s

कोरियामा ५२ घण्टा भन्दा बढी काम गर्न नपाइने नियम ल्याइंदै

कोरियामा कार्यरत स्वदेशी तथा प्रवासी मजदुरको लागि नयाँ नियम लागू हुने भएको छ । परिवर्तित नियम अनुसार साना तथा मझौला कम्पनीहरुमा कार्यरत मजदुरहरुले हप्तामा ५२ घण्टा भन्दा धेरै काम गर्न नपाउने भएका छन् । यसभन्दा पहिला हप्तामा ६८ घण्टासम्म काम गर्न पाउने नियम थियो ।
 
हप्तामा ४० घण्टा बेसिक काम गर्ने समायावधि हो भने अब कामदारहरुले नयाँ नियम अनुसार हप्तामा १२ घण्टा मात्र अतिरिक्त काम गर्न पाउने भएका छन् । विचाराधीन अवस्थामा रहेको कोरियाली श्रम तथा वातावरण मन्त्रालयको विधेयक मंगलबार त्यहाँको राष्ट्रिय सभाबाट पारित भएसँगै मजदुरको काम गर्ने समयावधि घटेको बताइएको छ ।
 
परिवर्तित नियम ३ सय जना भन्दा धेरै कामदार रहेको कम्पनीमा आगामीे जुलाईदेखि लागू हुने छ भने ५० देखि २ सय ९९ जना सम्म कामदार भएको कम्पनीमा सन् २०२१ देखि लागू हुनेछ । त्यस्तै ५० जना भन्दा कम कामदार भएको कम्पनीमा भने यो नियम २०२२ देखि मात्र लागू गर्न रोजगारदाताहरु राजी भएको कोरियाको श्रम मन्त्रालयले बताएको छ ।
 
कम्पनीमा कार्यरत मजदुरको जीवनस्तर उकास्न तथा कम्पनीहरुलाई पर्न जाने अतिरिक्त आर्थिक भारलाइ कम गर्न उक्त नियम लागू गरेको बताइएको छ ।
 
Published on: 1 March 2018 | Madhyanha

Back to list

;