s

कोरियाबाट आइपुगे २२८ जना नेपाली

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आएर भिसा सकिएका २ सय २८ जना नेपाली शनिबार स्वदेश आइपुगेका छन् । उनीहरुलाई लिएर आएको कोरियन एयरको जहाज शनिबार बिहान ८ बजेर १० मिनेट जाँदा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । 

दक्षिण कोरियाले नेपाली कामदार लिन पठाएको जहाजमा उनीहरू फर्केका हुन् । कोरोना भाइरसको संक्रमणका कारण उडान नभएपछि उनीहरू समस्यामा थिए ।

कोरियन एयरको जहाज यात्रुबिनै नेपाल जान लागेको थाहा पाएपछि गैरआवासीय नेपाली संघ र नेपाली दूतावासले कोरियाबाट नेपाली उडाउन पहल गरेका थिए । ईपीएसमार्फत कोरिया गएका ४ हजारभन्दा बढी नेपालीको भिसा सकिएको छ ।

कोरियाबाट नेपाल उड्दा कोरियन एयरको टिकट ३० देखि ५० हजार रुपैयाँसम्म पर्थ्यो । चार्टर गरिएको विमानमा नेपालीले एक लाख ५० हजार रुपैयाँसम्म तिरेका छन् । नेपालबाट पनि गत मंगलबार कोरिया गएका नेपालीले त्यस्तै चर्को शुल्क तिरेका थिए ।

नेपाली दूतावासले केही समयअघि भिसा सकिएका एक हजारभन्दा बढी नेपालीको नामावली नेपाल सरकारलाई पठाएको थियो । त्यही नामावलीभित्रका नेपाली नागरिक शनिबार नेपाल आइपुगेका हुन् । दूतावासका अनुसार बिरामी, सुत्केरी र अन्य जटिल समस्यामा रहेकालाई प्राथमिकता दिइएको छ । अवैधानिक रूपमा बसेको अभियोगमा कोरियाका विभिन्न जेलमा रहेका १४ नेपाली पनि सोही उडानमा फर्किएका छन् ।

दक्षिण कोरियाली सरकारले अवैधानिक रूपमा बसेकालाई पक्रिएर डिपोर्ट गर्छ । डिपोर्ट गर्दा आपराधिक गतिविधिमा लागेको नभए तुरुन्तै पठाउने भनिए पनि कोरोनाका कारणले लामो समयदेखि उडान नहुँदा उनीहरू जेलमै थिए ।

Published on: 20 June 2020 | Kantipur

Link

Back to list

;