s

कोरिया रोजगार नवीकरण

नेपाली कामदारका लागि आकर्षक गन्तव्य कोरियाको रोजगार नवीकरण भएको छ। नेपाल र कोरियाबीच बिहीबार दुई वर्षका लागि ईपीएस रोजगार अनुमति प्रणालीको नवीकरण भएको हो। सन् २००७ मा सम्झौता भई सन् २००८ बाट रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत नेपाली कामदार कोरिया जान थालेका हुन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियाले हस्ताक्षर गरी पठाएको सम्झौतापत्रमा सरकारले बिहीबार हस्ताक्षर गरेको हो। मन्त्रालयका वैदेशिक रोजगार व्यवस्थापन शाखा अधिकृत सुरेश सुवेदीले बिहीबार कोरिया र नेपालबीच ईपीएस रोजगारका लागि सम्झौता भएको बताए। ‘दुई वर्षका लागि सम्झौता भए पनि अर्को सम्झौता नभएसम्म उक्त सम्झौताअनुसार नै काम हुन्छ’, उनले भने।

नेपाली कामदार (जी–टु–जी) मार्फत कृषि र उत्पादनमूलक क्षेत्रमा काम गर्न कोरिया गइरहेका छन्। कोरियामा नेपाली कामदारले मासिक न्यूनतम एक लाख ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्छन्। कोरिया पुग्न नेपालीले ९१८ दशमवल ५९ अमेरिकी डलर शुल्क तिर्नुपर्छ।

कोरिया जान चाहने कामदारले भाषा परीक्षा अनिवार्य पास गर्नुपर्ने हुन्छ। भाषा परीक्षाका लागि कोटाको कैयौं गुणाले फारम भरी परीक्षा दिने गरेका छन्। मन्त्रालयका अनुसार गत असारसम्म ५५ हजार ६ सय ३७ जना नेपाली कोरिया पुगेका छन्। ५२ हजार दुई सय ४० जना पुरुष र तीन हजार तीन सय ९० जना महिला कोरिया पुगेका हुन्। सरकारले कोरिया पुग्नेको तथ्यांक राख्ने गरे पनि फर्किनेको तथ्यांक छैन।

कोरियाले वार्षिक सात हजारको हारहारीमा नेपाली कामदार लगिरहेको छ। अघिल्ला वर्षको तुलनामा कोरिया पुग्ने कामदारको संख्या थपिँदै गएको छ। कोरियाले ईपीएस भाषा प्रणालीमार्फत १६ देशबाट कामदार लैजादै आएको छ। अन्य देशको तुलनामा नेपाली कामदार इमान्दार देखिएको कोरियाको भनाइ छ।

Published On: 21 September 2018 | Annapurna post

Back to list

;