s

कोरियामा रि-इनट्री कामदारलाई लाभदायक

६ वर्ष दक्षिण कोरिया बसेर भर्खरै फर्किएका जनकबहादुर चन्द त्यहाँको बसाइप्रति सन्तुष्ट छन् । जसले उनलाई फेरि कोरिया जान प्रेरित गरिरहेको छ । ‘म जाने प्रोसेसमा छु,’ काठमाडौं, नयाँ बसपार्कमा भेटिएका महेन्द्रनगर, गोवरियाका ३९ वर्षे चन्दले भने ।

नेपाल र दक्षिण कोरियाली सरकारबीच भएको रि–इन्ट्री प्राणालीसम्बन्धी सहमतिअनुसार उनी पुनः कोरिया जान लागेका हुन् । यो प्रणाली जुलाई २ देखि लागू भएको हो ।
 रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा पास परीक्षा पास गरेर गएका कामदारको लागि कोरिया सरकारले यो सुविधा दिएको इपिएस नेपालका संयोजक महेश आचार्यले बताए । उनका अनुसार यो सुविधा पाउन दुई सर्त पुग्नु पर्नेछ – पहिलो, कामदारले करार अवधिको सम्पूर्ण समय एउटै कम्पनीमा काम गरेको हुनपर्ने र दोस्रो काम गरिरहेको कम्पनीमा ३० भन्दा कम कामदार भएको हुनुपर्ने ।
 
यी दुई मापदण्ड पूरा हुने भए पुनः जान चाहनेले एक साताभित्र आवेदन दिन पाउनेछन् । यसको लागि भाषाको परीक्षा दिइरहनुपर्दैन । करार अवधी सुरुमा तीन वर्ष र पछि कम्पनीले एक वर्ष १० महिना थपिदिन्छ । इमान्दार नेपाली कामदारका लागि यो राम्रो अवसर भएको आचार्य बताउँछन् ।
 
यताबाट जाँदा प्रायः नेपाली कामदार अदक्ष र काम गर्ने बानी नभएका हुन्छन् । त्यसले गर्दा उनीहरूले एउटै कम्पनीमा काम गर्न नसकेको अनुभव चन्दसँग छ । उनका अनुसार धेरै नेपाली कम्पनी परिवर्तन गरिरहन्छन् । कम्पनी परिवर्तन गरिरहनेलाई कोरियालीले मन पराउँदैनन् । यही प्रवृत्ति रोक्न रि–इन्ट्री सुविधा दिइएको हुनसक्छ । 
 
त्यहाँ कोरियालीकै स्पिडमा काम गर्नुपर्ने हुन्छ । ‘काम गर्दा सानोतिनो चोटपटक पनि लाग्छ,’ चन्दले आफ्नो औंलाका चोट देखाउँदै भने, ‘काम गर्न सजिलो त कहाँ हुन्छ र !’ यसै कारण कामदारले सजिलो काम कहाँ पाइएला भनेर नयाँ कम्पनी खोज्ने गरेको उनी बताउँछन् ।
 
यसमा इपिएस नेपाल संयोजक आचार्य पनि सहमत छन् । कलेज पढ्दै गरेका, परिश्रम नगरेका धेरै नेपाली कोरिया जान्छन् । ‘यो स्वभाविक पनि हो,’ उनी भन्छन्, ‘कोरियाले अदक्ष श्रमिक नै खोजेको हो ।’
 
चन्दले बिएन्डबी थुवmुम नामक फलामे कम्पनीमा ६ वर्षसम्म काम गरे । तीन वर्ष कोरिया बसेर पर्किएका उनी पछिल्लोपटक इपिएसमार्फत कोरिया गएका थिए । सुरुमा सँगै गएका केही नेपाली काम गर्न नसकेर अरू कम्पनीमा गएको उनले बताउँछन् । ‘सुरुमा त्यो कम्पनी छिर्दा सात नेपाली थियौं,’ उनी भन्छन्, ‘पाँच जना काम गर्न नसकेर अन्य कम्पनीमा गए ।’ स्याङजाका जगन्नाथ भण्डारी र उनले भने त्यही कम्पनीमा काम गरिरहे ।
 
उनीहरूको मेहनत देखेर कम्पनी मालिक धेरै खुसी भए छन् । ‘हाम्रो काम देखेर थप सात नेपालीलाई कम्पनीले बोलायो,’ उनी भन्छन्, ‘पछि त बंगलादेश, चीन र उज्वेकिस्तानका सम्पूर्ण कामदारलाई हटाएर २१ जना नेपाली कामदार राख्यो ।’ कामदार थप्नुपर्दा कम्पनीले नेपालीलाई खोज्ने गरेको उनी बताउँछन् ।
 
यही मेहनत देखेर कोरियाली सरकारले रि–इन्ट्री सुविधा दिएको उनको बुझाइ छ । इमान्दारिता र मिहिनेतलाई कायम राख्नेसके कोरिया नेपालीका लागि राम्रो आम्दानीको स्रोत भएको उनी बताउँछन् । कामको सम्मान गर्ने र कामदारसँग खानपिन र उठबस गर्ने कोरियाली कम्पनी सञ्चालकको बानीले चन्द जस्ता कामदारलाई तानेको छ ।
 
स्वास्थ्य, खानपान र मानवअधिकारका हिसाबले पनि कोरिया नेपालीका लागि राम्रो भएकाले त्यहाँको आकर्षण बढ्दै गएको आचार्य बताउँछन् । महिलालाई पनि काम गर्न सुरक्षित गन्तव्य हो, कोरिया । यसमा चन्द पनि सहमत छन् । ‘काम अनुसारको कोरियालीको व्यवहार हुनेगर्छ,’ चन्द भन्छन्, ‘खुल्ला समाज र नेपालीलाई सुहाउने हावापानीले पनि नेपाली कामदारलाई सहयोग पुगेको छ ।’ अनुभवी नेपालीलाई मन पराएकाले नै कोरियाली कम्पनीले पुनः लैजान चाहेको उनी बताउँछन् ।
 
रि–इन्ट्री प्रणालीमार्फत अहिलेसम्म तीन जनाले मात्र आवेदन दिएको इपिएस कार्यालयले जनाएको छ । दुई जनाको भिसा लागिसकेको छ भने चन्द भिसाको प्रव्रिmयामा छन् । इपिएस प्रणाली अनुसार अहिलेसम्म साढे १४ हजार नेपाली कोरिया गइसकेका छन् ।
 
सन् २०१२ का लागि भाषा परीक्षामा १५ हजारले नाम निकालेकोमा पाँच हजार गइसकेको इपिएस कार्यालयले जनाएको छ । धेरै परीक्षार्थी जान बाँकी भएकाले रोस्टरको म्याद एक वर्ष थपिन सक्ने आचार्य बताउँछन् । उनका अनुसार सन् २०१३ को अप्रिलतिर भाषा परीक्षाको पुनः आवेदन खुल्नेछ ।
 
Published on: 22 August 2012 | Nagarik 

Back to list

;