s

कोरियामा १० एसियाली कामदारको कमाइ उच्च

ईपीएसमार्फत रोजगारीमा दक्षिण कोरिया आएका  नेपालसहित एसियाका १० देशका प्रवासी कामदारहरूको कमाइ औसत ज्यालाभन्दा उच्च रहेको एक तथ्यांकले देखाएको छ । 

कोरिया साना तथा मझौला व्यवसायी संघ -केबिज)ले यहाँका उद्योगमा कार्यरत १ हजार ५८ जना विदेशी कामदारबीच गरेको सर्वेक्षणअनुसार स्वदेशीभन्दा विदेशी मजदुरको कमाइ ६ दशमलव ४ प्रतिशतले बढी हुने गरेको पाइएको हो ।

कठिन, खतरा र फोहोर -थ्रीडी) प्रकृतिका काम गर्न आएका १० एसियाली देशका मजदुरहरूले महिनामा न्यूनतम १६ लाख २१ हजार वन -१४ सय ३७ डलर) तलब पाउने गरेको बताएका छन् । 

यसमा न्यूनतम ज्याला, अतिरिक्त कामको मूल्य र बोनससमेत संलग्न गरिएको छ । 

सन् २०१३ मा कोरियामा प्रवासी कामदारहरूका लागि मासिक न्यूनतम ज्याला १० लाख ९८ हजार वन निर्धारण गरिएको थियो । प्रवासी कामदारहरूले अतिरिक्त काम गरेबापत ५ लाख २३ हजारभन्दा बढी कमाइ गर्ने गरेको सर्वेक्षणमा देखिएको छ  ।

यहाँका घरेलु, साना तथा मझौला उद्योगमा कार्यरत स्वदेशी कामदारहरूको दाँजोमा प्रवासी कामदारहरूले ६ दशमलव ४ प्रतिशत अर्थात् -२ सय २२ डलर) भन्दा बढी आर्जन गर्ने गरेको पनि सर्वेक्षणमा जनाइएको छ ।

आप्रवासी कामदारहरूले न्यूनतम तलब मासिक २० लाख ६५ हजार वन हुनुपर्ने माग राखेको समेत तथ्यांकमा उल्लेख छ । यो वर्तमान न्यूनतम तलबको ८८ दशमलव १ प्रतिशतले बढी हो ।

कोरिया आउने अधिकांश एसियन कामदारहरू मुख्यतः अर्थ आर्जन र सीप सिक्नका लागि आउने गरेका र स्वदेश फर्केपछि व्यापार, पशुपालन तथा विभिन्न र्फम खोल्ने उद्देश्य लिएको सर्वेक्षणमा जनाइएको छ भने अलग-अलग भाषा, संस्कृति र धर्मबाट आउने गरेकाले यहाँको दैनिक जीवन अप्ठ्यारोमा पर्ने गरेको उनीहरूले बताएका छन् ।

Published on: 21 June 2013 | Kantipur

Back to list

;