s

कोरिया पठाउने प्रक्रिया पारदर्शी नभएको भन्दै गाउँपालिकामा नाराबाजी

भीम चापागाईं 

दक्षिण कोरियामा मौसमी कामदार पठाउने प्रक्रिया पारदर्शी नभएको भन्दै फाकफोकथुम गाउँपालिकाका युवाले विरोध जनाएका छन्। 

असन्तुष्ट युवाले गाउँपालिका परिसरमा घेराउ र नाराबाजी समेत गरेका छन्। फाकफोकथुम गाउँपालिका र दक्षिण कोरियाको इन्जे काउन्टीबीच गत पुस २४ मा सम्झौता भइ यहाँबाट मौसमी ट्रेनी कामदार कोरिया लैजाने सहमति भएको थियो। 

सहमतिअनुसार कामदार छनोटमा गाउँपालिकाका केही जनप्रतिनिधिले ‘आफ्ना मान्छे’ धमाधम कोरिया पठाउन लागेको भन्दै युवाले विरोध जनाएका हुन्। फाकफोकथुम गाउँपालिका–१, ठिङ्गेपुरका हाङसुरुम्बा लिम्बूले गाउँपालिकाले सुटुक्क कामदार छनोट गर्न लागेकाले आफूहरूले विरोध जनाएको बताए। 

‘गाउँपालिकाले मौसमी कामदार पठाउन युवाबाट आवेदन माग्यो तर छान्ने बेला केही जनप्रतिनिधिले आफ्ना मान्छेमात्रै छानेपछि हामीले विरोध गरेका हौं,’ उनले भने, ‘कामदार के आधारमा छानिए, कुन प्रक्रियाले छानिए भन्ने कुनै जानकारी दिइएन, विर्तामोडमा वैदेशिक रोजगारी व्यवसायीसँग समेत बसेर धमाधम आफू निकटलाई फोन गरी मेडिकल जाँचमा बोलाइएको रहेछ।’ 

लिम्बूका अनुसार युवाबाट आवेदन लिन गाउँपालिकाले सूचना गर्‍यो तर कति कामदार छनोटमा परे भन्ने भन्ने सूचना कतै निकालिएको छैन। र, छनोटको कुनै प्रक्रिया छैन। तर, आवेदन दिएका र बाहिरी गाउँपालिकाका युवालाई समेत मेडिकल जाँचमा बोलाइएको स्थानीय युवाको आरोप छ। छनोटमा नपरेका आक्रोशित युवाले गाउँपालिका कार्यालयमा तालाबन्दीसमेत गर्ने प्रयास गरेका छन्। 

गाउँपालिकाले गत फागुन १६ मा सूचना निकालेर मौसमी कामदारका रूपमा कोरिया जान चाहने युवाबाट फागुन २६ भित्र आवेदन आह्वान गरेको थियो। जान चाहने व्यक्तिबाट योग्यताका अन्य प्रमाणसहित मेडिकल रिपोर्ट, प्रहरी रिपोर्ट, १० लाख रुपैयाँसम्मको बैंक ग्यारेन्टीलगायत माग गरिएको थियो। 

सूचनाअनुसार ३० देखि ४५ वर्ष उमेरसमूहको व्यक्ति कामदारका लागि लैजान योग्य हुने भनिएको छ। मौसमी कामदारका रूपमा कोरिया जान साढे ३ लाख रुपैयाँ हाराहारी खर्च हुने गाउँपालिकाले आफूहरूलाई भनेको पनि ती युवाले बताएका छन्। तर, ३० भन्दा कम उमेरको युवालाई समेत गाउँपालिकाले फोन गरी मेडिकल जाँचमा बोलाएको असन्तुष्ट युवाले जनाएका छन्। 

‘गाउँपालिकाले सूचना निकालेपछि कतिपय युवाले काठमाडौंसम्म पुगेर हजारौं युवाको भिडमा लामबद्ध भएर पनि राहदानी बनाएर ल्याइ गाउँपालिकामा आवेदन दिएका छन्,’ लिम्बूले भने, ‘निकै दुःख गरेर आवेदन दिनेहरू हेरेको हेरै भए, गाउँपालिकाले प्रक्रियै नपुर्‍याइ धुमाधम फोनबाट कामदार छानेपछि हामीले आपत्ति जनाएका हौं।’ 

