s

कृषि क्षेत्रमा नेपाली कामदार लिन जापान इच्छुक

जापान सरकारले नेपालबाट कृषि, मत्स्य एवं फुड सर्भिस सम्बन्धित क्षेत्रमा नेपाली कामदारहरु लैजान इच्छा जनाएको छ।

सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसगँको शिष्टाचार भेटमा जापानी प्रतिनिधिमण्डलका टोली प्रमुख तथा जापानको कृषि, वन तथा मत्स्यपालनसम्बन्धी मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडाले नेपालबाट कृषि, मत्स्य एवं फुड सर्भिस सम्बन्धित क्षेत्रमा नेपाली कामदारहरु लैजान इच्छुक रहेको बताएका हुन्। नेपाली कामदारलाई आवश्यक सीप तालिम प्रदान गर्न जाइका मार्फत सहकार्य गर्न सकिने उनले बताए।

भेटघाटमा जापानका राजदूत मासामिची साइगोले नेपालबाट जापानमा कृषि कामदार लैजान यस टोलीले अध्ययन अनुसन्धान समेत गर्ने तथा नेपाल र जापान बीच भएको श्रम समझदारी अनुसार क्रमिक रुपमा कामदारको सीप परीक्षण गरी थप कामदार लैजाने जानकारी दिए।

भेटमा मन्त्री विष्टले नेपालमा कृषिमा आवद्ध जनशक्ति धेरै रहेको उल्लेख गर्दै नेपालबाट कृषि सम्बन्धी सीपयुक्त जनशक्तिको आपूर्तिबाट जापान थप लाभान्वित हुन सक्ने बताए।
मन्त्री विष्टले हाल चलिरहेको नर्सिन केयर गिभर लिने प्रकृयालाई थप चुस्त एवं गुणस्तरीय र विश्वसनीय बनाउन अनुरोध समेत गरे।

उनले नेपाल र जापान सरकारबीचको उक्त स्पेसिफाइड स्किल्ड वर्कर सम्बन्धी समझदारी कार्यान्वयनको प्रकृयाले अझ तीब्र एवं व्यवस्थित रुपले अगाडि बढ्ने अपेक्षा राख्दै सोका लागि नेपाल सरकार आवश्यक सहयोग गर्न तयार रहेको स्पष्ट पारे।

Published on: 12 November 2019 | Setopati

Link

Back to list

;