s

कोरियामा कामदारको तलब वृद्धि

देवेन्द्र सम्बाहाम्फे

दक्षिण कोरियामा कार्यरत नेपाली कामदारले सन् २०१६ देखि न्यूनतम तलब १ लाख १५ हजार रुपैयाँ पाउने भएका छन् । ज्याला निर्धारण समितिले न्यूनतम पारिश्रमिकमा ८ दशमलव १ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेपछि साना तथा मझौला उद्योगमा काम गर्दै आएका नेपाली कामदारले न्यूनतम पारिश्रमिक १ लाख १५ हजार रुपैयाँ अर्थात् १२ लाख ६० हजार २ सय ७० वन पाउने भएका हुन् ।

तलब वृद्धिसँगै स्वदेशी तथा विदेशी कामदार उत्साहित भएका छन् । कोरियामा ३० हजार नेपाली कामदार छन् । तलबवृद्धिले उनीहरूलाई फाइदा पुग्नुका साथै मुलुकमा आउने रेमिट्यान्ससमेत बढ्नेछ ।

समितिको कार्यालय सेजङ सी थेजनमा बिहीबार बिहान १ बजे भएको मतदानमा २०१६ को जनवरीबाट लागू हुने गरी ८ दशमलव १ प्रतिशतले वृद्धि गर्ने पक्षमा बहुमत आएपछि समितिका अध्यक्ष पार्क जोन सङले घोषणा गरेका थिए । नयाँ तलबमानअनुसार कोरियाका मजदुरहरूले प्रतिघण्टा ६ हजार ३० वन र प्रतिमहिना न्यूनतम १२ लाख ६० हजार २ सय ७० वन (१ डलरबराबर १ हजार वन) पाउने भएका हुन् । हाल यहाँका मजदुरले प्रतिघण्टा ५ हजार ५ सय ८० वन पाउँदै आएका छन् । यो तलबवृद्धि २००९ यताकै ठूलो हो ।

तलब निर्धारण गर्न मंगलबार साँझबाट सुरु भएको बैठक बुधबार बिहान साढे ५ बजेसम्म चलेको थियो । त्यसक्रममा सरकारी अधिकारी, मजदुर प्रतिनिधि र रोजगारदाताबीच ११ पटकसम्म वार्ता भए पनि समझदारी हुन सकेको थिएन । १२औं वार्ताले बिहीबार बिहान १ बजे मतदान गर्ने निर्णय गरेको थियो ।

दक्षिण कोरियामा २७ सदस्यीय ज्याला निर्धारण समितिमा मजदुर प्रतिनिधि ९ तथा सरकारी अधिकारी र रोजगारदाताका तर्फबाट ९ प्रतिनिधि रहने व्यवस्था छ । तीमध्ये बिहीबार भएको मतदानमा मजदुर प्रतिनिधि ९ जना र कम्पनी व्यवस्थापनका तर्फबाट २ जनाले मतदान बाहिष्कार गरेका थिए भने १६ जनाले ८ दशमलव १ प्रतिशत तलबवृद्धिको पक्षमा मतदान गरेका थिए ।

कोरियन मजदुर महासंघ (केसीटीयू), प्रवासी मजदुर युनियन (एमटीयू) लगायतका मजदुर संगठनले ओईसीडीका मुख्य सदस्यमध्ये मजदुरको तलब कोरियामा सबभन्दा कम भएको उल्लेख गर्दै महँगी वृद्धि र प्रवासी, अस्थायी तथा महिला मजदुरको जीवनस्तर उकास्न ७९ प्रतिशत (प्रतिघण्टा १० हजार वन) वृद्धि गर्नुपर्ने माग गर्दै आएका छन् ।

ज्यालावृद्धिको निर्णयलाई श्रम तथा रोजगार मन्त्रालयले विभिन्न पक्षमा अध्ययन गरेर अगस्ट ५ मा स्वीकृत गर्नेछ । कोरियामा जुन २९ अगावै अर्को वर्षको तलब निर्धारण गर्ने प्रावधान भए पनि तीन पक्षको असमझदारीका कारण हरेक वर्ष मतदान हुने गरेको छ । यो वर्ष पनि सरकारले पार्क जोन सङको अध्यक्षतामा न्यूनतम ज्याला निर्धारण समिति गठन गरेको थियो ।

कोरियामा २००३ देखि प्रत्येक वर्ष मजदुरको तलबवृद्धि हुँदै आएको छ। २०१६ का लागि निर्धारण गरिएको ८.१ प्रतिशत गत वर्षभन्दा १ प्रतिशतले बढी हो। कोरियामा २००९ मा ६.१ , २०१० मा २.७५ ,२०११ मा ५.१, २०१२ मा ६, २०१३ मा ६.१ र २०१४ मा ७.१ प्रतिशत वृद्धि हुँदै आएको छ । कोरियाली मजदुर इतिहासमा सबभन्दा धेरै २००४ मा १३.१ प्रतिशत तलबवृद्धि भएको थियो ।

परिवर्तित नयाँ तलबले कोरियाका उद्योगमा कार्यरत स्वदेशी तथा विदेशीमध्ये न्यून आय भएका ५० लाख मजदुरलाई फाइदा पुग्नेछ । नेपालसहित एसियाका १५ देशका युवाको आकर्षक रोजगारी स्थल बन्दै गएको कोरियामा प्रत्येक वर्षको तलबवृद्धिले ३० हजार नेपाली कामदारलाई प्रत्यक्ष फाइदा हुनेछ ।


Published on: 10 July 2015 | Kantipur
 

Back to list

;