s

कोरियामा न्यूनतम तलब ९० हजार

देवेन्द्र सम्बाहाम्फे 
 
दक्षिण कोरियाको साना तथा मझौला उद्योगमा कार्यरत स्वदेशी तथा विदेशी मजदुरका तलबमा ७.२ प्रतिशतले वृद्धि भएको छ । २०१४ बाट लागू हुने नयाँ तलबमानअनुसार मजदुरहरूले प्रतिघन्टा ५ हजार २ सय १० वन (४.५७ अमेरिकी डलर) पाउने भएका हुन् । हाल ४ हजार ८ सय ६० वन पाउँदै आएका छन् । शुक्रबार बिहान ४ बजे न्यूनतम ज्याला समितिको कार्यालय खाङनामबाट घोषणा गरिएको नया नियमअनुसार मजदुरहरूले मासिक न्यूनतम २ सय ९ घन्टा काम गरेबापत १० लाख ८८ हजार ९० वन अर्थात करिब ९० हजार रुपैयाँ -१ अमेरिकी डलरको मूल्य ९५.९४ रुपैयाँ र ११४२ वनको आधारमा) नेपाली कामदारले पाउने छन् । यहाँको रोजगार तथा श्रम मन्त्रालयले पार्क जुन सङको संयोजकत्वमा ज्याला निर्धारण समिति गठन गरेको थियो । गत जुन २१ मा पहिलो पटक बैठक बसेको समितिले जुन २७ मा ज्याला निर्धारण गरिसक्नुपर्ने भए पनि विवाद भएपछि निर्णय गर्न ढिला भएको थियो । कोरियन मजदुर महासंघ -केसीटीयू), प्रवासी मजदुर युनियन -एमटीयू) लगायत मजदुर संगठनहरूले बढ्दो महँगीका कारण जीवनयापनमा कठिनाइ भएकाले २१.६ प्रतिशत -प्रतिघन्टा ५ हजार ९ सय १० वन) वृद्धि हुनुपर्ने माग राख्दै अपि्रल महिनादेखि श्रम तथा रोजगार मन्त्रालय, श्रम विभाग र कोरिया व्यवसायी व्यवस्थापन महासंघको कार्यालयमा प्रदर्शन गर्दै आएका थिए ।
 
बिहीबार बेलुकी ७ बजेदेखि सुरु भएको २७ सदस्यीय न्यूनतम ज्याला निर्धारण समितिको बैठकमा पनि समझदारी हुन नसकेपछि मतदान प्रक्रियामार्फत तलब वृद्धि प्रतिशत निर्धारण गरिएको थियो । समितिमा मजदुर संगठनका प्रतिनिधि ९, रोजगारदाता संघका प्रतिनिधि ९ र सरकारी प्रतिनिधि ९ मध्ये २४ जना मतदानमा सहभागी भएका थिए । यीमध्ये १५ जनाले प्रतिघन्टा ५ हजार २ सय १० वनको पक्षमा मतदान गरेका थिए भने ९ जान तटस्थ रहेका थिए ।
 
कोरियामा २००३ देखि प्रत्येक वर्ष मजदुरहरूको तलब वृद्धि हुँदै आएको छ । २०१४ का लागि शुक्रबार बिहान निर्धारण गरिएको ७.२ प्रतिशत विगत ५ वर्षमै ठूलो अंक हो भने २००३ को तुलनामा दोब्बरभन्दा बढी हो । सरकारले २००९ मा ६.१, २०१० मा २.७५, २०११ मा ५.१, २०१२ मा ६ र २०१३ मा ६.१ प्रतिशत वृद्धि गरेको थियो । कोरियाली मजदुर इतिहासमा सबैभन्दा धेरै २००४ मा १३.१ प्रतिशत तलब वृद्धि भएको थियो ।
 
परिवर्तित नयाँ तलबमानले कोरियाको विभिन्न उद्योगहरूमा कार्यरत स्वदेशी तथा विदेशी २५ लाख ६५ हजार न्यून आय भएका मजदुरहरूलाई फाइदा पुग्ने छ । नेपालसहित एसियाका १५ देशका युवाहरूको आकर्षक रोजगारी स्थल बन्दै गएको कोरियामा प्रत्येक वर्षको तलब वृद्धिले १७ हजार नेपाली श्रमिक अझ उत्साहित बनेका छन् । केही समयअघि कोरिया साना तथा मझौला व्यवसायी संघ -केबिज) ले गरेको सर्भेक्षणमा कोरियन मजदुरको औसत ज्यालाभन्दा नेपाली कामदारको कमाइ १६ लाख २१ हजार वन -१४ सय ३७ डलर) अथवा ६ दशमलव ८ प्रतिशतले बढी भएको उल्लेख छ ।
 
Published on: 6 July 2013 | Kantipur

Back to list

;