s

कोरियाबाट फर्केर ५ लाखमा थाले व्यवसाय, दस वर्षमा भयो करोडको

के होला, कसो होला भन्ने दुबिधा थियो। त्यही पनि पाँच लाख रूपैयाँ लगानी गरेर उनले व्यवसाय थाले।

दस वर्षमा त्यो व्यवसायको कुल पुँजी एक करोड रूपैयाँ नाघेको छ। सबै खर्च कटाएर मासिक एक लाख रूपैयाँ बचत हुन्छ।

यी व्यवसायी हुन् गुल्मीका रविलाल पन्थ। र, उनी डेरी चलाउँछन्।

रविलालले २०७१ सालमा रूरू क्षेत्र गाउँपालिकाको रिडीमा डेरी सुरू गरेका थिए। त्यस बेला दैनिक मुस्किलले १५ लिटर दूध बिक्थ्यो।

'बजारै थिएन। व्यावसायिक रूपमा गाईभैंसी पाल्ने किसान पनि थिएनन्। गाउँमा दूध उत्पादन साह्रै थोरै थियो,' रविलालले भने।

डेरी खोलेपछि रविलालले दूधजन्य उत्पादनको बजार विस्तार गर्दै लगे। त्यो बेला गाउँतिर पनिर खाने चलन थिएन। पनिर खाने बानी लगाउन र व्यवसाय बढाउन उनले केही समय सामूहिक कार्यक्रममा निःशुल्क बाँडे। एकै ठाउँमा धेरैले खाएपछि पनिरको चर्चा हुन थाल्यो। बिस्तारै अधिकांश सामूहिक कार्यक्रममा पनिर प्रयोग भयो।

'पछि त रूरू क्षेत्रमा एक वर्षमा उत्पादन हुने जति दूध त दुई महिनालाई नै चाहिने भयो,' उनले भने, 'माग पूरा गर्न अन्तबाट पनि ल्याउनुपर्ने भयो। त्यसैले गाईभैंसी पालन प्रवर्द्धन गर्न स्थानीय सरकार र विभिन्न संघसस्थाबाट सहयोग जुटायौं।'

अहिले रविलाल दैनिक कम्तीमा सात सय लिटर दूध बेच्छन्। अलि बढी हुँदा हजार लिटरसम्म खपत हुन्छ।

उनी रूरूका अतिरिक्त गुल्मीकै सत्यवती र छत्रकोट गाउँपालिकाबाट दूध संकलन गर्छन्। स्थानीय सरकार र सहयोगी संघसंस्थाले किसानलाई व्यावसायिक पशुपालन तालिम दिएपछि र व्यवसायीले दूध किन्न थालेपछि उत्पादन बढेको छ। किसानको आम्दानी पनि बढ्दै गएको उनी बताउँछन्।

स्थानीयस्तरमै दूध प्रशोधन गरेर प्रशोधित सामग्री पनि बिक्री गर्ने योजनामा छन् उनी। दूध, दही, मोही, पनिर मात्रै नभएर छुर्पी, खुवा र मिठाइमा लगानी गरेर बजारीकरण गर्ने तयारी छ। त्यस्तै पेयका रूपमा मानिसहरूलाई मोहीको स्वादमा फर्काउन चाहन्छन्।

'गाउँमा चिसो पेयको चलन बढेको छ। मोही छिट्टै अमिलो हुने भएकाले कतिपयलाई पिउन मन पर्दैन। तर तापक्रम मिलाएर राख्न सके अमिलो हुँदैन। यस्तो मोहीको त लत नै बस्छ। बजारको पेयले भेट्दैन,' उनले भने।

उनका अनुसार मोही तीनदेखि चार डिग्री सेल्सियस तापक्रममा बनाइन्छ। त्यसपछि तीन घन्टासम्म अमिलो हुँदैन। त्यसलाई २ देखि ६ डिग्री सेल्सियस तापक्रममा राखिन्छ। उनले गुल्मीमा बनाएको मोही पाल्पा र स्याङ्जासम्म पुग्छ।

'मोही कम्तीमा ६ डिग्री सेल्सियिसम्म राखे दुई-तीन दिनसम्म खान सकिन्छ,' उनले भने।

गर्मी मौसममा मोहीको व्यापार राम्रो छ। आफूले उत्पादन गरेको मोही ब्रान्डिङ गरेर चाँडै होटल, किराना पसल र डिपार्टमेन्ट स्टोरहरूमा बेच्ने योजना रविलालले बनाएका छन्।

रविलालको दुग्ध व्यवसायमा हाल २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। व्यवसायको पुँजी एक करोड रूपैयाँ नाघेको छ। परिवारको खर्च यही व्यवसायबाट भएको आम्दानीले धानेको छ।

'दुई जना छोराछोरी पढाएर, घर खर्च कटाएर मासिक एक लाखभन्दा धेरै बच्छ,' उनले भने, 'आफ्नै ठाउँमा बसेर यत्तिको गर्न सकेको छु, खुसी छु।'

आफ्नै ठाउँमा बसेर राम्रो आम्दानी लिइरहेका रविलाल कुनै बेला कमाउन भनेर वैदेशिक रोजगारीमा गएका थिए।

