s

कोरिया रोजगारी : ८८ को मृत्यु, १९ को आत्महत्या

उत्तम काप्री

रोजगारीका लागि कोरिया पुग्ने नेपालीमध्ये प्रत्येक वर्ष नौ जनाले ज्यान गुमाउने गरेको देखिएको छ । पछिल्लो एक दशकमा ८८ जनाको मृत्यु भएको र १९ जनाले आत्महत्या गरेको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले जनाएको छ ।

ईपीएस शाखामा अनुसार सन् २०१८ को जुन महिनासम्ममा मात्रै रोजगारीका लागि कोरिया पुगेका ६ कामदारले ज्यान गुमाइसकेका छन्, जसमा एक जना कामदारले आत्महत्या गरेको शाखाको रिर्पोटमा उल्लेख छ । एक जनाको स्वाभाविक मृत्यु भएको थियो भने दुई जनाको सुतेको अवस्थामा र दुई जनाको कार्यस्थल दुर्घटनामा परी ज्यान गएको ईपीएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले बताए।
 
नेपाल र कोरिया सरकारकार बीच सन् २००७ मा भएको दुई पक्षीय श्रम सम्झौतापछि सन् २००८ देखि ईपीएस भाषा परीक्षा पास गरेर नेपाली कोरियाको रोजगारीमा जाने थालेका हुन् । यसअघि सन् १९८० देखि नेपालबाट रोजगारी र विभिन्न व्यक्तिगत कामका लागि नेपाली कोरिया जाने गरेका थिए । दश वर्षकै अवधिमा नेपालबाट ६० हजारभन्दा बढी युवा रोजगारीको सिलसिलामा कोरिया पुगिसकेका छन् ।
 
दश वर्षकै अवधिमा कोरियामा १९ जना नेपालीले आत्महत्या गरिसकेका छन् । यसैगरी सुतेकै अवस्थामा मृत्यु हुनेको संख्या १५, कार्यस्थल दुर्घटनामा परी मृत्यु हुनेको संख्या भने १२ रहेको शाखाले जनाएको छ । यसबाहेकको मृत्यु भने स्वभाविक, हत्या, सडक दुर्घटना र कारण नखुलेको रहेको छ ।
 
शाखाका अनुसार सन् २०१७ मा सबैभन्दा बढी २२ जनाले ज्यान गुमाएका थिए, जसमा ८ जना आत्महत्या, पाँच जना सुतेको अवस्थामा र पाँच जनाले कार्यस्थल दुर्घटनामा ज्यान गएको हो। यसैगरी २०१६ मा ११, २०१५ मा १५, २०१४ मा तीन, २०१३ मा १३, र २०१२ मा ७ जनाको ज्यान गएको ईपीएस शाखाले जनाएको छ । त्यसभन्दा अघि सन् २००८ देखि २०११ सम्म चार वर्षको अवधिमा ज्यान गुमाउनेको संख्या ११ रहेको थियो ।
शाखाको रिपोर्टअनुसार आत्महत्या गर्नेको संख्या सन् २०१७ मा आठ, २०१६ मा तीन, सन् २०१५ मा एक, २०१३ मा दुई र २०१२ मा चार रहेको छ । सन् २००८ देखि २०११ को अवधिमा भने नेपाली कामदारले आत्महत्या गरेका थिएनन् ।
 
कोरियाबाट फर्कने नेपालीहरूको संस्था ‘अंकुर’ले कोरियामा ज्यान गुमाउनेहरूमध्ये ३० प्रतिशत कामदारको सुतेकै अवस्थामा मृत्यु भएको जनाएको छ । अंकुरको रिपोर्टअनुसार मृत्यु हुनेमध्ये २८ प्रतिशतले आत्महत्या गरेका छन् । यसैगरी औद्योगिक दुर्घटनामा १६ प्रतिशत, सडक दुर्घटनामा ८ प्रतिशत र बिरामी भई मृत्यु हुनेमा १५ प्रतिशत रहेको उक्त रिर्पोटमा उल्लेख छ ।
 
किन आत्महत्या ?
 
कामको बोझले मानसिक तनाव उत्पन्न हुँदा आत्महत्या गर्नेको संख्या बढेको शाखाको प्रवक्ता भण्डारीले बताए । ‘लाखौं आम्दानी गर्ने सोचमा कोरिया पुगे पनि भने जति आम्दानी नहुँदा निराश भएर आत्महत्या गर्ने घटना बढेको छ’, उनले भने, ‘कतिपय अवस्थामा पारिवारिक तनावका कारण पनि आत्महत्या गरेको पाइएको छ ।’
 
नेपालमा काम गर्ने बानी नभएका तर कोरिया पुगेर अति संवेदनशील र कठिन क्षेत्रमा काम गर्नुपर्दा आत्महत्या गर्नेको संख्या बढेको उनले दाबी गरे । भाषा, संस्कृति तथा खानपान आफू सुहाउँदो नहुँदा, सहकर्मी र रोजगारदाताबाट दुव्र्यवहार हुँदा पनि कामदारले आत्महत्या गरेको हुन सक्ने भण्डारीको भनाइ छ । अंकुरको अध्ययनले चाहिँ विगतको शारीरिक तथा मानसिक रोग बल्झिँदा आत्महत्या गर्ने गरेको देखाएको छ ।
 
यसबाहेक महारोग लागेको शंका, घरपरिवारले रकमको दुरूपयोग गरेको अवस्था, काम गर्न नसक्दा, नेपाल फर्कन नपाउँदा र कमजोर शारीरिक विचलनका कारण पनि आत्महत्या बढेको शाखाको भनाइ छ ।अत्यधिक मदिरा सेवन गर्दा, नियमित स्वास्थ्य परीक्षण नगर्दा, व्यायामको अभाव हुँदा, अत्यधिक चिसोबाट एक्कासि तातो तथा तातोबाट चिसोमा बस्दा सुतेकैै अवस्थामा मृत्यु हुने गरेको अध्ययनले देखाएको छ ।
 
आत्महत्याका घटना न्यून गर्न मनोसामाजिक चिकित्सकको नेपाली टोली परामर्शका लागि कोरिया पठाउन सरकारले तयारी गरेको ईपीएस कोरिया शाखाले जनाएको छ । भाषा परीक्षाको भरमा गएर मेसिन चलाउने काममा संलग्न हुँदा कामदारको कार्यस्थलमै मृत्यु हुने गरेको कोरियाको रोजगारीबाट फर्किएका गोरखाका विदुर ढकाल बताउँछ्न । १० वर्ष कोरिया बसेका ढकालले कोरियामा बढ्दो मृत्युको घटना न्यूनीकरण गर्न नेपाल तथा कोरिया सरकार र सम्बन्धित परिवार पनि ध्यान दिनुपर्ने सुझाव दिन्छन् ।
 
यसैबीच नेपालले ईपीएस परीक्षा प्रणालीमा सुधार गर्ने तयारी गरेको छ । शाखाले सन् २०२० देखि रोजगारीका लागि कोरिया जाने कामदारले सिप परीक्षा पनि पास गर्नु पर्ने गरी नयाँ व्यवस्था लागू गर्न लागेको हो ।
 
Published on: 28 June 2018 | Annapurna Post

Back to list

;