s

कोरियालीसँग बिहे गर्न भाषा परीक्षा

देवेन्द्र सम्बाहाम्फे

दक्षिण कोरियामा मजदुरी गर्न जानेले मात्र होइन अब कोरियन पुरुषसँग विवाह गर्ने विदेशी महिलाले समेत कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ । भाषिक कठिनाइ तथा सांस्कृतिक भिन्नताका कारण कोरियाली पुरुषसँग विवाह गरेका प्रवासी महिलाको सम्बन्ध विच्छेद तीव्र भएपछि यो नियम ल्याइएको हो । कानुन मन्त्रालयले बिहीबार जनाएअनुसार यो नियम सन् २०१४ बाट लागू हुनेछ्र । अहिलेको कानुनअनुसार विदेशी नागरिकलाई वैवाहिक भिसामा आउन कोरियन भाषासम्बन्धी ज्ञान आवश्यक छैन । नयाँ नियमअनुसार विदेशी महिलाले विवाह गर्ने पुरुषले पनि आयस्रोत देखाउनुपर्ने भएको छ । मासिक ११ लाखभन्दा कम आयस्रोत भएका पुरुषले विदेशी महिला विवाह गर्न पाउँदैनन् । आयस्रोत न्यून भएका पुरुषसँग विवाह गर्ने महिलाले सम्बन्ध विच्छेद गरेपछि यो नियम ल्याइएको हो । कोरियाका लागि प्रवेशाज्ञा प्राप्त गर्न ती महिलाले दूतावासमा कोरियन भाषामा नै अन्तर्वार्ता दिनुपर्नेछ । कोरियन भाषामा कुराकानी गर्न असक्षम महिलालाई भिसाका लागि ६ महिनापछि मात्र पुनरावलोकन गर्न सकिने जनाइएको छ । नेपाली महिला झुन्डिएको स्थितिमा फेला कोरियनसँग विवाह गरेर आएकी धादिङकी २५ वर्षीय गौरीमाया तामाङ झुन्डिएको अवस्थामा फेला परेकी छन् । गिम्छन सहरमा तामाङ बस्दै आएको घरमा शुक्रबार सलमा झुन्डिएको स्थितिमा फेला परेकी हुन् । गिम्छन विश्व विद्यालय प्राध्यापक नवराज पन्तका अनुसार तामाङ राइस केक पसल चलाएर बसेका ५० वर्षीय छाङ व्यङ दोसँग गत वर्षको अक्टोबरमा विवाह गरेर नोभेम्बर अन्तिममा कोरिया आएकी थिइन् । उनीहरूले नेपालमा एक म्यारिज ब्युरोको सहयोगमा विवाह गरेका थिए । शव प्रहरीले स्थानीय अस्पतालमा राखेको छ । तामाङले आत्महत्या गर्नुको कारण अझै खुलेको छैन ।

Published on: 3 June 2013 | Kantipur

Back to list

;