अहिले रिडी बजारमा घर बनाएका रविलालको पुरानो गाउँ छत्रकोट गाउँपालिकामा पर्छ। उनले गाउँमा बाख्रा पालेका थिए तर सोचेजस्तो राम्रो भएन। जंगली जनावरबाट जोगाउन पनि समस्या भयो। व्यवसाय हुने छाँट नदेखेपछि उनी बाख्रापालन छाडेर काठमाडौं पसे। एउटा सरकारी कार्यालयमा क्यान्टिन चलाए। त्यसले पनि राम्रो मुनाफा दिएन।

न बाख्राबाट भयो, न क्यान्टिन चल्यो। अन्ततः उनी विदेश जाने निर्णयमा पुगे।

इपिएस लागू भएको पहिलो वर्ष थियो। रविलालले आवेदन दिए। सम्भावना केमा छ, के सजिलो छ भनेर खास खोजी भएन। यत्तिकैमा माछा मार्ने काम गर्न सन् २००९ मा दक्षिण कोरिया गए।

उनका लागि त्यो काम सहज थिएन। एक त माछा मार्ने काम नै नयाँ, अर्को उनी समुद्र देखेरै डराउँथे। बेलाबेला छाल आउँदा मनमा डरको आँधी चल्थ्यो।

'समुद्र नै नदेखेको, कहिल्यै नगरेको काम, भाषा पनि नमिल्ने, चालचलन पनि नमिल्ने, सुरूमा त निकै गाह्रो भयो,' उनले भने, 'पैसा कमाउन सजिलो रहेनछ, धेरै संघर्ष गर्नुपर्दो रहेछ भन्ने कुरा त्यो बेला थाहा भयो।'

उनलाई कोरियाले श्रमको महत्त्व बुझायो। लगनशीलता र अनुशासन सिकायो। पैसा पनि राम्रै कमाए।

दुई वर्षसम्म माछा मार्ने काम गर्दा उनले क्रुज (पानीजहाज) चलाउन पनि सिके। क्रुजमा 'शी फुड' (पानीमा पाइने माछा जस्ता खानयोग्य जीव) का बचेराहरू राखेर ओसारपसार गरिन्थ्यो। उनले क्रुज चलाउने काम पाए जसमा राम्रो तलब थियो। यही सिलसिलामा उनी धेरैपटक कृषि फार्महरूमा पनि पुगे। त्यहाँ किसानले काम गरेको देख्दा आफ्नो गाउँठाउँ सम्झिन्थे। यस्तो कृषि कर्म त आफ्नै गाउँमा पनि हुन्छ जस्तो लाग्थ्यो।

एक दिन उनलाई लाग्यो – बाध्यता थियो र कोरिया आएँ, अलिअलि कमाएँ पनि, अब आफ्नै ठाउँमा काम गर्नुपर्छ।

रिडी दूध उत्पादनका लागि उपयुक्त क्षेत्र भएकाले दूधकै व्यवसाय गर्छु भन्ने निधो गरे।

'ग्रामीण क्षेत्रमा धेरै दूध उत्पादन गर्न सकिने भए पनि नजिकै बजार नहुँदा व्यावसायिक पशुपालन गर्न सकिएको थिएन। म बजार बनाउँछु र किसानहरूलाई पशुपालनमा लगाउँछु भन्ने सोचेँ,' रविलालले भने।

२०७१ सालमा उनी स्वदेश फर्के। कोरियामा पाँच वर्ष काम गर्दा एक करोड रूपैयाँ हाराहारी बचत गरेका थिए। त्यो पैसा घडेरी र सेयरमा लगानी गरे।

'अलि ठूलै व्यवसाय सुरू गर्ने चाहना थियो तर देशको परिस्थिति अनुकूल लागेन,' सशस्त्र द्वन्द्वकाल अन्त्य भए पनि संविधान नबनेको त्यो समयबारे उनले भने।

त्यसैले पाँच लाखमा लगानीमा डेरी खोलेका थिए जसले आज उनलाई नाम र दाम दुवै दिएको छ।

'परिवारको साथ बसेर आफ्नै माटोमा पौरख गर्न पाएको छु। कोरियाको जति कमाइ नभए पनि आत्मसम्मान छ,' उनले भने।

वैदेशिक रोजगारीबाट फर्केर देशमै राम्रो काम गरिरहेका युवालाई सम्मान गर्ने श्रम मन्त्रालयको कार्यक्रम अन्तरगत उनी सम्मानित पनि भएका छन्। यो सम्मानले उनको हौसला बढाएको छ।

सरकारका तर्फबाट पर्याप्त प्रोत्साहन भए नेपालमा धेरै व्यवसाय गर्न सकिने उनी बताउँछन्। सरकारले खासगरी सहुलियत ऋणका साथै बिउ, मल, सिँचाइ सुविधा, शीतभण्डारको प्रबन्ध र वस्तुको बजारीकरणमा सहयोग गर्नुपर्ने उनको भनाइ छ।

'परदेशमा दुःख धेरै छ। सरकारले व्यवसायको वातावरण सहज बनाइदिने हो भने धेरै युवा आफ्नै देशमा काम गर्छन्,' ४४ वर्षीय रविलालले भने।

Published on: 17 July 2024 | Setopati

Link

Back to list

;