s

कोठामा छिर्ने नाली सोहोर्दै बस्न बाध्य नेपाली

होम कार्की
 
साउदी अरबको यन्वुबाट १७ नेपालीलाई खेद्न कम्पनी साहुले के गर्न बाँकी राखेनन् ? पहिला तलब दिएनन् । त्यसपछि खाना बन्द गरे । साहु उपस्थित नभएपछि मुद्दामा सुनुवाई नहुने भएकाले उनी अदालतमा कहिल्यै गएनन् । त्यति गर्दा पनि नेपालीले क्याम्प नछाडेपछि उनीहरु बस्ने कोठाको बिजुली काटिदिए । नालीमा बग्ने पानी थुनेर कोठामा छिराई दिए । यो सबै यातना झेलिरहेका पीडित नेपाली कामदार नेपाल फिर्ने दिन पर्खेर बसिरहेका छन्, जुन दिन अझै निश्चित छैन । 
 
उनीहरु सादत अल अमिद कम्पनीमा क्लिनिङको गर्थे । उनीहरुलाई कोठाबाट मात्रै लखेट्न सके कम्पनी साहु प्रहरीमा हुरुप (भागेको उजुरी दिएर) लगाएर सबै जिम्मेवारबाट मुक्त हुने दाउमा थिए । त्यसो गर्दा तलब, फर्कन टिकट केही दिनु पर्दैनथ्यो । नुवाकोटका श्याम गुरुङका अनुसार साढे ६ महिनाको तलब नदिएपछि स्थानीय श्रम कार्यालयमा गएर कम्पनीमा उजुरी गरेका थिए । ‘अहिले हामी साउदी अरब आएको झन्डै १७ महिना बितिसकेको छ । हामीले ११ महिना कम्पनीमा काम गर्‍यौं । काम गरेको ५ महिनाको तलब दियो । बाँकी महिनाको तलब नदिएपछि श्रम कार्यालय गयौं,’ उनले भने, ‘दूतावास पनि गयौं । त्यहाँबाट पार लागेन । श्रम कार्यालयले चारपटकसम्म मालिकलाई बोलाउँदा पनि उपस्थित भएनन् ।’ 
 
श्रम कार्यालयले यो मुद्दालाई २ सय २० किमी टाढा मदिना भन्ने ठाँउमा पठाइदिएको छ । ‘हामीसँग खाने पैसा नै नभएको बेला कसरी मदिनामा गएर मुद्दा लड्ने ? मालिक सम्पर्कमा आएन भनेर कति दिनसम्म एउटै कोठामा १७ जना कोचिएर बस्ने ?’ सिन्धुलीका भरत रानाले भने, ‘पहिला त यन्वुबाटै समस्या समाधान हुन्छ भन्ने ठुलो आशा थियो । उसले नै नसक्ने भनेर मदिना पठाइदिएपछि हाम्रो आशा मरेको छ । अब थप मुद्धा लड्न सकिएला जस्तो छैन ।’ मानसिक र शारीरिक रुपमा गल्दै गइसकेका उनीहरु दशैं नजिक आइरहेका बेला नेपाल फर्कन भिसा र टिकट मात्रै पाए पनि फर्कन्छौं भन्न थालेका छन् । ‘हामीलाई तलब चाहिएन । टिकट र पासपोर्ट भए पुग्छ,’ सिराहाका फुलकुमार यादवले भने, ‘कसैको भर पाउन सकिएन ।’  
 
उनीहरुले कामै नगरेको ५ महिना बितिसक्यो । खानाका लागि दैनिक समस्या भइरहेको छ । ‘नालीको पानी सोहर्दै बस्नुपर्छ । यो गर्मीमा बिना एसी दिन कटाउनुपर्छ,’ खोटाङका भुवन बिष्टले भने, ‘दिन काट्नै कठीन छ ।’ उनीहरुलाई पठाउने इमास्को नेपाल, नाइल ओभरसिजले दुई हजार रियाल र नेपाली दूतावासले तीन सय रियाल दिएको थियो । अहिले त्यो पनि सकिइसकेको छ । एक हजार रियाल तलब र खाना पाउने सम्झौता गरेर उनीहरु साउदी पुगेका थिए । साउदीमा कम्पनीले ८ सय रियाल मात्रै दिने सम्झौता गर्‍यो । ‘पछि यो पनि बन्द भयो,’ सुनसरीका रमेशकुमार श्रेष्ठले भने, ‘हामी ढल छिर्ने कोठामा बस्न बाध्य छौं । दूतावासले जस्तो भए पनि यहीं बस्न भनेको छ । त्यो कोठा छोड्ने वित्तिकै मुद्धा कमजोर हुन्छ भनेको छ ।’
 
यो कम्पनीमा १७ पीडितसहित १ सय ५० बढी नेपालीहरु छन् । उनीहरुलाई विभिन्न स्थानमा छुट्टाछुट्टै काममा लगाएर श्रम शोषण गरिएको छ । ‘ती नेपालीको अवस्था के कस्तो छ, हालसम्म कतैबाट खोजी गरिएको छैन’, पर्वतका बिष्णु लम्सालले भने । पीडितलाई उद्धार गर्न समन्वय गरिरहेका नेपाली साझा मञ्च साउदीका अभियन्ता महेश श्रेष्ठले पीडितको अवस्था झन नाजुक बन्दै गएको वताए । ‘यसलाई वैदेशिक रोजगार बिभाग, म्यानपावर र महाबाणिज्यदूतले गम्भिर रुपमा लिनुपर्ने देखिन्छ,’ उनले भने,‘उनीहरु खानै नपाउने अवस्थामा पुगिसके ।’ जेद्धास्थित महाबाणिज्य दूत रेवतीरमण पौडेलले पीडितसँग नियमीत सम्र्पकमा रहेको वताए । ‘उनीहरुको मुद्धा श्रम अदालतमा चलिरहेको छ,’ उनले भने,‘उनीहरुलाई न्याय दिलाएर स्वदेश पठाउन कम्पनीसँग निरन्तर प्रयास भइरहेको छ ।’ 
 
Published on: 7 September 2017 | Kantipur

Back to list

;