s

कोरियामा कोरोना भाइरसको संक्रमण बढेपछि नेपाली समुदाय त्रसित

प्रशान्त लामिछाने

काठमाडौं - कोभिड–१९ भनिने कोरोना भाइरसको संक्रमण बढेपछि दक्षिण कोरियामा रहेका नेपालीहरुमा त्रास छाएको छ। पछिल्लो हप्ता कोरियामा कोरोनाको संक्रमणदर बढेको समाचार संस्था एएफपीले बताएको छ। कामको सिलशिलामा दक्षिण कोरियामा करिव ५० हजार नेपाली रहेका छन्। सिओलदेखि ३ सय किलोमिटर दक्षिणको थेगु सहरमा कोरोना भाइरस पुष्टि भएका व्यक्तिको संख्या दुई गुना भएपछि नेपाली समुदाय त्रसित रहेको नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका अध्यक्ष रन्जनराज कुँवरले बताए। 'थेगु र आसपासमा मात्र करिव ७ हजार नेपाली छन्', उनले भने, 'संक्रमणदर एक्कासी बढेपछि त्रास फैलिएको छ।'

समाचार एजेन्सी एएफपीका अनुसार शुक्रवारसम्म २०४ व्यक्तिमा भाइरसको सङ्क्रमण पुष्टि भएकोमा थप २२९ जनामा भाइरसको सङ्क्रमण भएको छ। न्यूयोर्क टाइम्सका अनुसार आइतबार विहानसम्म ५५६ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ। थेगु नजिकैको सहर छाङदो थेनाम अस्पतालमा दुई र अन्य स्थानमा गरेर ४ जनाको मृत्यु भइसकेको छ भने १९ जना उपचारपछि घर फर्केका छन्। संक्रमित हुनेहरु आधा भन्दा बढी थेगुको सिन्चेन्जी चर्चका सदस्य र उनीहरुका आफन्त रहेका छन्।

कोरियाको सुवानमा रहेका अमृत लामिछानेका अनुसार अति व्यस्त हुने ठाउँहरु यतिबेला सुनसान छन्। नेपालीको जमघट हुने ठाउँहरु पनि अहिले शून्यप्राय रहेको उनले बताए। पर्यटकहरुले चहलपहल हुने सिओलको म्याउँदोङमा अहिले सुनसान जस्तै छ। रेष्टुरेन्ट तथा पसलहरु पनि फाट्टफुट्ट मात्रै खुलेको देख्न सकिन्छ।

कोरियामा विद्यावारिधी गरिरहेकी कमला केसीका अनुसार सपिङ मल, ट्रेन स्टेसन पनि सुनसान जस्तै रहेका छन्। होटल तथा विमानस्थलमा उच्च सतर्कता अपनाइएको छ। विमानस्थल, होटल, सपिङ मलहरुमा प्रवेश गर्दा शरिरको तापक्रम दिनु अहिले कोरियमा अनिवार्य बनेको उनले बताइन्। होटलमा बस्नेहरुलाई बाहिरबाट भित्र प्रवेश गर्दा अनिवार्य तापक्रम लिने र शंका लागेमा उपचारमा पठाउने गरिएको छ।

कम्पनीहरुले थेगुमा कामदारहरुलाई सतर्क बनाएका छन्। कम्पनीले कामदारलाई बाहिर निस्कँदा सचेत रहन भनेको छ। थेगु महानगरपालिकाले त्यहाँ रहेका नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट बच्न सचेत गराएको अध्यक्ष कुँवरले बताए। संक्रमणको डरले हिँडडुल मा कमी आएको छ। नेपालीहरुको जमघट हुने दोङदेमुन क्षेत्रमा नेपालीहरुको चहलपहल निकै कमि रहेको कुँवरले बताए।

कोरियाका स्वास्थ्य उपमन्त्री किम गाङ–लिपले कोरोनाभाइरस प्रकोप ‘गम्भीर अवस्थामा’ प्रवेश गरेको टिप्पणी गरेका छन्। अधिकांश नयाँ बिरामीहरूको सम्बन्ध एउटा अस्पताल र पूर्वोत्तर सहर डाएगुसँग रहेको छ। चेओङ्डोलाई ‘विशेष निगरानी क्षेत्र’ घोषणा गरिएको छ।

समाचार एजेन्सी एएफीका अनुसार चीनमा अहिलेसम्म ७६ हजार २८८ जनामा सङ्क्रमण पुष्टि भएको र दुई हजार ३४५ जनाको मृत्यु भएको छ। चीनबाहिर २८ देशमा १५ सय जनाभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने शनिबारसम्म आठ जनाको मृत्यु भएको छ। शनिबार मात्रै दुई नयाँ देश लेवनान र इजरायलमा पनि कोरोना भाइरसका विरामी भेटिएका छन्।

ईपीएसबाट कोरिया आएकाको भिसा ५० दिन थपिने

कोरोना भाइरसको संक्रमण बढेपछि कोरियाले भिसामा नयाँ व्यवस्था गरेको छ। भिसा अवधि सकिएर घर फर्कन लागेका कामदारलाई थप ५० दिन बस्न अनुमति दिने नयाँ नियम ल्याइएको हो। कोरियाको न्याय मन्त्रालयले कामदारको रुपमा आएकाहरुको भिसा थप गर्ने शुक्रबार निर्णय गरेको हो। कोरोनाका कारण अहिले ईपीएसबाट कोरिया आउनु पर्ने कामदार आएका छैनन्। भिसा थप्न चाहनेहरुले अनलाईन वा अध्यागमन कार्यालयबाट सुविधा लिन सक्ने न्याय मन्त्रालयले जनाएको छ।

विरामीको कानुनी हैसियत नसोधिने, ग्रैह कानुनीलाई स्वदेश नफर्काइने

नेपाली दूतावास दक्षिण कोरियाले नेपालीहरुलाई सचेत हुन आग्रह गरेको छ। एक विज्ञप्ति प्रकाशित गर्दै कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएकोले अझ बढि सजग र सचेत हुन भनेको छ। कार्यावाहक राजदूत रामसिंह थापाका अनुसार कोरोना भाइरसको संक्रमणको शंका लागेमा अवैधानिक रुपमा कोरियामा रहेकाहरु समेतले सार्वजनिक स्वास्थ्य संस्थाहरुमा परिक्षण र उपचार गराउन सक्ने छन्। कोरियाको अध्यागमन विभागले उपचारको क्रममा पक्राउ नगर्ने, स्वदेश नफर्काउने तथा विरामीको कानुनी हैसियतबारे नसोध्न समेत अस्पताललाई निर्देशन दिएको छ। यसबारे नेपाली दूतावास कोरियालाई अध्यागमन विभागले माघ १५ गते लिखित पत्र समेत पठाएको छ।

Published on: 23 February 2020 | Nagarik

Link

Back to list

;