s

कोरियाली भाषा परीक्षामा ७४ हजार सहभागी

उत्तम काप्री

रोजगार अनुमति प्रणाली (ईपीएस)को नवौं कोरियन भाषा परीक्षामा ७४ हजार आठ सय ६६ जना विद्यार्थी सहभागी भएका छन्। ईपीएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले शनिबार र आइतबार गरी चार सिफ्टमा परीक्षा सञ्चालन गरिएको जानकारी दिए।

नवौं भाषा परीक्षा काठमाडौं र पोखरामा सञ्चालन भएको थियो। भाषा परीक्षाका लागि शाखाले गत चैत ८ देखि १८ गतेसम्म अनलाइन आवेदन लिएको थियो। परीक्षाका लागि अनलाइन आवेदन दिनेको संख्या ८२ हजार दुई सय ६४ थियो। आवेदन फारम भरेका मध्ये सात हजार तीन सय ९८ जना परीक्षामा सहभागी नभएको भण्डारीले जानकारी दिए। नेपाल र कोरियाबीच सन् २००७ मा दुई पक्षीय श्रम सम्झौता भएको थियो। सम्झौतापछि अहिलेसम्म कोरियन भाषा परीक्षामा पाँच लाखभन्दा बढी सहभागी भइसकेका छन्। आठौं भाषा परीक्षामा पनि ७० हजारभन्दा बढी सहभागी भएका थिए।
 
सम्झौता भएको एक वर्षपछि सन् २००८ देखि नेपाल सरकारले आफै कामदार पठाउँदै आएको छ। १० वर्षको अवधिका नेपालबाट रोजगारीमा ५४ हजारभन्दा बढी युवा कोरिया गइसकेका छन्। लागत कम हुने र आम्दानी राम्रै हुने भएका कारण शिक्षित युवाको छनोट कोरिया परेको छ।
 
७१ सयको कोटा
 
सन् २०१९ मा कोरियाको रोजगारीमा ७१ सय युवा जान पाउनेछन्। यसमा कृषि काममा लागि ४८ सय र उत्पादनमूलक क्षेत्रका लागि २३ जनाको कोटा तय भएको छ। भाषा परीक्षामा उत्तीर्ण भएका सबैले कोरिया जान पाउने निश्चित नभएको भण्डारी बताउँछन्। नवौ भाषा परीक्षामा सहभागी भइ उत्तीर्ण भएका परीक्षार्थीले सबै प्रक्रिया पूरा गरी सन् २०१९ को जनवरीदेखि कोरिया जाने पाउने उनको भनाइ छ।
 
दुई सय ४७ नक्कली परीक्षार्थी
 
नवौै कारियान भाषा परीक्षामा सहभागी दुई सय ४७ नक्कली परीक्षार्थीलाई प्रहरी तथा कोरियन प्रतिनिधि र शाखाका कर्मचारीले पक्राउ गरेका छन्। पहिलो दिन शनिबारको परीक्षामा ५८ जना पक्राउ परेको थिए। यसैगरी दोस्रो दिन आइतबारको परीक्षामा एक सय ८९ नक्कली परीक्षार्थी पक्राउ परेको प्रहरीले जनाएको छ।
 
१० वर्षमा ५४ हजारले पाए रोजगारी
 
कोरिया सरकारसँग सन् २००७ मा सम्झौता भइ नेपाल सरकार आफैले सन् २००८ बाट कामदार पठाउँदै आएको छ। अहिलेसम्म ५४ हजारभन्दा बढी युवा रोजगारीका लागि कोरिया पुगिसकेका छन्।
 
कोरिया सरकारले सन् २०११ पछि सबैभन्दा बढी कामदार सन् २०१८ लाने गरी भाषा परीक्षा लिएको थियो। सन् २०१८ का लागि भाषा परीक्षाबाट छनोट भएका कामदार अहिले कोरिया जाने क्रममा छन्। आठौं भाषा परीक्षामा झन्डै ७० हजारभन्दा बढीले कोरियाली भाषा परीक्षा दिएका थिए। सन् २००८ को पहिलो कोरियाली भाषा परीक्षामा ३१ हजार पाँच सय २५ जना सहभागी भएका थिए। सन् २०१८ मा आइपुग्दा यो संख्या ७० हजारभन्दा बढी भएको शाखाको भनाइ छ।
 
यसैगरी सन् २०१० मा ३६ हजार दुई सय तीन, २०११ मा ५० हजार ४३, सन् २०१३ मा ४४ हजार एक सय २२, सन् २०१४ मा ५८ हजार सात सय ४६ र सन् २०१५ मा ५१ हजार एक सय ३७ जना परीक्षामा सहभागी भएका थिए।
 
सहभागीमध्ये सन् २००८ मा ६ हजार सात सय ८६, सन् २०१० मा चार हजार एक सय ८०, सन् २०११ मा १५ हजार ६ सय ७८, सन् २०१३ ८ हजार ५१, सन् २०१४ मा ३६ सय ६४, सन् २०१५ मा ८ हजार चार सय ९० र सन् २०१६ मा ३५ सय १७ जना भाषा परीक्षामा भएका थिए। सन् २००८ देखि सन् २०१८ को भाषा परीक्षासम्ममा पाँच लाखभन्दा बढी सहभागी भइसकेका छन्।
 
Published on: 11 June 2018 | Annapurna Post

Back to list

;