s

कोरियामा १९ सय अवैधानिक

देवेन्द्र सम्बाहाम्फे

दक्षिण कोरियामा रहेका अवैधानिक प्रवासी नागरिकमध्ये नेपालीको संख्या अनुमानभन्दा न्यून रहेको पाइएको छ । यहाँको अध्यागमन विभागका अनुसार १ हजार ९ सय ८७ नेपाली मात्र अवैधानिक छन् । अन्य देशका तुलनामा यो निकै कम हो ।

कोरियामा १४ लाख ७० हजार ८ सय ७३ प्रवासी छन् । तीमध्ये १२.२ प्रतिशत अर्थात् १ लाख ७९ हजार ८ सय ४६ अवैधानिक छन् । यो संख्या गत वर्षभन्दा ४.५ प्रतिशत बढी हो । ईपीएसमार्फत रोजगारीमा आएका अदक्ष कामदारमा ५४ हजार ९ सय ५१ अवैधानिक छन् ।

मजदुर मात्र होइन, विभिन्न देशबाट व्यापारी, विद्यार्थी, प्राध्यापक, वैवाहिक भिसा, प्राविधिक, शिक्षक, विशेषज्ञ, पर्यटक, कलाकार, खेलाडी, सामाजिक कार्यकर्ता, धार्मिक गुरु बनेर आएकासमेत अवैध रूपमा बस्ने गरेका छन् । जसमध्ये पानी जहाजमा काम गर्ने भिसामा आएका ४ हजार ७८ अवैधानिक छन् । त्यसरी नै पर्यटक ५ हजार ७ सय ८६, कुक २ हजार १ सय ९३, सांस्कृतिक भिसाका १ हजार ४ सय २९, शिक्षक ८०, विशेषज्ञ २१ प्राध्यापक १७ ,अनुसन्धानकर्ता १३, प्राविधिक ३, अवैधानिक छन् ।

सबैभन्दा अवैधानिक देखिएका चिनियाँको संख्या ६९ हजार ७ सय ७३ छ । त्यसपछि क्रमशः भियतनामी २६ हजार ५ सय १०, थाई १८ हजार ३ सय ४५, फिलिपिनो १३ हजार ६ सय ५२, मंगोलियाली ८ हजार ६ सय ३३, इन्डोनेसियाली ६ हजार २ सय ९ लगायत छन् ।

कोरियाले ईपीएस्ामार्फत एसियाका १५ देशबाट अदक्ष कामदार आपूर्ति गर्दै आएको छ । कोरियामा बेलायत, अमेरिका, जापान, क्यानडा, न्युजिल्यान्ड, अस्ट्रेलिया जस्ता विकसित र सम्पन्न मुलुकका नागरिक समेत अवैधानिक हुने गरेका छन् । ती मुलुकमध्ये सबैभन्दा अग्रपंक्तिमा अमेरिका छ । यहाँ ३ हजार ५० जना अमेरिकी अवैधानिक छन् ।

कोरियामा करिब १७ हजार नेपाली छन् । उनीहरूमध्ये ईपीएस मार्फत काममा आएका ९ सय ५१ र बाँकी १ हजार ३६ अन्य भिसाबाट आएर अवैधानिक भएका हुन् । अन्य भिसाबाट आएर अवैधानिक हुने नेपालीको संख्या अमेरिकी र भारतीयभन्दा कम छ । नेपाली कामदार कुनै आपराधिक गतिविधिमा संलग्न नभएको पनि विवरणमा उल्लेख छ ।

कोरिया र भारतबीच मजदुर आपूर्ति गर्ने सम्झौता भएको छैन । ४ हजारको कार्यावधि सकिँदै ईपीएसबाट रोजगारीमा कोरिया आएकामध्ये यो वर्ष ४ हजार १ सय २० नेपाली कामदारको पहिलो कार्यअवधि समाप्त हुँदै छ । २०१३ जनवरी १ देखि डिसेम्बर २३ सम्ममा ती कामदारको कार्यावधि समाप्त हुन लागेको हो ।

गत वर्ष ८ सय ३२ कामदारको अवधि सकिएको थियो । ईपीएस कोरिया शाखा नेपालले एक सूचना जारी गर्दै कार्यअवधि सकिएका कामदारलाई समयमै नेपाल फर्केर 'कमिटेड वर्क सिस्टम', सीबीटी लगायत अन्य प्रक्रिया पूरा गरेर रोजगारीका लागि पुनः कोरिया र्फकन सूचित गरेको छ ।

Published on: 2 May 2013 | Kantipur

Back to list

;