s

कोरियाले १० हजार कामदार लैजाने

दक्षिण कोरियाले सन् २०१९ मा १० हजार नेपाली कामदार लैजाने भएको छ । गत वर्षको तुलनामा यस वर्ष झण्डै दुई हजार बढी नेपाली कामदार लैजाने लागिएको हो । वैदेशिक रोजगार ईपीएस कोरिया शाखाका अनुसार सन् २०१८ मा आठ हजार पाँच सय ११ जना कामदार कोरिया गइसकेका छन् । उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र कृषि तथा पशुपालनतर्फ तीन हजार कामदार लैजाने ईपीएस शाखा कार्यालयले जनाएको छ ।

शाखा प्रमुख कृष्ण खनालका अनुसार नेपालको सिस्टम राम्रो भएकाले र कामदार अन्य देशका तुलनामा बढी मन पराइएकाले कोटा बढेको हो । तर भाषा उत्तीर्ण गरेका सबै नेपाली कोरिया जान पाउँदैनन् ।

कोरियाले उत्पादनक्षेत्रमा नेपाली कामदार रुचाएको छ । कृषिका लागि पास भएका सबै कोरिया नपुगे पनि उत्पादनमूलक क्षेत्रमा भाषा उत्तीर्ण गर्ने सबैजसो गएको उनले बताए ।

कोरियाले १६ देशबाट वार्षिक ५० देखि ५५ हजार कामदार लैजाने गरेको छ । ईपीएस प्रमुख खनालले अरु देशभन्दा नेपाली कामदार बढी रुचाइएको बताए । ‘नेपाली मेहनती हुने भएकाले पनि कोरियनको रोजाइमा परेका हुन्’, उनले भने । रोस्टर सिस्टम पनि राम्रो भएकाले पनि भाषा पास गर्नेको दायरा बढ्दै गएको उनको भनाइ छ ।

कोरिया रोजगारका लागि आगामी जेठमा भाषा परीक्षा हुने भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) जेठ २५ र २६ गते हुने भएको हो । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले सूचना जारी गर्दै भाषा परीक्षाका लागि चैत ८ देखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिने उल्लेख छ । आवेदकको परीक्षा काठमाडौं र पोखरा केन्द्रबाट सञ्चालन हुनेछ । दरखास्त दर्ता परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने सूचनामा उल्लेख छ । तर पोखरामा सुरुमा फर्म भर्ने १२ हजार मात्रले आवेदन फाराम भर्न पाउनेछन् ।

Published on: 13 March 2019 । Annapurna Post

Back to list

;