s

कोरियाली भाषा परीक्षा अनिश्चित

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १२ गते । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत रोजगारीका लागि दक्षिण कोरियामा जाने उम्मेदवारका लागि कोरियाली भाषा परीक्षा अनिश्चित बन्दै गएको छ । कोरियाको मानव संसाधन विभाग (एचआरडी) कोरियाले २०२० जेठको अन्तिममा लिने भनेको भाषा परीक्षा कोभिड १९ कारण रद्द भएसँगै भाषा परीक्षा अनिश्चित बनेको हो । कोरिया भाषा परीक्षा तथा सीप परीक्षण कहिले हुन्छ भन्ने यकिन नभएको एचआरडीले जनाएको छ ।

एचआरडी कोरियाका अनुसार अब हुने परीक्षा उत्पादनमूलक क्षेत्रका लागि मात्र हुने योजना रहेकाले अघिल्लो वर्षको तुलनामा यो वर्ष भाषा परीक्षामा उत्तीर्ण हुनेको सङख्या घट्ने अनुमान गरिएको छ । २०१९ को भाषा परीक्षामा कृषि तथा पशुपालन क्षेत्र र उत्पादनमूलक गरी दुई विधामा परीक्षा भएकाले १० हजार रोजगारीका लागि झन्डै एक लाखको हाराहारीमा आवेदन परेको थियो ।

रोस्टरमा धेरै व्यक्ति भएकाले यो वर्ष सीबीटी परीक्षा नहुने एचआरडी कोरियाले उल्लेख गरेको छ । उसले भाषा परीक्षामा हुने अमर्यादित गतिविधि रोक्न कम्प्युटरलगायतका तरिकाबाट परीक्षा लिने माध्यमबारे अध्ययन भइरहेको भए पनि अझै कुन माध्यमबाट परीक्षा हुन्छ भनेर निष्कर्षमा नपुगेको जनाएको छ । भाषा परीक्षामा हुने अमर्यादित क्रियाकलाप रोक्न औँठाछाप लिने व्यवस्थाको सुरुवात र कम्प्युटरबाट परीक्षा लिने ठाउँको निर्माण सकिएपछि मात्रै परीक्षाको मिति तोक्नेबारे एचआरडीले तयारी गरिरहेको छ । 

Published on: 25 May 2020 | Gorkhapatra

Link

Back to list

;