s

कोरियाबाट फर्केका ८० प्रतिशत स्वरोजगार

नवराज ढकाल
दक्षिण कोरियामा काम गरेर फर्केकामध्ये ८० प्रतिशत स्वरोजगार रहेको पाइएको छ । दक्षिण कोरियामा निकै मेहनत गर्ने बानी विकास भएकाले अधिकांशलाई फर्किएपछि पनि उत्पादनमूलक तथा आयआर्जनका काममा लाग्ने उत्प्रेरणा मिलेको हो । फर्किएकामध्ये ६३ प्रतिशतभन्दा बढीले आफैंले विभिन्न किसिमका उद्योगव्यवसाय सञ्चालन गरेका छन् भने कतिपय कृषि र पशुपालनमा लागेका छन् ।
 
सरकारले कोरियाबाट फर्केका कामदारको वास्तविक अवस्था पत्ता लगाई उनीहरूलाई रोजगारका कार्यक्रम सञ्चालन गर्न के गर्न सकिन्छ भनेर गरेको एक अध्ययनले कोरियाबाट फर्केका ८० प्रतिशतभन्दा बढी युवा कुनै न कुनै काममा आबद्ध भएको देखाएको हो । 
 
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको आर्थिक सहयोगमा कोरियाबाट काम गरेर फर्किएका कामदारको संस्था अंकुर नेपालले यो अध्ययन गरेको हो । अध्ययनमा जम्मा २० प्रतिशत रिटर्नी (फर्केका) मात्र बेरोजगार रहेको देखिएको छ । यसैगरी फर्किएकाहरू पर्यटन, शिक्षा, सेवामूलक तथा सामाजिक कार्यमा पनि उत्तिकै सहभागी भएका छन् ।
 
फर्किएकाहरूले नेपालमै स्वरोजगारमूलक काम गर्न सरकारले सहुलियत ऋण तथा सीप विकासको तालिम दिनुपर्ने माग गरेका छन् । अध्ययनमा सहभागीमध्ये ७२.५२ प्रतिशतले सहुलियत ऋण र सीपविकासका तालिम उपलब्ध गराउनुपर्ने बताएका छन् ।  १.२६ प्रतिशतले आफ्ना छोराछोरीलाई कोरियामा पठाउन पाउनुपर्ने माग गरेका छन् । अध्ययनमा १५ जिल्लाबाट फर्किएका नौ सय ५० जनालाई सहभागी गराइएको थियो । विगतमा कोरिया गएकामध्ये धरैजना फर्किएका जिल्लालाई समावेश गरिएको ईपीएस कोरिया शाखाले जानकारी दिएको छ ।
 
ईपीएस सेन्टर नेपालका निर्देशक ली दोङ सिर्कले कोरियाबाट फर्केकाका लागि नेपालमा स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्न सके कोरियामा अवैध रूपमा बस्ने प्रवृत्ति घटाउन सहयोग पुग्ने बताए । रोजगार अनुमति प्रणालीअन्तर्गत गएका कामदारमध्ये पाँच प्रतिशत हाराहारीमा मात्र अवैध रहेको उनले जानकारी दिए ।
 
कोरियामा गएका कामदार करार अवधि सकिएपछि पनि उतै बस्ने क्रम बढ्न थालेपछि त्यसलाई न्यूनीकरण गर्न स्वरोजगारमूलक तालिम दिने र व्यवसाय सञ्चालनका लागि १० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने तयारी भएको छ ।  सहुलियतपूर्ण ऋण उपलब्ध गराउन ईपीएस कोरिया शाखाले कार्यविधि बनाएर श्रम तथा रोजगार मन्त्रालयमा पेस गरिसकेको छ । मस्यौदामा १० लाख रुपैयाँ सहुलियत ऋण र कामसँग सम्बन्धित तालिम दिने योजना बनाइएको छ । 
 
ईपीएस सेन्टर नेपालका व्यवस्थापक रामचन्द्र गिरिले कोरियामा निकै मेहनत गर्ने बानी भएकाले फर्किएकामध्ये अधिकांशले नेपालमा पनि केही न केही काम गरेको बताए । ‘फर्किएकै व्यक्तिहरूबाट अध्ययन गराइएकाले वास्तविक अवस्था पत्ता लगाउन सजिलो भएको छ’, उनले भने । 
कोरिया रोजगारीको आकर्षक गन्तव्य हो । नेपालले सरकारी तबरबाट सन् २००८ देखि कोरियामा प्रशिक्षार्थी कामदार पठाउन थालेको हो । त्यहाँ गएका कामदारले मासिक न्यूनतम एक लाख नौ हजार रुपैयाँ तलब पाउँछन् ।  
 
उद्योग, कृषि तथा पशुपालनमा नेपालीले काम गरिरहेका छन् । आगामी वर्षमा जाने कामदारको परीक्षा असोज २ र ३ गते हुँदैछ । सन् २०१६ मा अधिकतम पाँच हजार तीन सय नेपालीलाई लैजाने सीमा कोरियाले तोकिसकेको छ ।  ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले फर्किएका कामदारलाई उद्यमशील कार्यक्रममा सहभागी गराएर आत्मनिर्भर बनाउन सरकारले सहुलियतपूर्ण ऋण र तालिम दिने तयारी गरेको जानकारी दिए । 
 
श्रम तथा रोजगार मन्त्रालयबाट कार्यविधि स्वीकृत हुनेबित्तिकै सीपमूलक तालिम र सहुलियत ऋण दिने योजना ईपीएस कोरिया शाखाले बनाएको छ । सहुलियत ऋण लिन चाहनेको संख्या बढ्दो रहेको ईपीएस शाखाले जानकारी दिएको छ । 
 
Published on: 9 August 2015 | Annapurna Post
 

Back to list

;