s

कोरियाबाट 'आमा घर’ लाई ८ लाख

देवेन्द्र सम्बाहाम्फे

कोरियामा रहेका नेपालीले 'आमा घर' लाई करिब ८ लाख रुपैयाँ सहयोग गरेका छन् । विभिन्न संस्थाहरूले संकलन गरेको सो रकम 'आमा घर' की सञ्चालिका दिलशोभा श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । सोल र किम्हेमा उक्त रकम हस्तान्तरणसँगै ती संस्थाले श्रेष्ठलाई सम्मान पनि गरेका छन् । भिजन नेपाल नामक संस्थाको सक्रियतामा श्रेष्ठलाई यहाँ बोलाइएको हो । गत साता सोलमा भिजन नेपाल, वमन फर वमन, नेपालकोरिया न्युज डटकमलगायत दर्जनभन्दा बढी संस्थाले संयुक्त रूपमा ६ लाख रुपैयाँ सहयोग गरेका थिए भने आइतबार किम्हे माइग्रेन्ट हाउसमा २ लाख रुपैयाँ प्रदान गरिएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा श्रेष्ठले समाज सेवाका लागि धनभन्दा मन ठूलो हुने कुरा बताइन् । 'आमा घर' सञ्चालनका लागि आफूले दिनुस् भनेर कसैसँग नमागेको उल्लेख गर्दै उनले दाताहरूको सहयोगमा वृद्ध, वृद्धा तथा द्वन्द्वपीडित बालबालिकाको सेवा गर्न पाइरहेको बताइन् । श्रेष्ठले विगतमा आफूले पाएको दुःख सुनाउँदा उपस्थितहरू भावविह्वल बनेका थिए । उनले मरेपछि भन्दा बाँच्दैको श्रद्धा उचित हुने भएकाले परदेशमा बसे पनि आमाबुबालाई श्रद्धा गर्न आग्रह गरिन् । बूढापाका र बालबालिका सडकमा अलपत्र हुन नपरोस् भन्ने आफ्नो उद्देश्य रहेको उनले उल्लेख गरिन् ।
 
Published on: 25 March 2013 | Kantipur
 

Back to list

;