s

कोरियामा नेपालीको हत्या

देवेन्द्र सम्बाहाम्फे

कोरियाको छनान आसान क्षेत्रस्थित साम्बुटेक कम्पनीमा कार्यरत झापा अनारमनीका राजेश राईको शनिबार हत्या भएको छ । राईलाई सोही कम्पनीमा कार्यरत कम्बोडियाका कामदारले धारिलो चक्कुले हत्या गरेका हुन् ।

मोटर पार्टस् उत्पादन गर्ने कम्पनीमा कार्यरत उनीहरूबीच नेपाली खानाको विषयमा विवाद हुने गरेको राईका जेठान राजकुमार बान्तवाले बताए । बान्तवाका अनुसार एउटै फ्ल्याटमा बसेका ती कम्बोडियालीले शनिबार बेलुका अन्य कम्पनीमा कार्यरत आफ्ना साथी जम्मा गरी राईमाथि सुनियोजित रूपमा आक्रमण गरेका थिए । राई ११ महिनाअघि ईपीएसमार्फत रोजगारीका लागि यहाँ आएका थिए ।

घटनास्थलबाट प्रहरीले हत्यामा संलग्न तीन कम्बोडियालीलाई पक्राउ गरेको छ । सोधपुछका लागि अनारमनीकै वसन्त बस्नेत, नुवाकोटका सूर्य तामाङ र बर्दियाका सुशील सिंहलाई नजरबन्दमा राखिएको छ । राईको शव आसानको हान्गुक अस्पतलमा राखिएको छ । हत्या छानबिनमा छनान माइग्रेन्ट सेन्टरकी गीता राईले सहयोग गरिरहेकी छन् ।

यसैबीच चार महिनाअघि पर्यटक भिसामा कोरिया आएका पाल्पा स्थायी ठेगाना भई हाल भैरहवा बस्दै आएका श्यामकुमार गैरेको आइतबार मृत्यु भएको छ । प्रहरीलाई उद्धृत गर्दै सोलस्थित नेपाली राजदूतावासले जनाएअनुसार गैरेको हृदयाघातबाट मृत्यु भएको हो । तीन महिनाका लागि पर्यटक भिसामा आएका उनी एक महिनाअघिदेखि यहाँ अवैध रूपमा बस्दै गाङनाम, हाननामसीस्थित एक कम्पनीमा कार्यरत थिए । उनको शव त्यहींको एक अस्पतालमा राखिएको छ । 

Published on: 18 February 2013 | Kantipur

Back to list

;