s

कोरियामा प्रवासी कामदारलाई भाषा सबैभन्दा समस्या

देवेन्द्र सम्बाहाम्फे

इपीएसमार्फत रोजगारी गर्न कोरिया आएका प्रवासी मजदूरहरूलाई कोरियाली भाषा सबैभन्दा ठूलो समस्या हुने गरेको एक अध्ययनले देखाएको छ । ख्यङनाम माइग्रेन्ट सेन्टरले त्यस प्रदेशमा कार्यरत विभिन्न मुलुकका कामदारमाथि गरेको अध्ययनबाट कोरियामा रहँदा भाषाको कारण जीवनशैलीमा कठिनाइ परेको पाइएको हो ।
 
२०१२ को अगस्त १ देखि अक्टोबर अन्तिमसम्म १५ देशका ४ सय ४९ कामदारलाई 'दैनिक जिबनमा सबैभन्दा अप्ठ्यारो विषय के हो ?' भनेर गरिएको प्रश्नमा २६.७ प्रतिशतले भाषकि कठिनाइ रहेको बताएका छन् । भाषा नजानेकै कारण कम्पनीमा १० जनामध्ये १ जना कुटिने गरेको समेत प्रतिवेदनमा उल्लेख छ । कम्पनीमा कुटिनु भएको छ ? भनेर गरिएको प्रश्नमा १३.८ प्रतिशतले कुटाई खाएको उत्तर दिएका छन् । ती कामदारहरूले सहकर्मी कोरियाली श्रमिक, कम्पनी प्रबन्धक र साहु स्वयंले कुट्ने गरेको बताएका छन् । 'प्रवासी मजदुर जीवन २०१२' नाम दिइएको उक्त सर्वेक्षणअनुसार १५.४ प्रतिशतले आर्थिक,११.३ ले प्रतिशतले स्वास्थ्य र १०.५ ले आवास सम्बन्धी कठिनाई रहेको बताएका छन् । सर्भेक्षणमा कम्पनी सञ्चालकले कोरियाली श्रमिकलाई उच्च सम्मान र प्रवासी कामदारलाई हेय दृष्टिले हेर्ने संस्कृतिको अन्त्य हुनुपर्ने निष्कर्ष निकाल्दै यही संस्कृतिका कारण उत्पादनमा समेत ह्रास आउने गरेको उल्लेख गरेको छ ।
 
केही अघि सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा कामको स्तरबारे पनि अध्ययन गरिएको छ । जस अनुसार धुलो आउने २४.९ प्रतिशत, ध्वनि प्रदूषण भएको ठाउँमा २०.५प्रतिशत, गह्रौं वस्तु उचाल्ने ११.७ प्रतिशत र केमिकलसँग सम्बन्धित ११.२ प्रतिशत विदेशी कामदार कार्यरत रहेको उल्लेख छ । साथै ३३.२ प्रतिशत कामदारले कम्पनीबाट स्वास्थ्य परीक्षण नगरिएको र ३७.२ प्रतिशतले कम्पनीमा दुर्घटनाबाट बच्ने सुरक्षा तालिम नदिएकाले आफू जोखिममा रहेको बताएका छन् ।  कम्पनीमा मानवीय व्यवहार नभएकाले ३२.५ प्रतिशत कामदारले बहाल रहेको कम्पनी परिवर्तन गर्न चाहेको प्रतिवेदनमा उल्ल्ोख छ । एक पटक कम्पनी परिवर्तन गर्नेको संख्या ७२.८ प्रतिशत रहेको छ । उत्पादन घट्ने र सहकर्मीलाई मानसिक असर पर्ने भन्दै सरकारले गत वर्षबाट कम्पनी परिवर्तनसम्बन्धी नियम कडा बनाएको थियो । कामदारमा कम्पनी परिवर्तन गर्ने प्रवृत्ति बढ्दै गएपछि एउटै कम्पनीमा ४ वर्ष १० महिनासम्म काम गरे अर्को एक कार्यकाल काम गर्न पाउने नियमसमेत लागू भएको छ । कोरियामा विदेशी कामदारले फोहोर, खतरा र कठिन -थ्रीडी) काम गर्दै आएका छन् । सन् २००१ देखि प्रत्येक वर्ष प्रवासी मजदुरसम्बन्धी विभिन्न सर्वेक्षण गर्दै आएको माइगेन्ट सेन्टरले प्रतिवेदनको अन्त्यमा भाषा अज्ञानताले नै कामदार कुटिनु दुःखद् घटना भएको दाबी गरिएको छ । कोरिया सरकारले साना तथा मझौला उद्योगहरूमा आवश्यक पर्ने अदक्ष कामदार कोरियन भाषा दक्षताको आधारमा छनोट गर्दै आएको छ ।
 
Published on: 11 April 2013 | Kantipur
 

Back to list

;