s

कोरियाबाट फर्केर गाउँमा रिसोर्ट

लामो समय भारतको मुम्बईमा क्यामरा सहायकका रूपमा काम गर्ने सुनवल-३ का कमल मगर बढी कमाउन दशकअघि दक्षिण कोरिया हानिए । त्यहाँको एक उद्योगमा काम पाए पनि सोचे जस्तो कमाइ भएन । 

मुम्बईमा मासिक २० हजार कमाउने उनले १ लाख रुपैयाँ खर्चेर कोरियामा पुग्दा १९ हजार रुपैयाँ तलबमै चित बुझाउनुपर्योि । काम बढी थियो । 'पैसा थोरै पाउँदा मन खिन्न भयो,' उनले भने, 'जसोतसो ३ वर्ष बिताएँ ।' त्यहाँबाट र्फकेपछि उनले सेकुवा कर्नर खोलेर आफ्नै व्यवसाय सुरु गरे । ४ वर्षसम्म सेकुवा कर्नर चलाउँदा बटुलेको अनुभवले उनले होटल सनसाइन खोले । व्यवसाय चल्न थालेपछि हौसिएका कमलले भर्खरै साझेदारीमा रिसोर्ट सञ्चालनमा ल्याएका छन् । 
 
सुनवल चोकदेखि २ किलोमिटर दक्षिण स्वाठी-२ नयाँबस्तीमा सञ्चालित रिसोर्ट यस क्षेत्रको पहिलो भएको उनको दाबी छ । ३ बिघा जग्गा भाडामा लिएर स्थानीय कृष्ण पौडेलसँंग साझेदारीमा ८० लाख लगानी गरी खोलिएको लोटस रिसोर्ट राम्रै चलेको उनले बताए । रिसोर्टमा स्विमिङपुल, गार्डेन, बोटिङ, फिसिङजस्ता सेवा छन् । १२ वटा कोठामा सधै आन्तरिक र बाह्य पर्यटक भरिभराउ रहने गरेको उनले बताए । 'ठूलो कार्यक्रम गर्नलाई समस्या छैन,' उनले भने, '४ सय जना अट्ने सभा हल र छुट्टाछुट्टै मिटिङ हल छन् ।' पर्यटकका लागि उनले रामग्राम स्तुप, देवदह, त्रिवेणीधाम, सुनवल महलपोखरीमा पदमार्गलगायत लुम्बिनी र भारतको निचलौल बजारसम्म पर्यटकलाई घुमाउने प्याकेज ल्याएको बताए । विदेशमा लगानी र परिश्रम गर्नुभन्दा आफ्नै मुलुकमा केही गरौं भनेर रिसोर्ट खोलेको उनले जानकारी दिए । रिसोर्ट थपिएकाले पर्यटन विकासमा राम्रो सहयोग मिल्ने रामग्राम पर्यटन समितिका अध्यक्ष श्रीधर बस्यालले बताए । 'परासी क्षेत्रमा यस्ता व्यवस्थित रिसोर्ट अभाव हुँदा रामग्राम आउने पर्यटक बास बस्न बुटवल जानुपर्ने बाध्यता थियो,' उनले भने, 'रिसोर्ट खुलेकाले सुविधा भएको छ ।'
 
Published on: 27 March 2013 | Kantipur
 

Back to list

;