s

कोरियाली बैंकमार्फत नेपालमा दोब्बर रेमिट्यान्स

देवेन्द्र सम्बाहाम्फे

कोरियामा रोजगार गर्न आएका नेपाली कामदारहरूले सन् २०१३ मा ३ अर्ब ९० करोड रुपैयाँभन्दा बढी रेमिट्यान्स कोरियन बैंकहरूमार्फत स्वदेश पठाएका छन् । कोरियन एक्सचेन्ज बैंक र हाना बैंकमार्फत उनीहरूले एक वर्षमा ३ करोड ९८ लाख अमेरिकी डलर पठाएका हुन् । यो रकम गत वर्षको तुलनामा दोब्बर हो । २०१२ मा केइबीमार्फत १ अर्ब ६० करोड रुपैयाँ नेपाल भित्रिएको थियो । यस वर्ष केईबीमार्फत १० हजार १ सय जनाले ३ करोड ८६ लाख अमेरिकी डलर रेमिट पठाएका छन् । यस्तै हाना बैंकमार्फत १२ लाख डलर रेमिट गरेका छन् । नेपाली कामदारको संख्या वृद्धिसँगै यहाँबाट वैधानिक तवरले भित्रिने रेमिट्यान्स पनि वृद्धि हुँदै गएको छ ।

नबिलसँग २०११ सेप्टेम्बर १६ मा भएको सम्झौताअनुसार कोरियन एक्सचेन्ज बैंक -केईबी) बाट नेपाली कामदारले पैसा पठाउन सुरु गरेका हुन् । यस बैंकमा १२ हजार ५ सय नेपाली कामदारले खाता खोलेका छन् । औसत मासिक ८ सय जनाले यसमार्फत नेपाल पैसा पठाउने गरेका छन् ।  नबिलसँग सहकार्य गरेकाले पनि नेपाली ग्राहक प्रत्येक वर्ष बढ्दै गएका छन् । नबिलले कोरियाबाटै खाता खोल्ने प्रावधान र विभिन्न संस्थाको सेयर खरिदमा आफ्ना ग्राहलाई सुविधा दिँदै आएको छ । कोरियामै रहेर नबिल बैंकमा खाता खोलेर कारोबार गर्नेको संख्या करिब ७ सय रहेको छ ।

अर्कातिर सानीमा बैंकसँग एक बर्षअघि भएको सम्झौताअनुसार हाना बैंकमार्फत पनि नेपाली कामदारले रेमिट्यान्स पठाउँदै आएका छन् । यी दुवै बैंकको सहजकर्ताका रूपमा इशारा रेमिटले काम गर्दै आएको छ । हालसम्म १ हजार ३ सय कामदारले हानामा खाता खोलेका छन् भने मासिक २ सयले यसमार्फत रेमिट्यान्स पठाउँदै आएका छन् । यस बैंकले रेमिटरलाई औद्योगिक दुर्घटनामा परे १० लाखदेखि १ करोड वनसम्म र १० करोड वनसम्म एयरक्राफ्ट बिमाको व्यवस्था गरेको छ । सानिमा बैंकले पनि १ लाख रुपैयाँसम्मको दुर्घटना बिमा गरेको छ । त्यसैगरी केईबीले ५ सय अमेरिकी डलरसम्म रकमान्तर गर्ने रेमिटरलाई रकमान्तर गरेको मितिदेखि २ महिनासम्म ५० लाख देखि १ करोड वनसम्मको दुर्घटना बिमा उपलब्ध गराउँदै आएको छ । साथै दुवै बैंकले नेपाली कामदार भएको क्षेत्रमा प्रोटेबल बैकिङ प्रणालीसमेत लागू गरेका छन् । शनिबार  र आइतबार विभिन्न शाखाहरूबाट नेपाली भाषा जान्ने कर्मचारीबाट सेवा उपलब्ध गराउँदै आएका छन् ।

केईबी व्यवस्थापनले सामान्य र ई-जीवन गरेर दुई प्रकारको खाता व्यवस्था गरेको छ । सामान्य खाता कोरियामा पैसा जम्मा गर्न र निकाल्न प्रयोग गरिन्छ । ई-जीवन चाहिँ विशेष खालको हुन्छ । जुनसुकै  बैंकबाट यसमा रकमान्तर गर्ने बित्तिकै स्वचालित रूपमा त्यस दिनको प्रचलित मुद्रा विनिमय दरको आधारमा दुई घन्टाभित्र नेपालमा रहेको आफ्नो वा आफन्तको खातामा नेपाली रुपैयाँ जम्मा हुन जान्छ । नेपालको बैंकिङ प्रणालीमा रहेको कठिनाइका कारण जम्मा भएको रकम एक दिनमा आफूलाई पायक पर्ने जुनसुकै बैंकबाट निकाल्न सकिन्छ । यसका लागि केईबीले इजी एकाउन्ट कनेक्सन गरिदिएको हुनुपर्छ । यस नियमले स्मार्ट फोन र इन्टरनेट बैंकिङ प्रणाली प्रयोगकर्ताले पनि सहजै रकमान्तर गर्न सक्नेछन् ।

कोरियामा नेपाली कामदारको संख्या करिब २१ हजार छ । कोरिया साना तथा मझौला व्यवसायी संघ (केबिज) ले केही महिनाअघि सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार यहाँ नेपाली कामदारहरूले न्यूनतम १६ लाख २१ हजार वन -१४ सय ३७ डलर) तलब पाउने गरेका छन् ।  यसलाई आधार मान्ने हो भने यहाँबाट वाषिर्क ३५ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिने भए पनि ३० अर्बभन्दा बढी अवैधानिक मानिएको हुन्डीमार्फत भित्रिने गरेको तथ्य उल्लेखित दुई बैंकको तथ्यांकबाट स्पष्ट हुन्छ ।

Published on: 29 January 2014 | Kantipur

Back to list

;