s

काेरियामा देखिएको नेपाली चेलीकाे दर्दनाक दुःख

‘जिन्दगीमा केही गरेर देखाउँछु भन्ने सोच सानैदेखि थियो । तर, ‘प्लस टु’ मा विषय लागेपछि मेरो सपना सिसाजस्तै फुट्यो । आमाबुबाले सोचेजस्तो बन्न सकिनँ । मनमा वितृष्णा जाग्यो । जागिर खोज्नतिर लागें । जति भौंतारिए पनि जागिर पाइनँ । एक दिन फेसबुकमा भुलिरहेकी थिएँ, आफूसँगै  पढेकी साथीले कोरियामा खिचेका राम्रा फोटोहरु पोष्ट गरेको देखें ।

कोरियाको ‘वमन फर वमन’ मा भेटिएकी झापा घर भएकी रीता लिम्बु -नाम परिवर्तन)ले विगत सुनाउँदै भनिन्- ‘त्यस दिनदेखि मभित्र कोरियाको भुत चढ्यो । कोरियन भाषा सिक्न थालें । पहिलोपटक फेल भएँ । दोस्रोपटक पास भएँ ।’

रीतालाई हामीले सोध्यौं- ‘तपाईले फेसबुकमा देखेको तस्वीरजस्तै रहे छ त कोरिया ?’ ओठमा बनावटी हाँसो ल्याउने प्रयास गर्दै उनले भनिन्- ‘बिहान ७ बजेदेखि राति ८ बजेसम्म कोरियाको गर्मीमा घोप्टिएर साग टिप्नुपर्दाको पीडा न त फेसबुकमा राखेको फोटोमा देखियो, न त कोरियन भाषा सिक्न जाँदा नै यसबारे जानकारी गराइयो ।’ भाषा सिक्न जाँदाको समय स्मरण गर्दै रीताले थपिन् ‘सरले सधैं, कोरियाको शहर असाध्यै राम्रो छ, त्यहाँ कोरियन केटीहरु जस्तै हिरोइन बनेर हिँड्न पाइन्छ भन्दै राम्रा राम्रा कुराहरु मात्रै देखाउने काम गरे ।’ ‘नेपालबाट यहाँ पैसा कमाउन आएपछि काम त धेरै गर्नुपर्‍यो नि होइन र ?’ यो प्रश्नमा पनि रीता सहमत देखिइनन् । उनले उल्टै प्रतिप्रश्न गरिन्- ‘हुन त हो, तर कामको पनि त सीमा हुन्छ नि । जनावरलाई जस्तै गरी दैनिक १३ घण्टा लगातार घोप्टो परेर काम लगाउँदा कस्तो हालत होला ?’ नेपालबाट कोरिया आउँदा रीतालाई स्टेबेरी टिप्ने काम भनिएको थियो । तर, काम लगाइयो- साग टिप्ने । उनी आफ्नो कामको वर्णन गर्दै भन्छिन- ‘सुरुमा त कोरिया आएको खुशीमा जति पनि काम गर्न सक्थें । तर, बिहान ७ देखि राति ८ बजेसम्म लगातार घोप्टिएर काम गर्दा शरीरले धान्न सकेन । अहिले घरकी न घाटकी भएर बसेकी छु ।’ घोप्टिएर काम गर्दा ढाड र कम्मरमा समस्या आएपछि रीता एक महिना अस्पतालमा बसेर अहिले संस्थाको आश्रयमा बसेकी छिन् ।

‘वमन फर वमन’ संस्थामा रीताजस्तै अरु ७/८ जना नेपाली किशोरीहरु भेटिए । उनीहरुमध्ये धेरैको समस्या उस्तै-उस्तै थिए । संस्थामै भेटिएकी सविनाको कथा पनि उस्तै रहेछ ।

सन् २०१५ मा टन्न पैसा कमाउने सपना देखेर सविना कोरिया आइन् । उनको घरको अवस्था ठिकै थियो । उनले बीए पास गरेकी छिन् ।

सुरुमा नेपालमै केही गर्छु भनेर उनी जागिरका लागि भाैंतारिइन् । उनी ती दिनहरु सम्झँदै भन्छिन्- ‘पाईतालामा फोका उठे, तर जागिर भेटिएन । पढेपछि सबैको आफ्नै खुट्टामा उभिने चाहाना हुन्छ । तर, हाम्रा नेताहरु पद र पैसाका लालचमा डुब्दा हामीले दुःख पायौं ।

