s

कोरियामा ३४ हजार नेपाली कामदार

- देवेन्द्र सम्बाहाम्फे , सोल
रोजगार अनुमति प्रणाली (ईपीएस) बाट मजदुरी गर्न दक्षिण कोरिया आउने नेपाली कामदारको संख्या ३४ हजार पुगेको छ । सन् २००८ देखि २०१५ को डिसेम्बर अन्तिमसम्ममा ३४ हजार ३ सय १९ नेपाली कामदार कोरिया भित्रिएका हुन् । नेपाली कामदार वर्षका आधारमा २००८ मा २ हजार ८ सय १४, २००९ मा १ हजार ९ सय ११, २०१० मा २ हजार ३ सय ३९, २०११ मा ३ हजार ९ सय ८३, २०१२ मा ६ हजार ३ सय ३२, २०१३ मा ५ हजार ४६, २०१४ मा ६ हजार २८ र २०१५ मा ५ हजार ८ सय ६६ प्रवेश गरेका छन् । 
यस आधारमा सबैभन्दा धेरै नेपाली युवा २०१२ मा ३ सय ९५ महिलासहित ६ हजार ३ सय ३२ कोरिया भित्रिएका थिए । सन् २००७ को जुलाई २३ मा नेपाल र कोरियाका श्रम मन्त्रीहरूले दुई पक्षीय हस्ताक्षर गरेपछि नेपाली कामदार कोरिया आउन थालेका हुन् । कामदार छनोट गर्न भने यहाँको मानव विकास सेवा (एचआरडी) ले कोरियन भाषा परीक्षा लिने गर्दछ ।
 
एचआरडीले नेपालमा हालसम्म ६ पटक कोरियन भाषा परीक्षा सञ्चालन गरेको छ । ती परीक्षामा २ लाख ६३ हजार ८ सय ३९ जनाले परीक्षा दिएका थिए भने ४६ हजार ८ सय ४८ उत्तीर्ण भएका थिए । उनीहरूमध्ये ३४ हजारभन्दा बढी कोरियाको साना तथा मझौला उद्योगहरूमा रोजगारी गर्न आएका हुन् ।
 
नेपाली कामदार सबैभन्दा धेरै औद्योगिक उत्पादन क्षेत्रमा कार्यरत रहेको एचआरडी तथ्यांकमा उल्लेख छ । यो क्षेत्रमा ८०.१४ प्रतिशत अर्थात् २७ हजार ५ सय ४ आएका हुन् । त्यस्तै, कृषि तथा पशुपालन क्षेत्रमा ६ हजार २ सय ८५, मत्स्यपालनमा ४ सय ८५ र सेवा क्षेत्रमा ४५ जना प्रवेश गरेको आँकडामा उल्लेख छ । नेपाली कामदारमा पुरुषको संख्या धेरै र महिलाको संख्या थेरै रहेको छ । तथ्यांकअनुसार ३१ हजार ७ सय ७१ पुरुष रहेका छन् । महिलाको संख्या भने २ हजार १ सय ८९ मात्र रहेको छ । हालसम्म ईपीएसबाट कोरिया आउने विदेशी कामदारको संख्या २ लाख ७६ हजार ६ सय ७ रहेको छ ।
औसतमा विदेशी महिला कामदारको संख्या ८ प्रतिशत रहे पनि नेपाली महिला कामदारको प्रवेश ६.३ प्रतिशत मात्र देखिएको छ । नेपाली महिला सबैभन्दा धेरै २०१४ मा ४ सय ४१ आएका छन् । महिला कामदारको माग औद्योगिक उत्पादन क्षेत्रमा कम र कृषि क्षेत्रमा बढी महिला बढी हुने गरेको छ ।
 
सोलस्थित नेपाली राजदूतावका श्रम सहचारी अनिल गुरुङका अनुसार कोरिया प्रवेश गरेका नेपाली कामदारमध्ये करिब ५ हजार जना कार्य अवधि सकेर नेपाल फर्किएका छन् । कोरिया सरकारले प्रवासी कामदार पुन: प्रवेश गर्न पाउने नीति बनाएपछि नेपाली कामदारको संख्या पनि बढेको हो । नेपाली कामदारहरू मिहिनेती, लगनशील र इमानदार भएकाले रोजगारदाताको रोजाइमा पर्ने गरेको गुरुङले जानकारी दिए ।
 
Published on: 29 January 2016 | Kantipur

Back to list

;