s

कोरियामा सीप सिकेर नेपालमा लगानी

शालिग्राम नेपाल

चितवन, माघ १७ गते । वैदेशिक रोजगारका क्रममा १५ वर्ष दक्षिण कोरिया बसेर आएका चितवनका एक युवा उद्यमी बन्दै अन्य आठ जनालाई रोजगार दिन सफल भएका छन्।

भरतपुर–५, तोरीखेतका इभान गिरी कोरियामा मासिक तीन लाख रुपियाँ आम्दानी छाडेर नेपाल फर्किई उद्यमी बन्नुभएको हो। उहाँले भरतपुर–५ को शान्तिचोकमा उरी मम उद्योग सञ्चालन गरेर थप आठ जनालाई रोजगारी प्रदान गर्दै आउनुभएको छ। गिरीले भन्नुभयो, “हामीले स्वचालित मेसिनबाट चिकेन, बफ र भेज मम उत्पादन गरी विभिन्न डिपार्टमेन्ट स्टोर्स, रेस्टुराँ, होटल तथा क्यान्टिनमा बिक्री गर्ने गरेका छौँ। २० लाखबाट सुरु गरिएको उद्योगमा अहिले करिब एक करोड रुपियाँ लगानी पु-याएको छु।”

कोरियामा खाद्य उद्योगमा काम गरेको उल्लेख गर्दै गिरीले नेपालमै केही गर्ने उद्देश्यले पाँच वर्षअघि स्वदेश फर्किएको बताउनुभयो। गिरीले भन्नुभयो, “परिवारका सदस्यले घर फर्किए हुन्थ्यो भन्ने इच्छा व्यक्त गरिरहेका थिए। मेरो पनि नेपालमै केही गरौँ भन्ने चाहनाका कारण आज यो अवस्थामा आइपुगेको छु।”

सुरुमा गिरी दम्पतीले मात्रै उद्योग सञ्चालन गरे पनि विस्तारै लगानी थप्दै जाँदा अन्य श्रमिक पनि थपिएका हुन्। “एक वर्षअघि हामी श्रीमान्–श्रीमती भएर उद्योग सञ्चालन ग-यौँ, सुरुमै उद्योग सञ्चालन हुन्छ कि हुँदैन भन्ने ठूलो सन्देह थियो,” गिरीले भन्नुभयो, “बजारबाट राम्रो प्रतिक्रिया र माग बढ्न थालेपछि उद्योगमा लगानी बढाएसँगै कामदार पनि थप गर्दै लगेँ।”

कोरियाली प्रविधि प्रयोग गरेर अत्याधुनिक मेसिनबाट उत्पादन गरिएको मम फ्रोजन गरेर प्याकिङपछि होलसेल तथा खुद्रा बिक्री गर्दै आएको गिरीले बताउनुभयो । ममको गुणस्तरबारे सचेत भएर उत्पादन गर्दै बिक्रीवितरण गर्ने गरेको उहाँले बताउनुभयो। दैनिक पाँच हजार प्लेट मम उत्पादन गर्ने उद्योगको क्षमता रहेको उल्लेख गर्दै गिरीले अहिले दैनिक दुई हजार प्लेट मम उत्पादन गरिरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “अहिले हाम्रो ममको बजारीकरणमा खासै समस्या छैन। चितवनमा मात्रै नभएर मकवानपुर, तनहुँ र पाल्पाको रामपुरसम्म फ्रोजन मम पु-याउँदै आएका छौँ।”

गिरीले भन्नुभयो, “खाडी मुलुक जान पनि साढे एक लाख रुपियाँभन्दा बढी खर्च हुन्छ तर त्यो लगानीले यहीँ राम्रो आम्दानी गर्न सकिन्छ।” युवालाई आफूले उरी ममको डिलरसिप दिएर नेपालमै उद्यमशील बन्न प्रेरित गर्ने भन्दै उहाँले डिलरसिपसँगै तयारी ममका लागि आवश्यक सबै सामान आफूले उपलब्ध गराइदिने बताउनुभयो ।

Published on: 31 January 2023 | Gorkhapatra

Link

Back to list

;