सबिना बोल्दाबोल्दै एक्कासी रुन थालिन् । केहीबेरमा अलिकति सम्हालिइन् भनिन्- ‘साथीहरुले त बाहिर गएर ठीक गरिस्, नेपालमा पढेर पनि कुनै सम्भावना छैन । फर्केर पनि के गर्छेस् ? बरु उतै बसेर कमाएर मात्र आइज भन्छन्  तर, यहाँको हालत यस्तो छ, कसलाई के भन्ने ?’ तपाईले कोरिया आएर केमा काम गर्नुभयो ? जवाफमा उनले भनिन्- ‘म कृषिमै काम गर्थें । सबै केटाहरु मात्रै थिए, म मात्र केटी । काम हेर्ने आजुमाहरु (आन्टी) हरु हुन्थे । बिहान ५ बजेदेखि राति ७ बजेसम्म घोप्टो परेर पसिना पुछ्दै साग टिप्ने काम थियो मेरो । दुई वर्ष काम गरेर च्याउ टिप्ने काममा गएँ ।’ त्यसपछि के भयो ?

‘दुःख-सुख काम गरेकै थिएँ । तर, एकदिन कम्पनीले काम भएन भनेर तीन महिनाको तलबसमेत नदिई विदा गर्‍यो’ सबिना भन्छिन्, ‘कोरियनहरुलाई मान-सम्मान बढी चाहिने, हामीले भाषा सिकेरै आए पनि कतिपय कुरा मिलाएर गर्न जानिन्न । त्यसैले गर्दा उनीहरुलाई सम्मान नगरेजस्तो मानेर एकदम रिसाउँछन् । मैले पनि काम गरुन्जेल धेरै गाली खाएँ ।’ अर्काको ठाउँमा कहाँ जाने, कहाँ बस्ने ? कामबाट निकालिएपछि सबिना केही दिन अलपत्र परिन् । विस्तारै साथीहरुको सहयोगमा उनी संस्थाको शरणमा आइपुगिन् । अहिले उनले ढाड, कम्मर दुख्ने समस्या भएपछि संस्थाकै सहयोगमा उपचार गरेर औषधि खाइरहेकी छन् ।

संस्थामा बस्ने सबैको यस्तै-यस्तै समस्या रहेछ । हामीले कुरा गरिरहँदा खाटमा सुतेर हाम्रो कुरा सुनिरहेकी एक जनालाई सोधियो- तपाईलाई सञ्चो छैन ? उनी एक्कासी भक्कानिन् । छेउकै साथीले भनिन्- वहाँलाई थाईराईड क्यान्सर भएको छ ।

नाम सरिता, घर परासी । उनी कोरिया पुगेको २ वर्ष भएछ ।

काम सबैको जस्तै नै हो, असाध्यै गाह्रो । काम गर्दागर्दै घाँटीमा के अडि्कएको जस्तो हुन्थ्यो । निल्न गाह्रो । जँचाउन जानलाई छुट्टी माग्दा साहुले कहिल्यै नदिने । उनी घर सम्झेर धेरै रुन्थिन् । तर, के गर्नु ? इपीएसका नाममा कोरिया सरकारले नेपाली चेलीहरुलाई किनेर दास बनाउन ल्याउने पो रै’छ भन्ने उनले निश्कर्ष निकालिन् । न भोक लागेका बेला खान पाउनुु छ । न समयमा सुत्न नै पाउनु छ । ऐया-आत्था भनेर दुःख कहाँ, कसलाई पोख्ने ?

नेहा शर्मा

सरिताले पनि नेपालमा रहँदा १२ बीए पास गरेकी रहिछन् । तर, नेपालमा कामका लागि भौंतारिनुसम्म भाैंतारिएपछि कुनै सीप नलागेर उनी कोरिया पुगिछन् ।

‘अलिअलि गाह्रो हुँदै जचाउन जान पाएको भए सायद यस्तो हुने थिएन । अब क्यान्सर बोकेर कसरी नेपाल फर्किनु ? उनले रुँदै भनिन्, ‘हेराैं, उपचार यतै गर्छु, बाँचिएछ भने ठिकै छ, नत्र … ।’ यति भनिनसक्दै उनको आवाज घाँटीमै अडकियो ।

