s

कोरियासँग दुईपक्षीय वार्तापछि मात्रै नेपाली श्रमिक पठाइने

आइतबार बसेको मन्त्रिपरिषद्ले इपिएस पास भएकालाई कोरियासँग सहमति गरी जान दिने निर्णय गर्यो। 

सरकारको यो निर्णयसँगै इपिएस पास गरेका र कोरिया जान नपाएका नेपालीको अन्यौलता केही हदसम्म हट्यो। 

इपिएस पास भएकालाई कहिलेबाट पठाउने भन्नेबारे भने अहिले भन्न नसकिने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। 

नेपाली श्रमिक दक्षिण कोरिया पठाउनुभन्दा पहिले कोरिया सरकारसँग दुईपक्षीय वार्ता गर्नुपर्ने मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए। 

‘पहिले हामी कोरियासँग छलफल गरेर त्यहाँ काम गर्ने वातावरण, स्वास्थ्य सुरक्षा लगायतको बारेमा छलफल गर्छौँ। पछि मन्त्रिपरिषद्को निर्णयअनुसार काम गर्छौँ’ घिमिरेले सेतोपाटीसँग भने। 

श्रमिक पठाउने कार्यविधि भने मन्त्रिपरिषद्को लिखित निर्णयपछि मात्र थाहा हुने उनले बताए। 

‘कति जना पठाउने, श्रमिकलाई काठमाडौंसम्म कसरी ल्याउने, फ्लाइट चार्टड गरेर पठाउने कि, लकडाउन पुरै खुलेपछि पठाउने लगायतका कुरा भने मन्त्रिपरिषद्को लिखित निर्णय आएपछि हामी सार्वजनिक गर्छौँ,’ उनले भने। 

दक्षिण कोरियामा कोरोनाको संक्रमण बढेपछि नेपाल सरकारले माघको अन्तिम साता भाषा परीक्षा र सिप परीक्षण पास गरेर भिसा आएका कामदारलाई कोरिया पठाउन रोक लगाएको थियो।

Published on: 27 April 2020 | Setopati

Link

Back to list

;