s

कोरियाका लागि आवेदन शुल्कमात्रै २० करोड

ईपीएस मार्फत रोजगारीका लागि दक्षिण कोरिया जान यस वर्ष ८२ हजार बढीले आवेदन दिएका छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षाको आवेदन दिने म्याद शनिबारसम्म थियो ।
 
ईपीएस कोरीया शाखा ग्वार्कोका सूचना अधिकारी शोभाकर भण्डारीका अनुसार यस वर्ष ८२ हजार २ सय ६४ जनाको आवेदन परेको छ । त्यसमा कृषितर्फ ३९ हजार ६ सय ४० जना र उत्पादन क्षेत्रतर्फ ४२ हजार ६ सय २४ जनाको आवेदन परेको छ । कृषितर्फ ३० हजार १ सय ७९ जना पुरुष र ९ हजार ४ सय ६१ महिलाको आवेदन परेको छ भने उत्पादन क्षेततर्फ ३९ हजार २ सय ८ जना पुरुष र ३ हजार ४ सय १६ जना महिलाको आवेदन परेको छ । उक्त कार्यालयले आवेदनमा कुनै त्रुटी भए चैत्र २३ गतेसम्म सच्याउन सक्ने बताएको छ ।
 
गत वर्ष जस्तै यस पटक पनि अनलाईन प्रणालीबाट आवेदन माग गरिएको थियो । आवेदन गत चैत ८ गतेदेखि १० दिनको लागि खुला गरिएको थियो । कोरियाले यस पटक नेपालीको लागि ७ हजार एक सय जनाको मात्र कोटा निर्धारण गरेको छ । त्यसमध्ये उत्पादनमूलक क्षेत्रमा ४ हजार ८ सय र कृषि क्षेत्रमा २ हजार ३ सय जना जान पाउने छन् । भाषा परीक्षा उत्तीर्ण गरी श्रम सम्झौता आएको कामदारले करिव १ लाख रूपैयाँ खर्चगरी ४ वर्ष १० महिनाको रोजगारीका लागि कोरिया जान पाउनेछन् । नेपालका शिक्षित बेरोजगारबीच कोरियाको रोजगारी अत्यन्तै आकर्षक मानिएको छ ।
 
आवेदक बढेकाले यस वर्ष प्रतिस्पर्धा झनै कडा हुने अनुमान गरिएको छ । यस वर्ष ८२ हजार २ सय ६४ जनाले ग्लोबल आइएमई बैंकमा २४ अमेरिकी डलरका दरले १९ लाख ७४ हजार ३ सय ३६ डलर जम्मा गरेका छन् ।
 
उक्त रकम आइतबारको विनिमयदर अनुसार २० करोड रुपैयाँ भन्दा बढी हुन्छ । भण्डारीका अनुसार जेठ २६ र २७ गते भाषा परीक्षा सञ्चालन हुनेछ । परीक्षाको नतिजा भने आगामी असारमा प्रकाशन गरिनेछ । परीक्षा काठमाडौं र पोखराबाट सञ्चालन हुनेछ ।
 
Published on: 2 April 2018 | Madhyanha

Back to list

;