कोरियामा इपीएसबाट आएका धेरै नेपालीहरुले राम्रो काम गरेर टन्न पैसा कमाएका पनि होलान् । इपीएसबाट कोरिया जानेले दुख मात्रै पाउँछन् भन्ने पनि होइन, तर नेपालमै केही गर्छु भन्नेहरुका लागि रोजगारीको उपयुक्त माध्यम नहुँदा धेरै युवायुवतीले विदेश विभिन्नखालका समस्या झेल्न बाध्य हुनुपरेको प्रमाण हुन् यी घटना ।

विद्यार्थी भिसादेखि बिजनेस भिसासम्म

अनौपचारिक तथ्यांक अनुसार कोरियामा ३५ हजार इपीएसबाट आएका नेपाली कामदारहरु कार्यरत छन् । यीमध्ये १५ प्रतिशत महिला छन् । त्यसैगरी विद्यार्थी भिसामा रहेका नेपालीको संख्या करिब ३ हजार रहेको छ । यसमा पीएचडी र स्नातकोत्तर तहमा पढ्ने बढी छन् । यसमा पनि करिब २५ प्रतिशत महिला रहेका छन् ।

इपीएसबाट गएका मध्ये वैधानिक रहेकाको मात्र रेकर्ड हुने भएकाले समग्रमा अवैधानिक रुपमा बस्ने नेपाली कति छन् भन्न नसकिने  दूताबासका अधिकारी बताउँछन्  त्यसैगरी करिब ३ हजारकै हाराहारीमा बिजनेस भिसामा कोरिया बसेका नेपाली छन् । इपीएसबाट कोरिया पुग्नेमध्ये तीन प्रतिशत भने अवैधानिकरुपमा बसोवास गरिरहेका छन् । इपीएसबाट गएका मध्ये वैधानिक भिसामा रहेकाको मात्र रेकर्ड हुने भएकाले समग्रमा अवैधानिक रुपमा बस्ने नेपाली कति छन् भन्न सक्ने अवस्था नरहेको दूताबासका अधिकारीहरु बताउँछन् । कोरियाका लागि नेपालका राजदुत अर्जुनजंग बहादुर सिंहका अनुसार अवैधानिक रुपमा कोरियामा बस्ने नेपालीको संख्या यो वर्ष बढ्ने आशंका छ । कोरियामा पुगेर विभिन्न समस्या झेल्न बाध्य नेपालीहरु बढी मात्रामा मानसिक तनाव, एन्जाईटी र डिप्रेसन जस्ता समस्यामा पर्ने भएकाले अन्य देशभन्दा कोरियामा आत्महत्या गर्ने नेपालीको संख्या बढी रहेको राजदूत सिंहको विश्लेषण छ । बढीजसो नेपालमा काम नगरी जीवनयापन गरिरहेका मध्यम वर्गका युवाहरु इपीएस पास गरेर कोरिया आउने गरेको र उनीहरु काममा खट्न अभ्यस्त नभएको राजदूत सिंहको विश्लेषण छ ।

सन् २००७ देखि २०१८ सम्मको रेकर्ड हेर्दा कोरियामा १४८ जनाको मृत्यु भएको छ । उनीहरुको मृत्युको कारण आत्महत्या औद्योगिक दुर्घटना एवं सुतेकै अवस्थामा निधन हुने गरेको छ ।

हामीले कोरियामा अनेकौं भुक्तमान भोगिरहेका नेपाली चेलीहरुका कथा सुनिसकेपछि यहाँ कार्यरत राजदूत एवं सामाजिक कार्यकर्ताहरुलाई नेपालीका समस्याबारे चासो राख्यौं । ‘कोरिया आउने नेपाली मध्यम वर्ग बढी छन्’

अर्जुन जंगबहादुर सिंह, कोरियाका लागि नेपाली राजदूत कोरियामा इपीएसबाट भाषा पास गरेर आउने नेपालीहरुको चाप बढ्दो छ । तर, हालसम्म लेबर टाइपका दक्ष कामदार आउन सकेका छैनन् । पढेलेखेका र मध्यमवर्गका युवाहरुले सजिलै भाषा परीक्षा पास गर्ने हुनाले कोरियामा उनीहरुकै बाहुल्य छ । नेपालीमा काम गरेर खाने बानी छैन । खाएको थालसमेत नमाझेका मानिसहरु यहाँ आइसकेपछि उनीहरुमा काम गर्न नसक्ने, खिन्नता आउने र आलस्य बढ्ने गरेको पाइन्छ ।

