s

कोरिया जानुअघि भाषा र संस्कृति बुझ्नुपर्छ

योङकुक किम

भाषा समस्या

कोरियाले सन् २००७ देखि नेपालबाट कोरियाली भाषा उत्तीर्ण गरेकालाई कामदारका रूपमा लैजान थालेको हो । कोरियाले नेपालजस्तै अन्य १६ मुलुकबाट कामदार भित्र्याउने गरेको छ । कम्बोडिया, भियतनाम, मंगोलिया, थाइल्यान्ड, फिलिपिन्स, श्रीलंकालगायतका मुलुकबाट कामदार जान्छन् । तुलनात्मक रूपमा कोरियामा आम्दानी राम्रो हुने देश हो । त्यसैले पनि अन्य मुलुकबाट रोजगारका लागि त्यहाँ जाने क्रम बढेको हो । तर, कामदारका आफ्नै समस्या छन् । नेपाली कामदारको मुख्य समस्या भनेको भाषा र संस्कृति हो । नेपाल र कोरियाको भाषामा धेरै अन्तर छ । अन्य संस्कृतिमा पनि उत्तिकै भिन्नता छ । त्यसैले नेपाली कामदार सहजै भिज्न सक्दैनन् । त्यसो त भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जाने हुन् । तर, लेख्नु र बोल्नुमा फरक कुरा हो । नेपालीको उच्चारण र कोरियालीको बोलीमा पनि फरक पर्छ । त्यसैले पनि भाषा उत्तीर्ण गरेकालाई पनि भाषा समस्या हुने गर्छ ।

कोरियाली सरकार गम्भीर

पछिल्लो समय कोरियामा काम गर्ने नेपाली कामदारमा डिप्रेसनको समस्या देखिएको छ । यदाकदा आत्महत्याका घटना पनि सुनिएका छन् । डब्लुएचओको तथ्यांकअनुसार प्रतिएक लाख नेपालीमा २५ जनाले आत्महत्या गर्ने तथ्यांक छ । आत्महत्या गर्नेमा मुलुकमा नेपाल ७औँ स्थानमा छ । २० देखि ३० वर्ष उमेर समूहका युवाले आत्महत्या गरेको भेटिएको छ । कोरियामा पनि यस्तै छ । त्यहाँ आत्महत्या गर्ने नेपाली युवा २० देखि ३० वर्षभित्रका छन् । कोरियामा ५ हजार नेपाली कामदार हुँदा चार जनाले आत्महत्या गरेका थिए । अहिले २० हजार कामदार हुँदा ९ जनाले आत्महत्या गरेको रेकर्ड छ । कामदारको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेको देखिन्छ । तर, प्रतिशतमा यो कम हो । कोरियामा काम गर्न असहज भएकाले आत्महत्या गरेको सुनिन्छ । तर, कारण त्यो मात्रै होइन । कतिपय कामदारले त नेपाल फर्कने एक दिनअगाडि पनि आत्महत्या गरेका छन् । नेपाल फर्कनका लागि प्लेनको टिकट काटेर तयार भएकासमेतले आत्महत्या गरेको पाइएको छ । यसरी कोरियामा प्रवासी कामदारले आत्महत्या गर्नु दुवै मुलुकका लागि राम्रो होइन । त्यसैले कोरियाली सरकार यस विषयमा गम्भीर छ ।

परिवारको दबाब

कोरियामा बस्ने नेपाली कामदारमा परिवार र समाजको उत्तिकै दबाब देखिन्छ । नेपालमा जस्तो कोरियामा काम गर्न सहज छैन । लामो समय खटिएर काम गर्नुपर्छ । तर, नेपालमा बसेका कामदारका परिवारले भने त्यो महसुस गर्दैनन् । उनीहरूलाई लाग्छ, कोरियामा सहज छ । रमाइलो छ । त्यसैले परिवारले विभिन्न सामग्री माग गर्छन् । मोबाइल, ल्यापटप, आइफोन, सौन्दर्यका सामग्रीलगायतको माग गर्छन् । यसले कामदारलाई मानसिक दबाब दिइरहेको हुन्छ । कोरियाको काम गर्ने शैलीमा आफू सहज हुन नसक्नु, अर्कोतिर परिवारको विभिन्न खालको माग आइरहनुले कामदारमा तनावको अवस्था सिर्जना हुने गरेको पाइएको छ । अर्को कुरा कोरियामा राम्रै आम्दानी हुन्छ । नेपालमा गएर राम्रो आम्दानी नहुने हो कि भन्ने चिन्ताले पनि कतिपयले नेपाल फर्किने दिन आत्महत्या गरेको पाइएको छ ।

