s

कोरोना भाइरस

अतुल मिश्र

खाडी मुलुकमा कार्यरत नेपालीहरू कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छन् । उनीहरूकै माध्यमले यो संक्रमण नेपाल भित्रिने सम्भावना प्रबल छ । नेपाल भित्रिसकेको पनि हुन सक्छ, तर अनुगमन नभएकाले सरकारी निकाय आफैं अन्योलमा छ ।

यति बेला आएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खाडीबाट फर्किनेहरूका लागि हेल्थ क्वारेन्टाइन (रोग फैलाउन सक्ने आशंकामा अरूबाट छुट्टै राख्ने प्रबन्ध) पोस्ट राखिँदै छ, तिनमा कोरोना भाइरस वा अन्य संक्रमण भए/नभएको पहिचान गर्न । खाडीका सबै मुलुकमा गरी करिब १५ लाख नेपाली छन् ।

'नेपालमा देखिन सक्ने कोरोना भाइरस लगायत संक्रमणको जोखिम कम गर्न अन्तर्राष्ट्रिय विमानस्थलमा छिट्टै हेल्थ क्वारेन्टाइन राख्नेछौं,' स्वास्थ्य मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनी भन्छन्, 'विश्व स्वास्थ्य संगठ(डब्लूएचओ) ले कोरोना भाइरसको उच्च जोखिमलाई ख्याल गरी हामीलाई खाडीमा रहेको प्रवासी जनसंख्यालाई नियमित रूपमा निगरानी गर्ने सुझाव दिएको छ ।'

दिनहुँ सयौं नेपाली खाडी मुलुक आउजाउ गरिरहने तथ्यतर्फ संकेत गर्दै उनी थप्छन्, 'यो संक्रमण नेपाल भित्रिसकेको छ कि छैन, केही भन्न सकिन्न । हामीसँग प्रभावकारी निगरानी प्रणाली नभएकोले हालसम्म यो संक्रमण हाम्रो देशमा रेकर्ड नगरिएको पनि हुन सक्छ । हज यात्रामा जाने नेपालीहरू समेत कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छन् ।'

डब्लूएचओको नयाँ तथ्यांक अनुसार, २०१२ सेप्टेम्बरयता १ सय ८२ व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । ती संक्रमितमध्ये ७९ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसले थुप्रै रोग उत्पन्न गर्छ । तिनमा जटिल निमोनिया समेत पर्छ । मिडिल इस्ट रेस्पिरेटरी सिन्ड्रोम समेत भनिने कोरोना भाइरसले मानिस र जनावरमा रोग उत्पन्न गर्छ ।

यो भाइरसले मानिसमा रुघाखोकी, फ्लुदेखि सर्भ एक्युट रेस्पिरेटर सिन्ड्रोम (सार्स) सम्म उत्पन्न गर्न सक्छ । कहिलेकाहीं यो रोग निमोनियामा परिवर्तित हुन्छ ।

यो भाइरस २०१२ अपि्रलमा पहिलो चोटि पत्ता लगाइएको हो । यसअघि मानवमा यो भाइरसको संक्रमण देखिएको थिएन । संक्रमितमध्ये झन्डै आधा जतिको मृत्यु हुने गरेको छ ।

यो भाइरस मानिसमा कसरी सर्‍यो भन्नेबारे अझसम्म यकिन हुन सकेको छैन । डब्लूएचओको अनुसार, संक्रमित ऊटबाट मानिसमा कोराना भाइरस सरेको हुन सक्ने सम्भावना भए पनि थप अनुसन्धान आवश्यक छ । यो भाइरसबाट संक्रमितहरूका लागि हालसम्म कुनै विशेष उपचार नरहेको जनाउँदै डा. मरासिनी भन्छन्, 'कोरोना भाइरसबाट संक्रमित धेरैजसो व्यक्ति आफैं निको हुन्छन् । थप जटिलता देखिएकाहरूमा लाक्षणिक उपचार गरिन्छ ।'

यस्तो संक्रमणको जोखिममा रहेकाहरूलाई मिल्दोजुल्दो लक्षण देखिए तिनले प्रशस्त मात्रामा तरल पदार्थको सेवन गर्नुपर्छ । घरमा आराम गर्दै बस्नुपर्छ । जटिलता देखिए स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्छ ।

कसरी सुरक्षित रहने ?

अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड पि्रभेन्सन (सीडीसी) को अनुसार, कोरोना भाइरसविरुद्घ हालसम्म कुनै खोप बन्न सकेको छैन । यसैले संक्रमणबाट बचाउको उपाय अपनाउनु नै महत्त्वपूर्ण हो ।

सार्सबाहेक यो संक्रमण फैलिने प्रक्रियाबारे उति सार्‍हो अध्ययन भएको छैन । यो रोग संक्रमित व्यक्तिबाट अन्य स्वस्थ व्यक्तिमा सर्ने गर्छ, हात मिलाउँदा वा छुँदा । यो भाइरस कुनै व्यक्तिले संक्रमित स्थल वा सतहलाई छोएपछि आफ्नो नाक, मुख वा आँखा छुँदासमेत सर्ने गर्छ । कुनै कुनै केसमा भने यो रोग संक्रमित शौचबाट समेत सरेको पाइएको छ । त्यो शौचको दुर्गन्ध हावामा छरिएपछि श्वासप्रश्वासको माध्यमले सरेको सीडीसीले उल्लेख गरेको छ ।  

सामान्यतः रुघाखोकी बचाउको उपायले यो संक्रमणबाट पनि जोगिन सघाउँछ । बाहिरबाट घर फर्केपछि वा समय समयमा साबुनपानीले हात धुने गरे यो संक्रमणबाट सुरक्षित रहन सकिन्छ । हात नधोएसम्म आँखा, नाक र मुख छुनु हुन्न । संक्रमण पाइने सम्भावित क्षेत्रमा रुघाखोकीका बिरामीको निकट सम्पर्कबाट जोगिँदा पनि फाइदा हुन्छ ।

लक्षण

सीडीसीका अनुसार, यो भाइरसले सामान्यतः केही समयका लागि माथिल्लो श्वास नली सम्बन्धी रोग निम्त्याउँछ । यसका मुख्य लक्षण हुन् ः नाकबाट पानी बग्नु, कफ आउनु, घाँटी दुख्नु र ज्वरो आउनु हो । यो भाइरसले कहिलेकाहीं निमोनियाले झैं तल्लो श्वास नलीको संक्रमण समेत उत्पन्न गर्छ । यो समस्या मुटु सम्बन्धी रोग, रोग निरोधक क्षमता कम भएकाहरू र बूढापाकामा देखिनु बढी सामान्य मानिन्छ ।

Published on: 22 February 2014 Kantipur

Back to list

;