s

कोरियामा नेपालीको मृत्यु

देवेन्द्र सम्बाहाम्फे

दक्षिणा कोरियामा एक नेपालीको मृत्यु भएको छ । ३ महिनाअघि ईपीएसबाट रोजगारी गर्न यहाँ आएका मोरङ उर्लाबारीका २६ बर्षीय पीटर चाम्लिङ राईको बुधबार राति मृत्यु भएको हो ।

छनानस्थित नुरी साइक्लिङ नामक कम्पनीका कामदार राई बुधबार सामान्य अवस्थामा रहेका थिए । बिहिबार बेलुकिदेखि मात्र रात्रीकालीन ड्युटि रहेकाले बुधबार साथीहरुसँग खानपिन र थोरै मदिरा सेवन गरेर सुतेका थिए । सँगै सुतेका धादिङका राजेन्द्र हमालका अनुसार १२.३० बजे राईको श्वासप्रश्वासमा अवरोध भएपछि एम्बुलेन्स बोलाएर अस्पताल लैजाने क्रममा राईको मृत्यु भएको थियो । शव छनानको एक अस्पतालमा राखिएको छ ।

प्लाष्टिकको दाना बनाउने उक्त कम्पनिमा अरु ३ नेपाली कार्यरत छन् । त्यहाँ रात्री र दिवाकालीन काम हुने गर्दछ । परिवारलाई मृत्युको जानकारी टेकेन्द्र राइले दिएका थिए । सोलस्थित नेपाली दूतावासका श्रमसहचारी अनिलकुमार गुरुङले प्रहरीको प्रारम्भिक प्रतिवेदन दूतावासमा आइसकेको र प्रतिवेदन अनुसार पराराष्ट्र मन्त्रालयमा पत्राचार भएको बताए । मृतकको श्रीमती र १३ महिनाकी एक छोरी छिन् ।

Published on: 18 October 2013 | Kantipur 

Back to list

;