s

कोरियामा अवैधानिक कामदारलाई कडा नियम

देवेन्द्र सम्बाहाम्फे

सरकारले अवैधानिक प्रवासी मजदुरहरूका लागि नयाँ नियम लागू गरेको छ । नयाँ नियमअनुसार लुकीछिपी बसेका अवैधानिक कामदार ससम्मान स्वदेश फिर्ता नभए कडा सजाय दिइने छ । पछिल्लो समय अवैधानिक  कामदारबाट हिंसात्मक गतिविधि बढ्दै गएपछि यहाँको अध्यागमन विभागले उनीहरूलाई नियन्त्रण गर्न नयाँ नियम ल्याएको हो । विभागले अवैधानिक कामदार भएको कम्पनी अवलोकन गर्न साना तथा मझौला उद्योगहरूलाई पूर्वसूचना दिइने जनाएको छ  । त्यस्ता उद्योगमा अवैधानिक कामदार प्रयोग गरेको पाइए रोजगारदातालाई २ करोड वन -१८ हजार १० अमेरिकी डलर) अथवा तीन वर्षसम्म जेल सजाय दिइने विभागले विज्ञप्तिमा बताएको छ ।

ग्ौरकानुनी रूपमा बसेका प्रवासीका कारण वैधानिक कामदारलाई समेत समस्या भएको भन्दै विभागले शुक्रबारबाट नयाँ नियम ल्याएको हो । विभागका अनुसार मुख्य गरी अवैधानिक कामदारले काम गर्ने साना तथा घरेलु उत्पादन कम्पनीमा त्यस्ता कामदारलाई खोजीखोजी पक्राउ गरिने छ । अध्यागमन सेवा विभागको तथ्यांकमा हाल १ लाख ७६ हजार प्रवासी कामदार अवैधानिक छन् । यो संख्या गत वर्षको तुलनामा ५ दशमलव १ प्रतिशतले वृद्धि भएको हो । यीमध्ये ३७ प्रतिशत ईपीएसमार्फत आएका छन् । नेपाली अवैधानिक कामदारको संख्या ६ प्रतिशत छ ।

सरकारले अवैधानिक कामदारको संख्या कम गर्न यसै वर्षदेखि एउटै कम्पनीमा लगातार ४ वर्ष १० महिना काम गरेको मजदुरले अर्को एक कार्यकाल काम गर्न सक्ने र कम्पनी परिवर्तन गरेकाहरूलाई स्वदेश फर्केर विशेष भाषा परीक्षामार्फत पुनः कोरिया प्रवेश हुन सक्ने नियम बनाएको छ । यसअघि अध्यागमन विभागका कर्मचारीले सूचनाबिनै कम्पनीमा छापा मार्ने गर्थे ।

पुरानो नियमले मजदुरहरूको मानव अधिकार हनन भएको भन्दै विभिन्न मजदुर संगठनले विरोध जनाउँदै आएका थिए । यसरी छड्के अनुगमन गर्दा विगत पाँच वर्षमा भाग्ने क्रममा र हृदयाघात भएर १ सय ५५ जना आप्रवाशी कामदारको मृत्यु भएको अध्यागमन विभागले जनाएको छ । धरपकडकै क्रममा गत नोभेेम्बरमा इन्डोनेसियाली कामदारको मृत्यु भएको थियो । परिवर्तित कडा नियमले अवैध रूपमा बसेका नेपालीमा त्रास फैलिएको पाँच वर्षदेखि अवैधानिक रूपमा बसेका एक नेपालीले फोनमा बताए ।

Published on: 18 March 2013 | Kantipur

Back to list

;