s

कोरियन भाषा परीक्षामा मागभन्दा सात गुणा बढी आवेदन

उत्तम काप्री

ईपीएस कोरियन भाषा परीक्षाका लागि मागभन्दा सात गुणा बढी आवेदन परेको छ। सरकारले चैत ९ गतेबाट खुला गरेको सन् २०१८ को कोरिया भाषा परीक्षाका लागि ७५ हजार नौ सय २५ जनाले आवेदन दिएका छन्। त्यसमध्ये कृषिका लागि ५१ हजार ३४ जना र उत्पादनमूलक क्षेत्रमा २४ हजार दुई सय ४२ जनाले आवेदन दिएका हुन्।

आवेदन दिनेको संख्या मागभन्दा सात गुणा बढी भएको ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए। कोरिया सरकारले सन् २०१८ मा कृषिका लागि ६ हजार दुई सय र उत्पादनमूलक क्षेत्रमा चार हजार गरी १० हजार दुई सय कामदार लैजाने निर्णय गरेको छ।

आवेदन फारमका लागि भौचर भरिसकेका तर फारम समिट हुन बाँकीसमेत ६ सय एक गरी ७५ हजार नौ सय २५ जना भएको शाखाले जनाएको छ। शाखाले चैत ९ गतेदेखि अनलाइन आवेदन फारमका लागि पेज खुला गरेको थियो। परीक्षा फारम भर्न ग्लोबल बैंकमा २४ डलर तिर्न पर्ने व्यवस्था गरेको थियो।

भाषा परीक्षाका लागि प्रवेशपत्र प्राप्त नगरेका तथा दरखास्त बुझाउँदा नाम, जन्ममिति, राहदानी नम्बरको त्रुटी सच्याउन आवेदकले चैत २० देखि २५ गतेसम्म समय पाउने भएका छन्। यसरी संकलन भएको आवेदन चैत २५ गत कोरिया पठाइने खतिवडाले जानकारी दिए।

दरखास्त दिएका व्यक्तिको भाषा परीक्षा जेठ २७ र २८ गते काठमाडौंमा हुनेछ। त्यस्तै भाषा परीक्षाको नतिजा असार १६ गते प्रकाशन गरिने शाखाले जनाएको छ।कोरिया सरकारसँग सन् २००७ मा सम्झौता भई नेपाल सरकार आफैंले सन् २००८ बाट कामदार पठाउँदै आएको हो।

अहिलेसम्म ४३ हजारभन्दा बढी युवा रोजगारीका लागि कोरिया पुगिसकेको शाखाको तथ्यांकमा उल्लेख छ।कोरिया सरकारले सन् २०११ पछि सबैभन्दा बढी कामदार सन् २०१८ मा लैजान भएको हुँदा पनि विगत वर्षभन्दा यस वर्ष परीक्षा फारम भर्नेको संख्या बढी भएको खतिवडा बताउँछन्।

गत वर्ष ६१ हजारले परीक्षा आवेदन फारम भरेका थिए। यो वर्ष आवेदन दिनेको संख्या गत वर्षभन्दा झन्डै १६ हजार बढी छ। गत वर्ष भाषा परीक्षामा सहभागी ६० हजार ६ सय २५ जनामध्ये ३५ सय १७ जना उत्तीर्ण भएका थिए। 

भाषा परीक्षाका लागि प्रवेशपत्र प्राप्त नगरेका तथा दरखास्त बुझाउँदा नाम, जन्ममिति, राहदानी नम्बरको त्रुटी सच्याउन आवेदकले चैत २० देखि २५ गतेसम्म समय पाउने भएका छन्। यसरी संकलन भएको आवेदन चैत २५ गत कोरिया पठाइने खतिवडाले जानकारी दिए।

सन् २००८ को पहिलो कोरियन भाषा परीक्षामा ३१ हजार पाँच सय २५ जना सहभागी भएका थिए भने सन् २०१७ सम्म आइपुग्दा ७६ हजारले आवेदन दिइसकेका छन्। यसैगरी २०१० मा ३६ हजार दुई सय ३, २०११ मा ५० हजार ४३, २०१३ मा ४४ हजार एक सय २२, २०१४ मा ५८ हजार सात सय ४६, २०१५ मा ५१ हजार एक सय ३७ जना परीक्षामा सहभागी भएका थिए।

परीक्षामा सहभागीमध्ये २००८ मा ६ हजार सात सय ८६, २०१० मा चार हजार एक सय ८०, २०११ मा १५ हजार ६ सय ७८, २०१३ मा आठ हजार ५१, २०१४ मा ३६ सय ६४, २०१५ मा आठ हजार चार सय ९० र २०१६ मा ३५ सय १७ जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए।

सन् २००८ देखि अलिेसम्म ४५ हजार नौ सय ९१ जना पुरुष र ४३ सय ७४ जना महिला गरी कुल ५० हजार तीन सय ६५ जन भाषा परीक्षामा पास भएको शाखाले जनाएको छ। भाषा परीक्षामा पास भएकामध्ये ४९ हजार चार सय ५१ जनाले कामका लागि प्रक्रिया सुरु गरेकोमा अहिलेसम्म ४३ हजार कामदार कोरिया पुगिसकेका छन्। त्यसमध्ये २८ सय महिला रहेको शाखाले जनाएको छ।

Published on: 1 April 2017 | Annapurna Post

Back to list

;