s

कोरियाली पुरुषसँग विवाह गर्ने नेपाली घटे

लिलु डुम्रे
 
सोलः कोरियाली पुरुषसँग विवाह गरी दक्षिण कोरिया आउने नेपाली महिलाको संख्यामा कमी आएको छ । 
 
कोरिया सरकारले २०१४ को अप्रिलबाट विदेशी महिलासँग विवाह गर्ने कोरियाली पुरुषका लागि नयाँ मापदण्ड लागू गरेपछि नेपाली महिलासँगको विवाह दर घटेको हो ।
 
वैवाहिक सम्बन्धबाट कोरिया आउने नेपाली महिलाको हालसम्मको वास्तविक तथ्यांक छैन । नेपाली चेली समाज दक्षिण कोरियाका अनुसार एक हजार दुई सय नेपाली महिला कोरियनसँग विवाह गरेर आएका छन् । 
 
गत वर्षहरूमा वार्षिक करिब ६० जना नेपाली युवती विवाह भिसामा दक्षिण कोरिया आउने गरेको चेली समाजले जनाएको छ ।
 
कोरियामा विदेशी महिलासँग विवाह गरेपछि पारिवारिक तथा सामाजिक समस्या देखिन थालेपछि सरकारले २०१४ को अप्रिलदेखि नयाँ मापदण्ड लागू गरेको हो । 
 
नयाँ मापदण्ड अनुसार विवाह गरेर कोरिया आउने विदेशी महिलासँग आधारभूत कोरियन भाषाको ज्ञान अनिवार्य हुनुपर्ने र कोरियन पुरुषले आर्थिक स्रोतको आधार पेस गर्नुपर्ने हुन्छ ।
 
२०१४ अघि म्यारिज ब्युरोमार्फत दक्षिण कोरिया आएका नेपाली महिलाहरूमा भाषाको ज्ञान नहुनु, पुरुषसँगको उमेर अन्तर बढी रहनु तथा परम्पराका विषयमा ज्ञान भएका कारण महिला हिंसा हुने गरेको थियो ।
 
कोरियाली पुरुषसँग विवाह सम्बन्ध कायम गरी आउने ९० प्रतिशत नेपाली चेली घरेलु हिंसाबाट पीडित भएको समाचार भने निराधार भएको नेपाली चेली समाज दक्षिण कोरियाको भनाइ छ । 
 
वैशाख १३ मा राष्ट्रिय मानवअधिकार आयोगमार्फत प्रस्तुत गरिएको प्रतिवेदनप्रति समाजले आपत्ति जनाएको छ । राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको मानव बेचबिखन सम्बन्धी प्रतिवेदनमा सन् २००५ देखि २०१३ सम्म बिहे गरेर कोरिया गएका अधिकांश महिला घरेलु हिंसाबाट पीडित भएको साथै दासतापूर्ण जीवन बिताउनु परेको उल्लेख छ ।
 
एकाध घटनालाई लिएर समग्रलाई दासतापूर्ण भन्न नसकिने चेली समाजकी अध्यक्ष मञ्जु गुरुङले बताइन् । उनले भनिन्, ‘त्यो संख्यामा पीडित भएको जानकारी छैन ।’ आयोगको प्रतिवेदन २०१३ पछिको अवस्थाबारे भने मौन छ ।
 
नेपाली युवती म्यारिज ब्युरोलाई मोटो रकम बुझाएर ‘विवाह भिसा’ मा कोरिया आउने गरेकोमा नयाँ प्रावधान पश्चात् अहिले त्यो क्रम घटेको छ । 
 
वैवाहिक भिसामार्फत् चार वर्षअघि कोरिया आएकी नेपाली चेली समाज दक्षिण कोरियाकी महासचिव बाला राइले भनिन्, ‘आधुनिक जीवनशैली, गगनचुम्बी महल र पैसाको मोहमा परेर कोरिया आएर पैसा कमाउने र मोजमस्तीको जिन्दगी जिउने सपना बोकेका युवती परिवार छोडेर भाग्न खोजेपछि समस्या हुने गरेको छ ।’ उनले नेपाली पुरुषसँग सम्बन्ध बढाउने प्रयासका कारण नेपाली महिलाहरू थप पीडित भएको बताइन् ।
 
२०१४ अघि म्यारिज ब्युरोमार्फत दक्षिण कोरिया आएका नेपाली महिलाहरूमा भाषाको ज्ञान नहुनु, पुरुषसँगको उमेर अन्तर बढी रहनु तथा परम्पराका विषयमा ज्ञान भएका कारण महिला हिंसा हुने गरेको थियो । 
 
वैवाहिक भिसामा कोरिया आएकी पर्वतकी सीता पुन र काभ्रेकी लक्ष्मी तामाङ पीडित छिन् । दुवै महिला २०१३ अघि कोरिया आएका थिए । कोरिया प्रवेशसँगै सम्बन्ध विच्छेद गर्ने मनसायले बिहे गरेकाले उनीहरू दुवै पीडित भएका हुन् ।
 
राईले भनिन्, ‘२० वर्षकी नेपाली युवतीले ४० वर्षका कोरियाली पुरुषसँग विवाह गर्दा सोचाइमा भिन्नता आएपछि दुःख पाएका हुन् ।’ 
 
सरकारद्वारा सञ्चालित बहुसांस्कृतिक परिवार सहायता केन्द्र (एमएफएससी) ले हरेक देशबाट विवाह गरेर आएका महिलालाई कोरियाली भाषा सिकाउने, विभिन्न सीपमूलक तालिम दिने, कोरियाको संस्कृति, खानपान र रहनसहनबारे जानकारी दिने गरेको छ ।
 
संस्थाले घरेलु हिंसालगायत विभिन्न समस्यामा परेका महिलालाई सहयोग तथा परामर्श दिने काम पनि गर्दै आएको छ । सहायता केन्द्रमा नेपाली महिला पनि कार्यरत छन् । ताप्लेजुङकी सुभद्रा पालुङवा चितवनकी योगिता गौतम, पोखराकी इश्वरी पोखरेल र स्नेहा लामाले केन्द्रमा भाषा अनुवादक तथा परामर्शदाता भएर कार्य गरिरहेका छन् । 
 
सत्य तथ्य बुझेर सरकारी मापदण्ड पूरा गरी आउनेहरूले पारिवारिक द्वन्द्व, मनमुटाव र मानसिक यातना भोग्नु नपर्ने वुमन फर वुमन कोरियाकी पूर्वअध्यक्ष जुनु गुरुङले बताइन् ।
 
Published on: 5 May 2016 | Annapurna Post 

Back to list

;