा अधिकांश कृषि मजदुरहरूले आफूहरूले दैनिक ज्याला ६ किला धान बराबरको १ सय २० रुपैयाँ मात्र पाइरहेको प्रति असन्तुष्टि जनाएका थिए ।
४० वर्षदेखि सिरहाको लक्ष्मीपुर पतारी धन्छवारका सूर्यनाथ यादवको घरमा हरुवाही गर्दै आएका ५६ वर्षीय उद्विलाल रामले बिहान सात बजेदेखि साझ ६ बजेसम्म १२ घण्टा गिरहत (मालिक) को घर खटिँदा समेत दैनिक ज्याला १ सय २० रुपैयाँ बराबरको ६ किलो धान पाइरहेको दु:खेसो गरे ।
‘१२ घण्टा गिरहतको खेतमा खटिँदा खाजामात्रै खाएर बनी (ज्याला) बापत ६ किलो धान पाउँछु,’ उनले भने, ‘त्यही ६ किलो धानले पत्नी सुकनीदेवीसहित ९ जनाको परिवार पाल्नुपरेको छ ।’ १२ घण्टासम्म घामपानीमा शारीरिक श्रम गरे पनि उचित ज्याला पाउन नसकेको उनले गुनासो गरे । भूमिहीन सुकुम्बासी परिवारका रामले २० किलो धान ज्याला बापत उपलब्ध गराए परिवार चलाउन सहज हुने माग गरे ।
लक्ष्मी हरुवाचरुवा समूह हनुमाननगरका ५७ वर्षीय रामजतन सदायले बाजे सुकर र बुवा बौका सदाय गरी तीन पुस्तादेखि स्थानीय दोरिकलाल चौधरीको घरमा हरुवाही गर्दै आए पनि दैनिक ज्यालाबापत न्यून १० किलोग्राम धान पाइरहेको दुखेसो गरे ।
बाजे, बुवापछि १६ वर्षदेखि उनी चौधरीको घरमा दिनरात हरुवाही गर्छन् । ‘दुई किलो धानबाट दोरिकलाल चौधरीको घरमा हरुवाही सुरु गरें,’ उनले भने ‘दोरिककै घरमा हरुवाही गरेर बाजे, बुवाको निधन भयो, मैले काम सुरु गरेको १६ वर्ष बितिसक्दा समेत अहिलेसम्म १० किलोग्राम धान ज्यालामा पाउँछु ।’
पत्नी बुधनीसहित परिवारका सात जना सदस्य उनकैं दैनिक ज्यालादारीमा निर्भर छ । 
पत्नी बुधनी पनि उनी खटिएकै घरमा खट्दै आए पनि उनले भने ज्याला पाउँदिनन् । ६ किलो धानमा दैनिक ज्याला मजदुरीमा खट्दै आएकी कृषि मजदुर अनिता कुमारी साहले महिलाहरूलाई कृषकहरूले दैनिक ६ किलो धान ज्यालाबापत दिए पनि १ कठ्ठा जमिन रोपाइँ गर्नुपर्ने नियम बनाएर बाध्यकारी श्रम गराउँदै आएको दुखेसो गरिन् ।
हरुवाचरुवा कृषि 
मजदुरहरूले जिल्ला प्रशासनसहित जिल्ला विकास समिति, प्राविधिक कार्यालय, कृषि विकास कार्यालय सम्मिलित जिल्लास्थित ज्याला दररेट निर्धारण समितिले निर्माण मजदुरहरूको दैनिक ज्याला ४ सय ५० रुपैयाँ निर्धारण गरे पनि आफूहरूलाई राज्यले वेवास्ता गरेको भन्दै कृषि मजदुरहरूको पनि दैनिक ज्याला कम्तीमा चार सय रुपैयाँ निर्धारण गरिनुपर्ने माग गरे ।
जिविस सिरहाका निमित स्थानीय विकास अधिकारी मोहम्मद सुल्तान राहीले १६ घण्टासम्म घामपानीमा श्रम गर्ने कृषि मजदुरहरूले उचित ज्याला नपाउँदा मारमा परेको स्विकार्दै ज्याला निर्धारणका लागि पहल गरिने जानकारी दिए । 
सामुदायिक विकास मञ्च सिरहाका अध्यक्ष विनोद चौधरीका अनुसार सिरहामा १८ हजार १ सय ६० हरुवाचरुवा परिवार छन् ।
 
Published on: 14 January 2016 | Kantipur

Back to list

;