s

कोरियाले ईपीएसमार्फत ५५ हजार भित्र्याउने

दक्षिण कोरियाले ईपीएसमार्फत सन् २०१५ मा ५५ हजार प्रवासी कामदार भित्र्याउने भएको छ। प्रवासी मजदुर नीति कार्यान्वयन समितिले प्रस्ताव गरेको उक्त कोटालाई प्रधानमन्त्रीको सचिवालयले स्वीकृत गरेको हो।

अघिल्लो मंगलबार श्रम तथा रोजगार सहायक मन्त्री खो यङ सनको अध्यक्षतामा बसेको बैठकले २०१५ का लागि ५५ हजार प्रवासी मजदुर कोरिया भित्र्याउने निर्णय गरेको थियो। कोटा आउँदो जनवरीदेखि वितरण गरिने जनाइएको छ। स्वीकृत कोटा औद्योगिक उत्पादन, कृषि, मत्स्यपालन, निर्माण र सेवा क्षेत्रका लागिछुट्याइएको छ। ५५ हजारमध्ये पहिलोपल्ट कोरिया प्रवेश गर्ने नयाँ मजदुरका लागि ४५ हजार छुट्याइएको छ। त्यस्तै प्रथम कार्यावधि पूरा गरेर पुनः प्रवेश गर्ने मजदुरहरूका लागि १० हजार छुट्याइएको छ। यही कोटाबाट चौथो भाषा परीक्षा उत्तीर्ण भएर बाँकी रहेका करिब २ हजार र पाँचौं भाषा परीक्षा उत्तीर्ण गरेका ३ हजार ६ सय ६३ नेपाली उम्मेदवार कोरिया आउनेछन्। उक्त कोटा गत वर्षको भन्दा २ हजार बढी हो।

समितिको बैठकले कामको क्षेत्रका आधारमा कोटा निर्धारण गरेको थियो। जस अनुसार उत्पादन क्षेत्रमा ४२ हजार ४ सय, कृषि क्षेत्रमा ६ हजार निर्माण क्षेत्रमा २ हजार ३ सय, मत्स्यपलानामा २ हजार २ सय र सेवा क्षेत्रमा १ सय रहेको छ। २ हजार कोटा भने कम्पनीहरूमा कामदारको माग बढी भएमा मात्र वितरण गर्ने समितिले निर्णय गरेको छ। कम्पनीहरूले मजदुरको माग नगरे २०१५ मा ५३ हजार प्रवासी कामदार मात्र कोरिया आउनेछन्। २०१५ का लागि छुट्याइएको कोटा चार चरणमा वितरण गरिने भएको छ। जसअनुसार जनवरीमा ९ हजार ८ सय ६० औद्योगीक उत्पादन क्षेत्रमा, ३ हजार ९ सय ५० कृषिमा, १ हजार ४ सय ६० मत्स्यपालन र २ हजार २ सय ८० निर्माण क्षेत्रमा वितरण गरिने जनाइएको छ। त्यस्तै अपि्रल महिनामा ९ हजार ८ सय ६० औद्योगिक, १ हजार ७ सय कृषि र ६ सय ३० मत्स्यपालन क्षेत्रमा वितरण गरिनेछ भने जुलाईमा ६ हजार ६ सय र अक्टोबरमा ६ हजार ५ सय ७० औद्योगिकतर्फ वितरण गर्ने योजना रहेको प्रधानमन्त्रीको सचिवालयद्वारा पत्रकारलाई दिइएको पत्रमा उल्लेख छ।

त्यस्तै कोरिया सरकारले २०१४ का लागि छुट्याएको ५३ हजार कोटामध्ये ५१ हजार २ सय ११ कोटा कम्पनीहरूलाइ रोजगार अनुमतिपत्र दिइसकिइएको। १ हजार ७ सय ८९ बाँकी रहेको समितिले जनाएको छ। अर्को वर्ष २६ हजार ९ सय ३९ को कार्यावधि सकिने समितिको बैठकमा जनकारी गराइएको थियो।

कोरियाली अध्यागमन विभागका अनुसार यहाँका ६४ हजार साना तथा मझौला कम्पनीहरूमा हाल ७ लाख ४९ हजार ४ सय २४ जना प्रवासी कामदार रहेका छन्। यीमध्ये ईपीएसअन्तर्गत आएका १५ मुलुकका मजदुरहरूको संख्या २ लाख ११ हजार २ सय ४२ रहेको छ। गत महिनाको तथ्यांकअनुसार २ लाख ६० जना कामदार अवैधानिक रहेका छन्। कोरियामा सबैभन्दा कम नेपाली अवैधानिक कामदार रहेका छन् भने सबैभन्दा धेरै अवैधानिक कामदार चिनियाँ रहेका छन्। नेपाली अवैधानिक कामदार ३.९ प्रतिशत रहेको छ।

कोरियाले २००४ देखि ईपीएस मार्फत अदक्ष कामदार नेपाललगायत १५ देशबाट भित्र्याउँदै आएको छ। यहाँ नेपाली कामदार २००८ देखि आउन सुरु गरेका हुन्।

Published on: 28 December 2014 | Kantipur

Back to list

;