राजदूत अर्जुन जंगबहादुर सिंह महिलाहरु बढी मात्रामा कृषिमा आधारित काममा आउँछन् । कृषिको काम मौसम अनुसार मात्रै हुन्छ । कोरियामा रहेका साना कृषकहरुले सानो बारीमा काम गर्नका लागि दुईजना विदेशी झिकाउँछन् र आफूसमेत कामदारसँगै बारीमा काम गर्छन् । यस्ता कृषकहरुको खेती कहिले फाइदामा त कहिले घाटामा जान्छ । त्यसपछि उनीहरुले कामदारलाई वीचैमा निकाल्छन्, जसले गर्दा कृषिमा काम गर्नेहरु बढी मात्रामा समस्यामा परेको देखिन्छ ।

बुवाआमाले कमाइदिएको पैसामा सौखले खाने बानी परेकाले उनीहरु कोरिया आएपछि खटेर काम गर्न सक्दैनन् । यसले गर्दा उनीहरु मानसिक तनाव, डिप्रेसन जस्ता समस्यामा पर्छन् । यसले गर्दा पछिल्लो समय आत्महत्या गर्ने नेपालीको संख्या पनि बढ्दो छ । मानसिक असन्तुलनमा परेका धेरै नेपालीलाई दुतावासको सहयोगमा नेपाल फर्काएका घटना पनि छन् । ईपीएसबाट कोरिया आउने महिला कामदारहरुमा अधिकांश अविवाहित र पढेलेखेका हुने हुनाले उनीहरुले एक्लोपनको महसुस बढी गर्छन् । काम गर्ने कम्पनीमा आफूसरहको साथी नभेटिने र काममा बिहानदेखि साँझसम्म खटिनुपर्ने वित्तिकै उनीहरु कम्पनी छाडेर आफ्नो साथी भएकोतिर जाने गर्छन् । मायाप्रेममा परेर केटासाथी भएतिर जान खोज्ने कारणले गर्दा पनि महिलाहरु बढी समस्यामा पर्ने गरेका छन् । नेपाली दुतावासले कोरियामा भएका स्थानीय संघ संस्थाहरुको समन्वयमा अप्ठ्यारोमा परेका दिदीबहिनीहरुलाई कम्पनीबाट बाँकी पैसा असुल गरिदिनेदेखि अन्यत्र काम खोज्न पहल गरिदिने तथा बिरामी परे उपचारका लागि पहल गरिदिनेसम्म कामहरु गरिरहेको छ । यद्यपि इपीएसबाट आउने कामदारले दुःख पाएर दुतावासमा उजुरी गर्न आएको भने अहिलेसम्म खासै पाइएको छैन । कामबाट निकालिदिने समस्या बढेको छः पदमा श्रेष्ठ

कोरियामा विवाहका नाममा आएका नेपाली दिदीबहिनी हुन् वा अन्य भिसामा आउनेहरु हुन्, उनीहरुले दुःख पाउने क्रम बढ्दै गएपछि कोरियामा नै काम गरेर बसेका दिदीबहिनीहरुले सन् २०१० मा वमन फर वमनको स्थापना गरेका हुन् । यो संस्थाले नेपाली महिलाको अधिकारका लागि काम गरिरहेको वमन फर वमन नामक संस्थाकी अध्यक्ष पदमा श्रेष्ठ बताउँछिन् । ‘हाल वमन फर वमनले विभिन्नखालका हिंसा, दुर्व्यवहार तथा समस्यामा परेका दिदीबहिनीहरुलाई सेल्टरमा राखेर तीन महिनासम्म निःशुल्क खाने, बस्ने व्यवस्था गरेको छ’ श्रेष्ठ भन्छिन्, ‘यो संस्थाले दुःखमा परेकाहरुलाई कानुनी सहायता प्रदान गर्नुको साथै काम खोजिदिने, औषधि उपचार गराइदिने लगायतका सेवा दिँदै आएको छ ।’ नेपाली महिलाहरुलाई कम्पनीमा काम लगाउने, तर तोकिएजति पैसा नदिने गरिएको श्रेष्ठको गुनासो छ । उनी भन्छिन् ‘नेपालबाट एउटा काम भनेर आयो, यता अर्कै दुःखको काम गर्नुपर्ने बाध्यता छ । काम गर्दागर्दै वीचमै कम्पनी घाटामा गयो भनेर कामबाट निकालिदिने जस्ता समस्या बढी देखिने गरेका छन् ।’ आफूले काम गरेको कम्पनी बन्द हुने स्थितिमा दुई महिना कटाए थेजिकम (काम छाड्नेबेलामा दिनुपर्ने अतिरिक्त रकम ) दिनुपर्ने भए पनि २ महिना पहिल्यै कामबाट निकादिने समस्या बढिरहेको श्रेष्ठ बताउँछिन् । केही वर्ष पहिला औसतमा १० जना जस्तो पीडितहरु संस्थाको सेल्टरमा आउने गरेकोमा हाल १५ देखि २० जनासम्मले संस्थामा आश्रय लिइरहेको उनले बताइन् ।