नेपाल फर्केपछि उद्यमी बन्नु

कोरियामा काम गरेर फर्केका कामदार यहीँ उद्यमी बन्नुपर्छ भन्ने कोरियाली सरकारको चाहना हो । कोरियामा सिकेका सीपलाई नेपालमै उपयोग होस् भन्ने हामी चाहन्छौँ । तर, धेरै कम कामदारले मात्रै नेपाल फर्केर उद्यमी बनेको पाइएको छ । यसको कारण नेपाली जोखिम लिन डराउँछन् । व्यवसाय धराशायी हुने डरले उनीहरू हिम्मत गर्दैनन् ।

कामदार स्वास्थ्य र दक्षतामा ध्यान

नेपाल सरकारले कोरिया पठाउने युवाको स्वास्थ्य र दक्षतामा ध्यान दिनुपर्छ । कोरिया र नेपालको काम गर्ने शैली फरक छ । कोरियामा मालिकदेखि सामान्य मजदुरले सँगै खटिएर घन्टौँ काम गर्ने चलन छ । तर, नेपालमा घन्टाैं खटिएर काम गर्ने अभ्यास हुँदैन । त्यसैले कोरिया पठाउने कामदारको शारीरिक र मानिसक स्वास्थ्य अवस्थालाई ध्यान दिनु जरुरी छ । अर्को कुरा, कोरियामा जाने कामदारमा सीप हुनुपर्छ । भाषा मात्रै उत्तीर्ण भएर हुँदैन । कामदार काम पनि उत्तिकै दक्ष हुनुपर्छ । नेपालमा केही काम नगर्ने युवा कोरियामा गएर घन्टौँ काम गर्न सक्दैनन् । यदि नेपालमा काम गरिरहेका र सीप भएका कामदार कोरिया पुगे भनेचाहिँ छिट्टै घुलमिल हुन सक्छन् ।

नेपालीहरू छिटो काम सिक्ने कामदारमा पर्छन्

कोरियामा काम गर्ने प्रवासी कामदारमध्ये नेपाली कामदारको प्रभाव राम्रो छ । नेपालीलाई छिट्टो काम गर्न सिक्ने कामदारका रूपमा चिनिन्छ । नेपालीहरू काममा ठगी गर्दैनन् । आफनो जिम्मेवारी पूरा गर्छन् । सरल छन् । इमानदार छन् । समूहमा मिलेर बस्छन् भन्ने पहिचान छ । कोरियाली सरकार नेपाली कामदारबाट धेरै नै प्रभावित छ ।

कामदारबारे अनुसन्धान गर्दै

हामीले कामदारमा बढ्दै गएको डिप्रेसनका विषयमा अनुसन्धान गर्दै छौँ । कोरियामा एसियन कल्चरल सेन्टर खोलेका छौँ । यसले एसियाली मुलुकको सांस्कृतिक विषयमा अध्ययन गर्छ । यसैक्रममा हामी यसलाई नेपालमा पनि विस्तार गर्न चाहन्छाैं । कोरियामा काम गर्ने नेपाली कामदारको पारिवारिक अवस्थाको विषयमा पनि अध्ययन गर्ने सोच बनाएका छौँ । साथै कोरिया जानुपूर्व हामी नेपाली कामदारलाई त्यहाँको संस्कृति, रहनसहनका विषयमा पनि सिकाउनेछाैं । नेपाली कामदारमा नैराश्यता उत्पन्न नहोस् भनेर कलाकार झिकाएर कार्यक्रम गर्ने गरेका छौँ ।

Published on: 26 July 2019 | Naya Patrika

Back to list

;