s

कोरियामा कमाउने सपनाको अवसान

वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाको एउटा हचुवा निर्णयका कारण शुक्रबार दुई युवकको ज्यान गएको छ।

मंसिर १९ गतेदेखि आन्दोलनरत युवामध्ये १८ जनालाई मात्रै आवेदन भर्न इपिएस शाखाले बिहीबार आह्वान गरेपछि अन्य भड्किएका थिए। भड्किएका युवाको अनियन्त्रित भिड र प्रहरीबीच झडप हुँदा दुईजनाको ज्यान गएको हो।

झडपमा ज्यान गुमाउनेमा दैलेख महाबु गाउँपालिका–६, रानीवनका २३ वर्षीय सुजन राउत र अछाम चौरपाटी गाउँपालिका–१, सिउडीका २२ वर्षीय वीरेन्द्र शाह छन्। घाइते भएका राउतको इमाडोलस्थित किस्ट अस्पतालमा मृत्यु भएको थियो।

अस्पताल पुर्‍याएको ३७ मिनेटमै उनको मृत्यु भएको अस्पतालले जनाएको छ। यस्तै झडपकै क्रममा घाइते भएका शाहको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनको घुँडामा गोली लागेको प्रहरीले जनाएको छ।

इपिएस कोरिया शाखाले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत उत्पादनमूलक क्षेत्रमा काम गर्न १५ हजार आठ सय कामदारलाई कोरिया पठाउन भाषा परीक्षाका लागि मंसिर १९ गते आवेदन मागेको थियो।

आवेदनका लागि सन् २०२३ भित्र दक्षिण कोरियाका लागि आवेदन नदिएको हुनुपर्ने मापदण्ड तोकिएको थियो। जसअनुसार यसअघि साउनमा इपिएस शाखाले नै आह्वान गरेको पानीजहाज निर्माण क्षेत्र (सिप बिल्डिङ सेक्टर) मा आवेदन दिएका झन्डै २८ हजार दक्षिण कोरिया जान चाहने युवा आवेदनका लागि अयोग्य भएका थिए।

इपिएस शाखाको यही मापदण्डले आवेदन दिनबाट वञ्चित युवा मंसिर १९ गतेदेखि आन्दोलित थिए। तीनैमध्ये सुरज पाठकसहितका १८ जना आफूले पनि आवेदन दिन पाउनुपर्ने माग राखेर इपिएस शाखा, वैदेशिक रोजगार विभाग, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयविरुद्ध रिट निवेदन बोकेर उच्च अदालत पाटन पुगेका थिए। उच्च अदालत पाटनले पुस ५ गते रिटमा प्रारम्भिक सुनुवाइ गर्दै मंसिर १९ को सूचनाबमोजिम खोलिएको ‘आवेदन फाराम भर्न रोक नलगाउनु र रिट निवेदकलाई पनि आवेदन भर्न दिनू’ भनेर विपक्षीका नाममा अन्तरिम आदेश दिएको थियो।

आक्रोशित युवाले शुक्रबार बिहानैदेखि ग्वार्कोस्थित इपिएस कोरिया शाखामा पुगेर प्रदर्शन गरिरहेका थिए। कार्यालय घेरेर सुरु भएको आन्दोलन उत्तेजित बन्दै गएपछि प्रहरीले नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गर्‍यो। त्यसपछि प्रदर्शनकारी ग्वार्को, बालकुमारी, सातदोबाटो क्षेत्रमा जम्मा भए। भिडले सार्वजनिक गाडीमा तोडफोड र ढुंगामुढा गर्न थालेपछि स्थिति थप तनावग्रस्त बन्न पुग्यो।

‘बिहान १० बजेदेखि नै तनाव सुरु भइसकेको थियो। ललितपुर प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि थप जनशक्ति परिचालन गरेका थियौं,’ काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले भने, ‘एक त नेतृत्वविहीन भिड त्यसमा पनि बेरोजगार युवा ! निकै सास्ती भयो।’

मन्त्रीको गाडीमा आगजनी र गोली!

स्थिति तनावग्रस्त बन्दै गएका बेला भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सोही बाटो भएर कोटेश्वर जान थालेका थिए। उनी कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय (नेकपा एकीकृत समाजवादी) मा आयोजित केन्द्रीय समिति बैठकमा जान लागेका थिए।

मन्त्री ज्वाला बालकुमारी क्षेत्र पुग्दा प्रदर्शनकारीले सडकमा थिए। प्रदर्शनकारीले मन्त्रीको गाडी देखेपछि रोके। प्रदर्शनकारीले मन्त्री ज्वाला र उनको टोलीलाई गाडीबाट ओरालेर टायरको हावा फुस्काउन थाले। यसैक्रममा केही प्रदर्शनकारीले गाडीमा आगो लगाएको प्रहरीले जनाएको छ। आगोले मन्त्री ज्वाला चढ्ने गरेको बा२झ ५८६१ नम्बरको गाडी पूर्णरूपमा जलेको छ।

