s

कोरिया रोजगारीका लागि आवेदन माग

काठमाडौँ, मङ्सिर १३ गते । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ दक्षिण कोरिया जानेका लागि भाषा परीक्षाको आवेदन दिने मिति तोकिएको छ ।

वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सन् २०२३ मा कृषि तथा पशुपालनका लागि छ हजार कामदारको माग आएकाले पुस ४ देखि ८ गतेसम्म आवेदन दिन सक्ने गरी आवेदन माग गरेको हो ।

ईपीएस शाखाका अनुसार कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षाको पहिलो चरणको परीक्षा आउँदो माघ १६ देखि माघ २७ गतेसम्म हुनेछ भने दोस्रो चरणको परीक्षा फागुन ८ देखि फागुन २६ गतेसम्म हुनेछ । सबै परीक्षा काठमाडौँमा नै सञ्चालन हुनेछ । एक दिनमा चार सिफ्टमा परीक्षा सञ्चालन गरिने ईपीएस कोरिया शाखाले जनाएको छ ।

यस्तै भाषा परीक्षामा उत्तीर्ण भएका उम्मेदवारको पहिलो चरणको सीप परीक्षण फागुन ३ देखि ५ गतेसम्म हुनेछ भने दोस्रो चरणको सीप परीक्षण चैत १ देखि ३ गतेसम्म हुने ईपीएस शाखाले जनाएको छ ।

भाषा परीक्षामा प्राप्त गरेको अङ्कका आधारमा अधिकतम अङ्क प्राप्त गर्नेमध्ये रोस्टरमा सूचीकृत गर्न पहिलो चरण र दोस्रो चरणमा गरी उत्तीर्ण भएका करिब छ हजार जनाको अन्तिम नजिता प्रकाशित हुने पनि शाखाले जनाएको छ तर कोरियाको मागका आधारमा उत्तीर्णको सङ्ख्यामा थपघट पनि हुन सक्नेछ । भाषा र सीप परीक्षण दुवैमा उत्तीर्ण भएकाले मात्रै कोरियाको रोजगार आवेदन फाराम भर्न पाउनेछन् ।

Published on: 29 November 2022 | Gorkhapatra

Link

Back to list

;