s

कोरियामा नेपाली कामदारले सञ्चय कोष पाउँदैनन्

देवेन्द्र सम्बाहाम्फे


रोजगार अनुमति प्रणाली -ईपीएस) मार्फत कोरिया आएका नेपाली श्रमिकहरू सञ्चय कोष पाउनबाट वञ्चित हुँदै आएका छन् । कोरिया र नेपालबीच भएका श्रम सझदारीमा यसबारे उल्लेख नगरिएकाले उनीहरूले यो सुविधा नपाएका हुन् । कामदारको न्यूनत्तम तलबमानको ४.५ प्रतिशत र रोजगारदाताले ४.५ प्रतिशत जम्मा गरी रोजगार अवधि समाप्त भएपछि ब्याजसहित एकमुष्ट पाउने नियम यहाँको सरकार बनाएको छ । नेपाली कामदारले रोजगार अवधि पूरा भएपछि बिमाबापतको रकम मात्रै पाउँदै आएका छन् । नेपाल र कोरियाबीच ईपीएससम्बन्धी समझदारी २००७ मा भएको थियो । यसपछि पटकपटक श्रम समझदारीपत्र नवीकरण भए पनि नेपाली अधिकारीले सञ्चयकोष सुविधाबारे चासो नराखेकाले नेपाली कामदारहरूले विगत ६ वर्षदेखि नियमअनुसार रकम पाएका छैनन् । यो रकम वाषिर्क ५० करोड रुपैयाँभन्दा बढी हुन आउँछ । दुई देशबीच सहमति भए यो सुविधा नेपालमा कार्यरत कोरियाली कामदारले पनि पाउने छन् । नेपालका आयोजनामा कार्यरत कोरियाली कामदारको संख्या न्यून रहेकाले यसको प्रत्यक्ष फाइदा नेपाली कामदारलाई हुने छ । सञ्चयकोषसम्बन्धी दुई देशबीच सम्झौता नभए पनि नियम थाहा पाएका सीमित कम्पनीले भने यो सुविधा दिँदै आएको केही नेपाली कामदारले बताए । दुई देशबीच अब हुने श्रम समझदारीपत्रमा यो विषय उठाउन आवश्यक भएको उनीहरूको भनाइ छ । यो नियमले पुनः प्रवेश प्रणालीको मापदण्डमा परेका नेपाली श्रमिकले अधिकतम लाभ लिन सक्ने छन् । कोरियामा नेपाली कामदारको संख्या दिनानुदिन बढ्दै गएको छ ।

मंगोलिया ,थाइलल्यान्ड, फिलिपिन्स, चीनलगायत राष्ट्रका प्रवासी मजदुरले यो सुविधा पाइरहेका छन् । नेपालसहित ४ मुलुकका मजदुर भने वञ्चित हुँदै आएका छन् । कामदारले सुविधा प्राप्त गर्ने नियम भए पनि दुई देशबीच भएको श्रम सम्झौतामा यो बुँदा उल्लेख नहुनु दुःखको विषय भएको सोलस्थित नेपाली दूतावासका श्रमसहचारी अनीलकुमार गुरुङले बताए । 'यो नियम थाहा पाएपछि हामीले यहाँको मानव संसाधन विकास -एचआरडी) कार्यालयबाट आवश्यक जानकारी लिएका थियौं,' दुई महिनाअघि कार्यभार सम्हालेका गुरुङले भने, 'यसको लागि श्रम तथा रोजगार मन्त्रालयमा पनि पत्राचार गरिसकेको छौं ।'

नेपालीलाई सम्मान

ख्यङगिदो इच्छनमा रहेको 'गि्रन केमिकल' कम्पनीमा कार्यरत ३ नेपाली पुरस्कृत भएका छन् । इमान्दार र मिहेनतसाथ श्रम गरेको भन्दै खोटाङका राजकुमार राई तथा इलामका निर्मल भट्राई र केशव चापागाईलाई कम्पनी संचालक ली ग्यू दकले सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गरे । नेपाली,चीनिया र थाई गरि ४० श्रमिक कार्यरत कम्पनीमा पुरस्कार नेपालीले मात्र पाएका हुन ्। 'नेपालीहरु इमान्दार र मिहेनति छन्' कम्पनी संचालक लीले सम्मान गर्नुको कारण बारे बताए ।

Published on: 4 January 2013 | Kantipur

Back to list

;