प्रदर्शनकारीले मन्त्रीको गाडीमा आगो लगाएपछि प्रहरीले गोली चलाएको थियो। ‘अकस्मात् मन्त्रीज्यू त्यहाँ पुग्नुभयो। आन्दोलनकारीले उहाँकै गाडीमा आगो लगाउन थालेपछि भिआइपीको सुरक्षा गर्नु प्रहरीको मुख्य दायित्व हुन्छ,’ ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भने, ‘त्यसपछि नजिकै रहेको प्रहरीले गोली चलाउँदा दुखद घटना भयो।’

प्रहरीले चरणबद्ध रूपमा बल प्रयोग गर्दा पनि भिड नियन्त्रणमा नआएपछि गोली चलाउनुपरेको एआइजी थापाले बताए।

‘अश्रुग्यास, हवाईफायरले पनि भिड नियन्त्रणमा नआएपछि घुँडामुनि गोलीसम्म प्रहार गर्नुपर्ने स्थिति बनेको हो,’ उनले भने। उनका अनुसार प्रहरीले हवाईफायर र घुँडामुनि गरी १६ राउन्ड गोली प्रहार गरेको थियो।

यस्तै २२ सेल अश्रुग्यास प्रहार गरिएको थियो। यसैक्रममा भएको झडपमा राउत र शाह घाइते भएका हुन्। प्रहरीले गोली चलाएपछि भागदौड चल्दा राउतको घाइते भएको प्रहरी अनुमान छ। ‘उनी भागदौड चल्दा लडे, त्यसपछि अन्यले कुल्चिँदा छातीमा चोटपटक लागेको देखिन्छ,’ एआइजी थापाले भने, ‘तर अर्का मृतक शाहको घुँडामा गोली लागेको देखिन्छ। विस्तृतमा मेडिकल रिपोर्ट आएपछि थाहा होला।’

झडपमा प्रदर्शनकारीतर्फ अर्का एक युवक पनि घाइते भएका छन्। उनी उपचारपछि फर्किसकेको प्रहरीले जनाएको छ। प्रहरीतर्फ सातजना घाइते भएको एआइजी थापाले बताए।

यसैबीच प्रहरीले मन्त्री ज्वालाको गाडी जलाउने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने र अराजक शैलीमा सडकमा उत्रिएको आरोपमा ७३ जनालाई पक्राउ गरेको छ। ‘उनीहरूको कसुर स्क्रिनिङ भइरहेको छ। कसुरको प्रकारअनुसार केही तत्कालै छुट्न पनि सक्छन्,’ एआइजी थापाले भने।

इपिएस कोरिया शाखाको कमजोरीले अप्रिय घटना हुन पुगेको ललितपुरका प्रमुख जिल्ला अधिकारी पण्डितले बताए।

‘हुन त एउटा निकायले अर्को निकायमाथि दोषारोपण गर्ने समय होइन। तैपनि इपिएस शाखाले बुद्धिमत्ता देखाएको भए यत्रो घटना हुने थिएन,’ उनले भने, ‘उच्च अदालत पाटनले १८ जनालाई आवेदन दिन देऊ भनेपछि त्यही प्रकृतिको योग्यताका सबैलाई आवेदन देऊ भनेको बुझ्नुपर्ने हो। तर शाखाले १८ जनालाई मात्रै आवेदन दिन बोलायो।’

सबैलाई आवेदन दिन लगाएको भए यस्तो दुर्घटना नहुने उनी बताउँछन्। ‘आखिर आज (शुक्रबार) अदालतले नै सबैको आवेदन लिने आदेश दिइहाल्यो,’ पण्डितले भने।

छानबिन समिति गठन

ललितपुरको बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) लालमणि आचार्यको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाइएको हो। समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक वासु सिग्देल सदस्य छन्। समितिलाई सातदिन भित्र घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ।

घटनाको भर्त्सना

दुई युवकको ज्यान जानेगरी भएको घटनाको विपक्षी दलहरूले भत्र्सना गरेका छन्। प्रमुख प्रतिपक्षी एमालेले प्रदर्शनकारीमाथि गरिएको प्रहरी हस्तक्षेप, दमन र धरपकडको भत्सर्ना गरेको छ। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा परीक्षामा सामेल हुन पाउनुपर्ने युवाको न्यायोचित मागलाई वार्ताको माध्यमबाट अविलम्ब पूरा गर्न सरकारसँग माग गरिएको छ।

मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरिएको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि घटना हुनुमा सरकार दोषी रहेको आरोप लगाएको छ। अध्यक्ष राजेन्द्र लिङदेनले जारी गरेको विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिन गर्न माग गरिएको छ।

Published on: 2 January 2024 | Nagarik

Link

Back to list

;