s

कोरियामा बाहिर निस्किँदैनन् नेपाली

मञ्जु गुरुङ

दक्षिण कोरियामा कोरोना भाइरस संक्रमणमा कमी देखिए पनि त्रास कायमै छ। कोरियामा रहेका नेपालीमा भाइरस संक्रमण देखिएको छैन। धेरैजसो नेपाली कामदार कम्पनीमै काम गर्दै बसेका छन्। उनीहरू छुट्टीमा पनि बाहिर हिँडडुल गर्दैनन्।

‘साहुले बाहिर नजानू भनेका छन्। छुट्टीमा साथीहरूले भेट्न बोलाए पनि जान सकेको छैन’, नोनसानस्थित एक बंगुर फार्ममा कार्यरत सुरज लामा भन्छन्, ‘बाहिरबाट आउनेहरूसँग पनि नभेट्न भनेकाले साथीलाई यता बोलाउन पनि सक्दैनांै। कोठामै मोबाइलमा विभिन्न प्रोग्राम हेर्दै, साथी र आफन्तसँग कुरा गर्दै छुट्टी कटाउने गरेका छौं।’

फेन्तेकस्थित एक कम्पनीमा कार्यरत उमेश राई आवश्यक सामग्री किन्न मास्क लगाएर जान्छन्। कोठामा फर्केपछि शरीरमा कीटनाशक औषधि छर्किन्छन्। त्यसपछि हात राम्रोसँग धुने गरेको उनी सुनाउँछन्।

यस्तै तरिका अपनाउँदै यहाँ रहेका नेपाली सुरक्षित देखिएका छन्। मास्क अभाव भएपछि कोरिया सरकारले सहुलियतमा स्थानीय औषधि पसल, हुलाक कार्यालय र सरकारी मार्टबाट तोकिएको अनुपातमा बिक्री गर्दै आएको छ। आफूलाई पायक पर्ने तोकिएको स्थानमा गएर परिचयपत्र देखाई मास्क लिन सकिने व्यवस्था गरिएको छ। विदेशीको हकमा भने परिचयपत्र र स्वास्थ्य बिमा कार्ड देखाउनुपर्नेमा परिचयपत्र मात्रै भए पनि मास्क किन्न सकिने नियम बनाइएको छ।

जन्म मितिको अन्तिम अंक तोकिएअनुसारको दिनमा सोमबारदेखि शुक्रबारसम्म मास्क किन्न पाइन्छ। सो दिन छुटेकाहरूले शनिबार र आइतबार किन्न सकिने गरी प्रणाली अपनाएर सहजीकरण गरिएको छ।

गैरकानुनी रूपमा रहेका नेपालीलाई भने प्रवासी मजदुर युनियनले निःशुल्क मास्क बाँडिरहेको छ। काम छाडेर नयाँ खोजीमा रहेका विदेशीलाई दैनिक नोदोइबु (जब सेन्टर) नधाए पनि हुने भनिएको छ। कोठामै बसेर फोनमार्फत सूचना आदानप्रदान गरिने जनाइएको छ।

तीन महिनाभित्र काममा लाग्न नसके गैरकानुनी हुने प्रावधानलाई मध्यनजर गरी अप्रिल ३० सम्म समय अवधि बढाइएको छ। कोरियाको अध्यागन विभागले फेब्रुअरी र मार्चमा सकिने विदेशीको भिसा अवधिलाई अप्रिल ३० सम्म सारेका छन्।

कोरोना भाइरस भेटिएको सय मिटर टाढाको स्थान पत्ता लगाउने एप बनाइएको छ। विभिन्न स्थानमा मानिसको शरीरको तापक्रम मापन यन्त्रमार्फत सम्भावित व्यक्तिलाई तुरुन्तै परीक्षण गर्न सकिने संयन्त्र सुरु गरिएको छ। विभिन्न सहरका सडकबीचमा मोटरभित्रै बसेर तुरुन्तै भाइरस परीक्षण गर्न सकिन्छ।

नेपाली राजदूतावासले कोरोना संक्रमणबाट बच्ने उपायबारे सूचना जरी गर्दै सुरक्षित रहन आह्वान गरेको छ। गैरआवासीय नेपाली संघ कोरिया र विद्यार्थी समाज सोनसिकले पनि जनचेतनामूलक सामग्री र कोरिया सरकारले जारी गरेको व्यवस्थाबारे जानकारी गराइरहेका छन्। विज्ञसँग अन्तर्वार्ता गरी विभिन्न जिज्ञासा मेटाइदिने गरेका छन्।

चीनपछि बढी संक्रमण दक्षिण कोरियामा देखिएको थियो। इरानमा बढी देखिएको छ। कोरियाले कोरोनालाई पराजित गरिसकेको भन्दै यसमा थप सुरक्षा अवलम्बन गरिरहेको छ।

Published on: 15 March 2020 | Annapurna Post

Link

Back to list

;