s

कोरियाबाट आयो ११ सय जनाको सम्झौता

दक्षिण कोरियाले भाषा परीक्षा उत्तीर्ण गरेका १ हजार १ सय नेपाली कामदारको श्रम सम्झौता पठाएको छ । सन् २०१८ का लागि भाषा परीक्षा उत्तीर्ण गरेका पाँच जना यस अघि नै कोरिया उडिसकेका छन् ।
 
उनीहरु सन् २०१८ को पहिलो चरणका हुन् । १ हजार १ सयभन्दा बढीको ‘लेबर कन्ट्रयाक्ट’ आउन लागेको ईपीएस कोरिया शाखा ग्वार्कोले जानकारी दिएको छ ।
 
रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरियाली भाषा परीक्षामा यस वर्षका लागि १२ हजार एक सय आठ परीक्षार्थी उत्तीर्ण भएका हुन् । जवकि भाषा परीक्षा भने ६८ हजारभन्दा बढीले दिएका थिए ।
 
यसैसाता सन् २०१८ का लागि ईपीएस परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारको छनोट थालेको कोरियाले शुरुवातमै उक्त अपेक्षा गरे भन्दा बढी संख्यामा श्रम सम्झौता पठाएको हो । गत वर्ष पहिलो लटमा पाँच सय कामदारको मात्रै कन्ट्रयाक्ट पठाएको थियो ।
 
भाषा परीक्षा उत्तीर्ण गरेका कामदारको चार चरणमा छनोट गर्ने गरेको कोरियाको मानव संशाधन विकास विभागले पहिलो चरणमा कृषि र उत्पादनमूलक दुवैतर्फका कामदार छान्न शुरु गरेको छ । आगामी बैशाख अन्त्य अर्थात मे महिनामा दोस्रो चरणको छनोट शुरु हुने बताइएको छ । रोजगारदाता कम्पनीहरुले परीक्षा उत्तीर्ण भएका मध्येबाट आफूलाई आवश्यक पर्ने कामदारको भाषा परीक्षण गरेर छान्ने गरेका छन् । अघिल्लो वर्ष भाषा परीक्षा उत्तीर्ण गरेका ३५ सय मध्ये करिब डेढ सय आवेदक अझै कोरिया उड्न पाएका छैनन् । कोरीयाले सन् २००७ मा नेपालसँग श्रम सम्झौता गरी सन् २००८ देखि नेपाली कामदार लिन शुरु गरेको हो । मासिक एक लाख रुपैयाँभन्दा बढी कमाइ हुने भएकाले नेपाली कामदारको आकर्षण कोरियामा अत्याधिक छ । अहिले नेपाली कामदारको न्यूनतम तलब मासिक एक लाख ४२ हजार रुपैयाँ तोकिएको छ । कोरियाका लागि आगामी चैतमा सन् २०१९ का लागि भाषा परीक्षा हुँदैछ । तर नेपालबाट भाषा परीक्षा उत्तीर्ण गरी गएका कामदारको भाषा दक्षता अति नै न्यून रहेको भन्दै कोरीयाली रोजगारदाताहरुले गुनासो गर्ने गरेका छन् ।
 
Published on: 15 February 2018 | Madhyanha 

Back to list

;