गाउँपालिकाको सूचनामा कोरियामा कामको अवधि नखुलाइए पनि ६ महिनासम्मको रहने जनाइएको छ। मौसमी कामदारका रूपमा कोरिया जान चाहने ५ सयभन्दा बढी युवाले गाउँपालिकामा आवेदन पेस गरेका थिए। तिनीहरूमध्ये १ सय ५ जना छानिने गाउँपालिकाले बताएको थियो। तर, १ सय २२ हाराहारी युवालाई वैदेशिक रोजगारी व्यवसायीसँग बसेर सुटुक्क फोन गर्दै मेडिकल जाँचमा बोलाइएको असन्तुष्ट युवा बताउँछन्। 

‘हामी छनोट प्रक्रियामा असन्तुष्ट भएको बुझेपछि मलाई पनि २ जनाको कोटा दिन्छौं, आन्दोलन नगर्नू भन्ने आश्वासन आएको थियो,’ लिम्बूले खुलाए, ‘तर, म पहिला पनि कोरिया बसेर आएको मान्छे, मलाई प्रक्रिया बिना भाग हात पार्ने लोभ छैन, गाउँका युवालाई पारदर्शी हिसाबले कोरिया पठाउने प्रयासमा आन्दोलन गरिएको हो। बरु म नजाँदा केही हुँदैन।’ 

असन्तुष्ट युवाले विज्ञप्ति जारी गरी मौसमी कामदार छनोट प्रक्रिया पारदर्शी बनाउन माग गरेका छन्। उनीहरूले छनोटप्रक्रिया पारदर्शी नबनाए मौसमी कामदार पठाउने योजना नै खारेज गर्नसमेत माग गरेका छन्। प्रक्रिया पूरा नगरिए आन्दोलन नरोकिने आन्दोलनरत युवाको चेतावनी छ। युवाको विरोधका कारण गाउँपालिकाले तत्काललाई कामदार पठाउने प्रक्रिया स्थगित गरेको छ। 

आउँदो सोमबार कार्यपालिका बैठक बसेर यसको समाधान खोज्ने भन्दै गाउँपालिकाले सूचना निकालेको छ। फाकफोकथुम गाउँपालिका र इन्जे काउन्टीबीच सम्झौता गर्न सक्रिय स्थानीय देवेन्द्र रेग्मीले योग्यता पुगेर आवेदन दिएका सबैजसो कामदारलाई पालैसँग कोरिया पठाउन सकिने बताए। ‘अहिले छनोटमा परिएन भनेर विरोध जनाइहाल्नुपर्ने अवस्था होइन,’ उनले भने, ‘योग्यता पुगेका युवा पालैपालो मौसमी कामदारका रूपमा कोरिया जान सक्छन्।’ 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवनाथ यादवले सुरुमा कामदारको आवेदन लिन प्रक्रिया पुगेको भएपनि छनोटमा चाहिँ प्रक्रिया नपुगेको स्वीकारे। ‘छनोटमा को–को परे भन्नेबारे सूचना निकालिएन,’ उनले भने, ‘गाउँपालिका जम्मा भएको आवेदन र सबै कागजात लिएर अध्यक्षज्यूहरू बिर्तामोड जानुभएको थियो, त्यही छानिएका युवामध्ये १ सय २२ जनाको नाम वडाध्यक्षहरूमार्फत् आएको रहेछ, त्यो चाहिँ प्रक्रिया नपुगेकै हो।’ 

उनले आउँदो कार्यपालिका बैठकले यो समस्या समाधान गर्ने बताए। गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले गाउँपालिकाले गाउँपालिकाका ७ वटा वडाबाट १५ जनाको दरले १ सय ५ कामदार छानिएको बताए। उनले आफू पर्नेले समर्थन र नपर्नेले विरोध गरेको पनि बताए। तर, उनले आफूले मेडिकल जाँच गराउन कसैलाई फोन नगरेको दाबी पनि गरे। 

‘छनोटको प्रक्रिया बाँकी नै छ, छानिएका कामदारको नामसूची निस्किनै बाँकी छ,’ उनले भने, ‘को–को गएर कहाँ मेडिकल जाँच गराए, त्यो त पत्तो भएन।’ अध्यक्ष श्रेष्ठले ‘आफ्ना मान्छे कामदारका रूपमा छनोटमा पार्न’ हो–हल्ला र विरोध गरिएको हुनसक्ने जवाफ दिए।

Published on: 21 March 2022 | Nagarik

Link

Back to list

;