घरेलु काममा समेत खटाउँदा दासताको शिकारः हानकक कोरियास्थित माइग्रेन्ट वर्कस अफ ह्युमन राइट सेन्टरकी संस्थापक हानकक युवमको भनाइ अनुसार कोरियामा कार्यरत नेपालीमध्ये पुरुषभन्दा महिला बढी समस्यामा पर्ने गरेका छन् । उनका अनुसार सन् १९९६ तिर कोरियाका मानिसहरु घरेलु कामदारका रुपमा अन्य देशमा जाने गर्थे । अहिले अरु देशका कामदारहरु कोरिया आउँछन् । कोरियनहरु चीनमा कामका लागि स्थानान्तरण हुन थालेपछि कोरियन सरकारले एसियन देशहरुबाट ग्रामीण भेगमा कृषिमा काम गर्नका लागि कामदार मगाउन थालेको हानककको विश्लेषण छ । हानकक भन्छिन्- ‘सुरुमा कृषिसम्वन्धी काममा लगाइन्थ्यो । तर, कृषिमा दिउँसो मात्र बढी काम हुने भएकाले कतिपय अवस्थामा मालिकले व्यक्तिगत घरायसी काममा समेत लगाउने गरेकाले यसबाट यौन हिंसाका घटना बढ्न थालेपछि यसले दासता निम्त्यायो भनेर विभिन्न संस्थाले आवाज उठाएको पाइन्छ । कोरियन सरकारले यही आरोपबाट बच्न इपीएस सिस्टम मार्फत विदेशी कामदारहरु भित्र्याउन थालेको उनी बताउँछिन् । खटिएर काम गर्ने बानी नहुँदा समस्याः जुनु गुरुङ

गैरआवासीय नेपाली संघ (एनआरएन) की केन्द्रीय महिला उपसंयोजक जुनु गुरुङ कोरियामा नेपाली महिलाको अवस्थामा हिजोभन्दा सकारात्मक परिवर्तन भएको बताउँछिन् । कामदारका रुपमा आउनेहरुले विभिन्न समस्याहरु झेल्नुपरे पनि विगतमा जस्तो बिहेका नाममा आउने महिलाहरुले भोग्नुपर्ने शारीरिक, मानसिक हिंसा तथा दुर्व्यवहारका घटना अहिले लगभग बन्द जस्तै भएको गुरुङ्ग बताउँछिन् । नेपालमा पढेलेखेका र राम्रो घरखान्दानका महिलाहरु काम नपाएपछि इपीएसबाट कोरिया आउने र यहाँ धेरै दुःख गर्न नसकेपछि मानसिक तथा शारीरिक रोगी हुने गरेको गुरुङको तर्क छ । ‘कोरियनहरु आफू पनि रात दिन नभनी काम गर्छन् र अरुलाई पनि त्यसरी नै खटाउँछन्,’ जुनु भन्छिन्- ‘यसले गर्दा सुखमा हुर्किएका नेपाली दिदीबहिनीहरु बढी मात्रामा समस्यामा पर्ने गरेका छन् ।’ वमन फर वमनकी पूर्वअध्यक्षसमेत रहेकी गुरुङ भन्छिन्- नेपालमा मास्टर डीग्री गरेकाहरु समेत काम नपाएपछि इपीएसबाट यहाँ आउँछन् । उनीहरुको आकांक्षा ठूलो हुन्छ । तर, यहाँ आइसकेपछि मजदुरी नगरी पैसा पाइँदैन । खटिएर काम गर्ने बानी नहुँदा पनि उनीहरुमा बढी समस्या देखिने गरेको

Published: 11 November 2018 | Onlinekhabar

Back to list

;