s

कोरियामा ७ वर्षमा ५७ नेपालीको मृत्यु

दक्षिण कोरियामा २००७ देखि हालसम्म ५७ नेपालीको मृत्यु भएको छ । सोलस्थित नेपाली दूतावासद्वारा १५ महिनाअघि गठन गरिएको अध्ययन समितिको प्रतिवेदनअनुसार कोरियामा नेपाली दूतावास स्थापना भएयता २ महिला र ५५ पुरुषको मृत्यु भएको हो । कोरियामा रहेका नेपालीको मृत्युदर बढेपछि राजदूत कमानसिंह लामाले अन्तर्राष्ट्रिय वकिल पार्क बो कीको अध्यक्षतामा ५ सदस्यीय अध्ययन समिति गठन गरेका थिए । उक्त समितिले आइतबार दूतावास सभाहलमा प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा कोरियामा नेपालीको साधारण र असाधारण मृत्यु हुने गरेको उल्लेख छ । मृत्युको कारण्ा खुलेकोलाई साधारण तथा आत्महत्या र सुतेकै अवस्थामा मृत्यु भएकालाई असाधारण मृत्युको सूचीमा राखिएको छ ।

प्रस्तुत गरिएको तथ्यांकअनुसार सुतेकै अवस्थामा मृत्यु हुनेहरूको संख्या सबैभन्दा धेरै २३  छ । त्यस्तै ७ वर्षमा १९ जनाले आत्महत्या गरेका छन् । कोरियामा नेपालीको संख्या वृद्धिसँगै मृत्युदर पनि बढेको तथ्यांकमा उल्लेख छ । वर्षका आधारमा २०१३ मा सबैभन्दा धेरै १८ नेपालीको मृत्यु भएको छ । त्यसैगरी २०१२ मा ५ जनाले आत्महत्या गरेका थिए । साधारण मृत्यु ७ वर्षमा ९ जनाको भएको उल्लेख छ ।

प्रतिवेदनमा आत्महत्या गरेकामध्ये ९० प्रतिशत डिप्रेसनको सिकार भएको उल्लेख छ । पारिवारिक झमेला, एक्लोपना, भाषा समस्या, हावापानी, रात्रिकालीन काम र भिन्न संस्कृतिका कारण्ा डिप्रेसन हुने गरेको प्रतिवेदनले औंल्याएको छ ।

अशिक्षति, वृद्ध, निम्न आय भएका कोरियाली पुरुषसँग मात्र नेपाली महिलाहरूको विवाह हुने गरेकाले उनीहरू चरम घरेलु हिंसामा रहेको प्रतिवेदनमा छ । आत्महत्या गर्ने महिलामा सीता दर्जी र गौरीमाया तामाङ छन् । दलालमार्फत कागजी विवाह गरेर आउने नेपाली महिलाहरू भिसा नवीकरण, रोजगारीमा कठिनाइ जस्ता समस्यामा पर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । कृषि क्षेत्रका रोजगारदाताले नियम पालना नगरेका कारण कृषि क्षेत्रमा कार्यरत नेपाली कामदारहरूको अवस्था कष्टकर रहेको र भाषा एवं नियम कानुनको अज्ञानताले विद्यार्थी तथा व्यवसायीहरू सम्बन्धित निकायबाट सुविधा लिनबाट वञ्चित भएको प्रतिवेदनमा उल्लेख छ ।

रोजगारीमा भाषाको भूमिका महत्त्वपूर्ण रहेकाले परीक्षा उत्तीर्ण गर्ने हिसाबले मात्र नभएर व्यावहारिक रूपले कोरियन भाषा सिक्नुपर्ने, भाषा परीक्षाबाट आवश्यक संख्या मात्र उत्तीर्ण गराउनुपर्ने र रोस्टरमा दर्ता भएकालाई पर्याप्त प्रविधिक ज्ञान दिनुपर्ने प्रतिवेदनले सुझाव दिएको छ । यस्तै कोरियामा सिकेको सीप नेपालमा सदुपयोग गर्ने वातावरण बनाउनुपर्ने सुझावसमेत प्रतिवेदनको छ ।

कोरियामा नेपालीहरूको मृत्युको कारण पत्ता लगाउने उद्देश्यले अध्ययन समिति गठन गरिएको र छिट्टै परराष्ट्र मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालयका साथै कोरियन सरकारलाई समेत बुझाउने राजदूत लामाले जानकारी दिए ।

Published on: 10 December 2013 | Kantipur

Back to list

;