s

कोरियाले २०१९ मा १० हजार ५० कामदार लाने

होम कार्की

दक्षिण कोरियाले सन् २०१९ मा १० हजार ५० जना नेपाली कामदार लाने भएको छ । सन् २००८ बाट कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अनुसार नेपाली कामदार लगिरहेको कोरियाले नेपालीका लागि यस पटक सबैभन्दा बढी कोटा तोकेको हो ।

वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार उत्पादन क्षेत्रका लागि ७ हजार ५० र कृषि क्षेत्रका लागि ३ हजार कोटा निर्धारण गरिएको छ । कोरियामा कार्यरत विदेशी कामदारको मूल्यांकनमा नेपाली अगाडि देखिएपछि कोटा संख्या बढाइएको हो । कोरियाले नेपालसहित १६ देशबाट प्रत्येक वर्ष ५० हजार कामदार आपूर्ति गर्छ । कामदार कोरिया जान ८ सय १५ अमेरिकी डलर (करिब ९१ हजार रुपैयाँ) खर्च हुन्छ ।

‘अहिलेसम्मकै उच्च कोटा निर्धारण भएको पत्र प्राप्त भएको छ,’ ईपीएस कार्यालयका एक अधिकारीले कान्तिपुरलाई भने, ‘नियमित तालिकाअनुसार परीक्षा लिइनेछ ।’ नेपालले तोकिएको समयभित्र पारदर्शी ढंगले कामदार भर्नामा सहयोग गरेको भन्दै कोरिया सरकारले दुईपटक अवार्ड दिइसकेको छ । ‘हाम्रो कार्यसम्पादन चुस्त छ । सबै निर्धारीत प्रणालीअनुसार कामदार भर्ना हुन्छ । कामदार भर्ना प्रक्रियामा तेस्रो पक्ष (एजेन्ट) को संलग्नता पनि छैन,’ ती अधिकारीले भने, ‘पारदर्शीपूर्ण कामबाट कोरिया सरकारले कोटा पनि बढाउँदै लगेको देखिन्छ । यसले युवापुस्ताका लागि थप अवसर सिर्जना भएको छ ।’
 
कोरिया जाने युवाले मासिक एक लाखदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्छन् । सन् २०१८ मा ८ हजार ५ सय ११ जना नेपाली पठाइएको थियो । गएको वर्षदेखि कोरियामा गई काम गरी फर्किआएकाहरूलाई कम्युटरमा आधारित परीक्षा (सीबीटी) बाट लिन थालेको छ । सीबीटीबाट १२ सय कामदार गइसकेका छन् ।
 
‘सीबीटीका लागि कोटा निर्धारण गरिएको छैन । कोरियाबाट फर्केकालाई पुनः जान अवसर दिइएको छ,’ ईपीएस शाखाका प्रमुख कृष्ण खनालले कान्तिपुरसँग भने । पहिलो पटक छनोट भएका कामदारले चार वर्ष १० महिना काम गर्न पाउँछन् ।
 
उनले कामदार र रोजगारदाताबीच भएको सम्झौताअनुसार काम र तलबको सुनिश्चित भएकाले कोरिया कामदारका लागि सुरक्षित गन्तव्य बनेको बताए । ‘नेपालमा गरिएको करारपत्रले वैधानिकता पाइनेछ । कामदारले तीन पटकसम्म रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था छ,’ उनले भने, ‘बासस्थान सुविधाजनक छ । सम्झौताअनुसार कामदारका अधिकारहरू स्थापित हुन्छन् ।’
 
उनले नेपाली कामदारको गैरकानुनी भएर बस्ने संख्या अन्य देशको तुलनामा निकै कम रहेको बताए । नेपाली दूतावासका अनुसार झन्डै २६ सय नेपाली गैरकानुनी हैसियतमा कार्यरत छन् । १० वर्षको अवधिमा एक सय ६५ जना नेपालीको भने मृत्यु भएको छ ।
 
Published on: 11 March 2019 । Kantipur

Back to list

;