s

कोरियाले ५३ हजार प्रवासी कामदार भित्र्याउने

देवेन्द्र सम्बाहाम्फे
 
दक्षिण कोरियाली सरकारले सन् २०१४ मा ५३ हजार अदक्ष प्रवासी कामदार भित्र्याउने भएको छ । यहाँको श्रम तथा रोजगार मन्त्रालयले रोजगार अनुमति प्रणालीमार्फत अर्को वर्ष ५३ हजार १ सय ५० जना कामदारको कोटा निर्धारण गरिएको जनाएको छ । प्रधानमन्त्रीको कार्यालय संयोजक रहेको कोटा निर्धारण समितिले बिहीबार उक्त कोटा स्वीकृत गरेको थियो । 
 
समितिले स्वीकृत कोटाबाट सबभन्दा बढी औद्योगिक उत्पादन क्षेत्रमा ४२ हजार २ सय ५०, कृष िक्षेत्रमा ६ हजार, मत्स्यपालन क्षेत्रमा २ हजार ३ सय, निर्माण्ा क्षेत्रमा २३ सय ५० र सेवा क्षेत्रमा १ सय ५० कोटा छुट्याएको छ । नयाँ कोटा जनवरीदेखि अपि्रलसम्ममा २२ हजार, मेदेखि अगस्टसम्ममा १४ हजार ३ सय र सेप्टेम्बरदेखि बाँकी १० हजार ९ वितरण गरिने जनाइएको छ । कोरियाले नेपाललगायत १५ मुलुकबाट अदक्ष कामदारको अपूर्ति गर्दै आएको छ ।
 
सन् २०१४ मा कार्य अवधि सकिने १७ हजार प्रवासी कामदारको कोटा पूर्ति गर्न र साना तथा मझौला उद्योगहरूबाट आउने मागका आधारमा ३६ हजार गरी ५३ हजार कोटा स्वीकृत गरिएको मन्त्रालयले जनाएको छ । यसमध्ये भाषा परीक्षा उत्तीर्ण गरेर पहिलो पटक आउने कामदारका लाथि ४७ हजार ४ सय र एक कार्यअवधि पूरा गरेर पुनः रोजगारका लागि आउने कामदारका लागि ५ हजर ६ सय कोटा निर्धारण गरिएको हो । नयाँमध्ये उत्पादन क्षेत्रमा ३६ हजार ९ सय, कृषमिा ५ हजार ८ सय ५०, मत्स्यपालनमा २१ सय ९०, निर्माण्ा क्षेत्रमा २३ सय २०, सेवा क्षेत्रमा १ सय ४० जना आउन पाउने गरी कोटा विभाजन गरिएको छ । 
 
नयाँ कोटा स्वीकृत भएपछि तेस्रो भाषा परीक्षा उत्तीर्ण गरेर प्रतीक्षा सूचीमा रहेका नेपाली उम्मेदवारहरूको जनवरी पहिलो साताबाट श्रम सम्झौता हुने भएको छ । तेस्रो भाषा परीक्षा उत्तीर्ण गरेका करिब १२ हजार कोरिया आएका छन् भने अझै प्रतीक्षा सूचीमा ४ हजारभन्दा बढी रहेका छन् । 
 
यहाँको अध्यागमन विभागले अक्टोबरमा सार्वजनिक गरेको तथ्यांकअनुसार ईपीएसमार्फत  आएका १७ हजार ६ सय ७० नेपाली कार्यरत छन् ।
 
कोरिया सरकारले यस वर्ष तोकिएको कोटा गत वर्षको तुलनामा ३ हजारले बढी भए पनि २०१२-०१३ को तुलनामा न्यून हो । वर्तमान सरकारले स्वदेशी बेरोजगार संख्या घटाउन स्वदेशी जनशक्ति प्रयोग गर्ने नीति अघि सारेपछि प्रवासी कामदारको कोटा उल्लेखनीय वृद्धि नगरिएको प्रवासी मजदुर युनियनका एक अधिकारीले बताए ।
 
'आन्तरिक श्रम बजारको मूल्यांकन र साना तथा मझौला उद्योगका मागलाई मध्यनजर गर्दै सरकारले प्रवासी कामदारको कोटा बढाउने निर्णय गरिएको हो ।' श्रम तथा रोजगार मन्त्री बाङ हा नामद्वारा आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
 
त्यसैगरी सरकारले अस्थायी र सिजनल कामदारको कोटामा चीन र पूर्व सोभियत संघका लागि ३ लाख ३ हजार कोटा तय गरेको छ । 
 
मन्त्रालयले आप्रवासी कामदारका लागि आवासगृह प्रदान गर्ने कम्पनीहरूलाई सूचित गर्दै आउँदो जनवरीमा औद्योगिक दुर्घटना रोक्न विस्तृत कार्ययोजना ल्याइने  पनि जनाएको छ ।
 
Published on: 24 December 2013 | Kantipur

Back to list

;