s

कोरियन भाषा परीक्षा आवेदन आजदेखि

सरकारले सन् २०१८ को कोरियन भाषा परीक्षाको आवेदन फारम आज (चैत ९) देखि खुला गर्ने भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कामका लागि दक्षिण कोरिया जान भाषा परीक्षा पास गर्नुपर्छ । कोरिया ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसार बुधबार बिहान ९ बजेदेखि अनलाइन आवेदन फारम खुला हुनेछ ।

यसरी खुला भएको अनलाइन आवेदन फारम यही चैत १८ गते राति १२ बजेसम्म भर्न पाइनेछ । यसका लागि शाखाले सम्पूर्ण तयारी पूरा गरेको उनले बताए । शाखाले अनलाइन फारम भर्दा कुनै समस्या नहोस् भनी आठ जनाभन्दा बढी इन्जिनियर २४ सै घन्टा सम्पर्कमा राख्ने भएको छ ।

शाखाले वैदेशिक रोजगार विभाग, शाखा, सफ्टवेयर ह्याङगर, ग्लोबल आईएमई बैंक, बल्र्ड लिंक र सुबिसु इन्टरनेट प्रदायक कम्पनीका इन्जिनियरको सहयोगमा अनलाइन प्रणाली विकास गरेको हो । तर, प्राविधिक काममा केही समस्या आए पनि तत्कालनै समाधान हुने खतिवडाको भनाइ छ । अनलाइन परीक्षा आवेदन फारम भर्न सबैभन्दा पहिले २४ अमेरिकी डलर ग्लोबल आईएमई बैंकमा जम्मा गरेको भौचर आवश्यक पर्नेछ । योसँगै पासपोर्ट नम्बर अनिर्वाय हुनेछ । बैंक भौचर र पासपोर्ट नम्बर राखेपछि मात्रै अनलाइन फारमका लागि पेज खुला हुनेछ । परीक्षा २०७४ जेठ २७ र २८ गते हुने तय भएको छ ।

अनलाइन फारम भर्नका लागि योसँगै इमेल आईडी पनि आवश्यकपर्ने खतिवडाले बताए । परीक्षा आवेदन फारम भर्नेको प्रवेशपत्र इमेल आईडीमै आउने छ । त्यही प्रिन्ट गरेर परीक्षामा सहभागी हुन पाउने शाखाले जनाएको छ । परीक्षा २०७४ जेठ २७ र २८ गते हुने तय भएको छ । कोरियाले सन् २०१८ मा कृषि क्षेत्रमा काम गराउन ६ हजार र उत्पादनमूलक क्षेत्रमा काम गराउन चार हजार कामदार लैजान यस अघिनै निर्णय गरिसकेको छ ।

सन् २००७ मा कोरियासँग श्रम सम्झौता भएपछि अहिलेसम्म नेपालबाट रोजगारीका लागि करिब ४३ हजार कोरिया पुगिसेका छन् । कोरिया जान खर्च पनि कम लाग्ने र तलब पनि एकदेखि डेढ लाखसम्म हुने हुँदा युवाको आकर्षण बढ्दो छ । गत वर्षमात्रै ६१ हजारभन्दा बढीले परीक्षा आवेदन फारम भरेका थिए । यस वर्ष बढीमा ८० हजारले फारम भर्ने शाखाको अनुमान छ ।

Published on: 22 March 2017 | Annapurna Post

Back to list

;