s

कोरियन कम्पनी र लगानीकर्तालाई स्वागत गर्न तत्पर छौँ : परराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले कोरियन कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंस्थित कोरियन दूतावासले
मंगलबार होटेल याक एन्ड यतीमा आयोजना गरेको कार्यक्रममा मन्त्री साउदले यस्तो बताएका हुन्।

उनले भने, ‘ठूलो संख्यामा कोरियाली कम्पनी, उद्योगीलाई र लगानीकर्तालाई स्वागत गर्न तत्पर छौँ।’ परराष्ट्रमन्त्री साउदले दुवै मुलुकबीच आर्थिक सहयोग विस्तार गर्ने प्रचुर सम्भावना रहेकोसमेत बताएका छन्। ‘हामीबीच आर्थिक साझेदारीका सम्भावनाहरू अन्वेषण गरौँ। द्विपक्षीय व्यापार अभिवृद्धि गरौँ र लगानी बढाऔँ,’ उनले भने।

मन्त्री साउदले कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधिको क्षेत्रमा साझेदारीलाई बलियो बनाएर अघि बढ्नुपर्ने बताएका छन्। उनले भने, ‘कोरियामा हजारौँ नेपाली कामदार छन्। नेपालीहरूले थप अध्ययनका लागि कोरिया रोजेका छन्। हजारौँ कोरियाली पर्यटकका रूपमा नेपाल आउने गरेका छन्। कोरियालीको ठूलो संख्याले नेपालमा लगानी गरेको छ। आगामी दिनहरूमा हामी यस साझेदारीलाई थप विस्तार गर्नेछौँ।’

परराष्ट्रमन्त्री साउदले उच्चस्तरीय भ्रमणको आदानप्रदानलाई पनि गति दिने उल्लेख गर्दै भने, ‘म विश्वस्त छु कि स्वर्णजयन्तीको अवसरमा उच्चस्तरीय भ्रमण गर्न सक्छौँ।’

Published on: 31 January 2024 | Naya Patrika

Link

Back to list

;