s

कोरियाले ६४ सय नेपाली कामदार लिने

दक्षिण कोरियाले ईपीएसबाट २०१५ मा ६ हजार ४ सय ३१ नेपाली कामदार ल्याउने भएको छ । यहाँको श्रम तथा रोजगार मन्त्रालयद्वारा प्रकाशित तालिकाअनुसार जनवरीदेखि डिसेम्बरसम्ममा त्यति नेपाली कामदार ल्याइने भएको हो । यो संख्या २०१५ का लागि स्वीकृत कुल कोटा ५५ हजार ४ सय १४ को ११ प्रतिशत हो ।

तालिकाअनुसार नेपाली कामदार सबैभन्दा धेरै 'मे' मा आउने भएका छन् । यस महिना १ हजार ५ सय ६६ जना ल्याइने उल्लेख छ । सबैभन्दा कम सेप्टेम्बरमा १ सय ५५ जना आउनेछन् । कामको प्रकृतिका आधारमा भने कोटा तोकिएको छैन । प्रत्येक महिना विदेशी कामदार ल्याउने नियम कोरियाले पहिलोपटक लागू गरेको हो ।

कम्बोडियालाई ९ हजार १ सय ३ कोटा दिएर पहिलो प्राथमिकतामा राखिएको छ । सबैभन्दा कम चीनलाई १ सय ५८ कोटामात्र दिइएको छ । कोरियामा चिनियाँ कामदार ८० प्रतिशतभन्दा बढी अवैधानिक हुने गरेकाले कोटा कम दिइएको हो । कोरिया सरकारले नेपाललाई तेस्रो प्राथमिकतामा राखेको छ । त्यस्तै दोस्रो, चौथो र पाँचौंमा इन्डोनेसिया, भियतनाम र थाइल्यान्ड छन् ।

यस तालिकालाई आधार मान्दा चौथो, पाँचौं भाषा परीक्षा र सीबीटी (कम्प्युटरमा आधारित परीक्षा) उत्तीण्र गरेका सबै उम्मेरदवार एकै वर्षमा कोरिया आउने सम्भावना देखिएको छ । चौथो भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये अझै २ हजार ७ सय र पाँचौंबाट ३ हजार ६ सय ६३ उम्मेदवार प्रतीक्षासूचीमा छन् ।

बाँकी रहेकामध्ये २०१५ को कोटामा चौथो भाषा परीक्षा उत्तीर्ण गरेका उम्मेदवारलाई पहिलो प्राथमिकता दिइने ईपीएस शाखा नेपालका निर्देशक डिल्लीराम बाँंस्तोलाले जनाए । यसका लागि कोरिया सरकारलाई औपचारिक आग्रहसमेत गरिएको उनले बताए । 'प्रतीक्षा सूचीमा रहने अवधि एक वर्ष मात्र रहेकाले पनि उनीहरूलाई प्राथमिकता दिनुपर्छ,' उनले कान्तिपुरसँग टेलिफोनमा भने ।

Published on: 15 January 2015 | Kantipur

Back to list

;